१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

पाल्पाका दर्जन बढी सामुदायिक वनमा भीषण डढेलो 

माधव अर्याल

पाल्पा — पाल्पाका दर्जन बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए । 

पाल्पाका दर्जन बढी सामुदायिक वनमा भीषण डढेलो 

वनदेवी सामुदायिक वन क्षेत्रको जंगलका तीन चार स्थानमा डढेलो लागेको छ । ल्याण्डफिल साइट क्षेत्रका साथै नजिकका अन्य जंगलमासमेत डढेलो लागेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बस्तीमा डढेलो पस्नबाट रोकिएको छ ।

मिलीजुली पालेको सामुदायिक वन बतासेमा लागेको डढेलोले बस्ती जोखिममा परेको हो । तानसेन नगरपालिका–१४, अर्गलीको विभिन्न स्थानमा लागेको डढेलोले पनि बस्ती जोखिममा परेपछि दमकल लगिएको छ । पाल्पाकै अर्गली, मुझुङ, माथागढीको झडेवा, तिनाउको दोभान, बगनासकालीको यम्घा लगायतका स्थानमा भीषण डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

गुल्मीमा डढेलोले दुई घाइते

गुल्मीको इस्मा गाउँपालिका–२, मा जंगल लागेको डढेलोमा परेर दुईजना घाइते भएका छन् । डढेलोका कारण एकजना ट्याक्टर चालक र एकजना डोजर चालक घाइते भएको गुल्मी प्रहरीले जनाएको छ । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा १५ वटाभन्दा धेरै घरगोठ जलेको प्रहरीले जनाएको छ । डढेलो बस्तीमा पस्दा १५ वटा घर, पसल र गोठ जलेको स्थानीयले बताए । डढेलो निभाउन प्रयास गरे पनि हावाहुरीका कारण समस्या भएको छ ।

गुल्मीकै रुरु क्षेत्र गाउँपालिका–१ भटकुवामा शनिबार सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र एक गोठ जलेको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीका वडाध्यक्ष नवराज विकका अनुसार भरत पन्थीको घर र गोठ साथै झविन्द्र ज्ञवालीको घरमा आगलागी भएको हो । बस्तीका १० बढी घर डढेलोको जोखिममा रहेकाले स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा जोगाइएको छ ।

जंगलमा लागेको डढेलो हावाहुरीका कारण नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय बढी स्थानमा डढेलो लागेको छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गरिादै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको छ ।

प्रकाशित : वैशाख ८, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?