दाङको राजपुुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले

तुलसीपुर (दाङ) — दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए । 

सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए ।

प्रकाशित : वैशाख १६, २०८१ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?