२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कपिलवस्तुको वाणगंगामा श्रीमान्-श्रीमती मृत फेला 

मनोज पौडेल

कपिलवस्तु — वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् । बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेका थिए ।  ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिईन् । श्रीमतीको शरीरका विभिन्न भागमा चोट देखिएको छ । बिहान घरमा दूध लिएर गएका व्यक्ति श्रीमान्लाई झुन्डिएको देखेपछि गाउँले र आफन्त जम्मा भई प्रहरीलाई खबर गरिएको थियो ।

जिल्लाबाट डीएसपी हरिबहादुर वली नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको प्रकृति हेर्दा श्रीमान्–श्रीमतीबीच झगडा भई श्रीमतीको हत्या गरी श्रीमान्ले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । तर, विस्तृत अनुसन्धानपछि मात्र केही भन्न सकिने डीएसपी वलीले बताए । घटना हुँदा घरमा कोही थिएनन् । उनीहरूका ३ छोरामध्ये दुई भाइ विदेश र एक भाइ काठमाडौं बस्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : वैशाख १९, २०८१ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?