२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले दुई वर्षदेखि आफ्नो पालिकाभित्रका केही स्थानमा नयाँ नापी गरिदिन माग गरिरहेका छन् । तर उनको मागको सुनुवाइ भएको छैन ।

झुत्रा नक्साले सेवाग्राही र कर्मचारी हैरान

जिल्लास्थित नापी कार्यालयले चाहेर उक्त काम गर्न सक्दैन । विभाग र संघीय सरकारको चासो नभएसम्म उनको माग पूरा नहुने देखिएको छ । ४२ वर्ष अघि २०३८ मा भएको नापीका नक्सा च्यातिएर झुत्रा भएपछि स्थानीयले जग्गा किनबेच गर्न कठिन भएको छ । झुत्रा नक्सामा कित्ता नम्बर पनि भेटिन छाडेका छन् । त्यो समस्याले गलकोट नगरपालिका–३, ५ र ६ मा सबैभन्दा बढी समस्या भएको गैरेले बताए ।

बस्ती बिस्तार भैरहेको स्थानमै झुत्रा नक्साबाट कित्ता नभेटिएपछि नगरपालिकाले राजश्व संकलन समेत गर्न नसकेको हो । नापीको नक्सा पटक पटक प्रयोग गर्दा च्यातिएको र डिजिटल नक्सा पनि नभएकोले जग्गाधनीले किनबेच समेत गर्न नपाएका हुन् । किनबेच भएको स्थानमा पनि कित्ता नम्बर फरक परेर लालपूर्जामा फरक परेको स्थानीयले गुनासो गरे ।

बिशेषगरी यो समस्या बागलुङ बजार, गलकोटको हटिया र हरिचौर तथा जैमिनीको कुश्मीसेरामा बढी छ । पटक पटक प्रयोग गर्न झिक्ने र राख्ने, केर्ने गर्दा नापीका नक्साहरु बिग्रेका हुन् । पछिल्लो समय केही स्थानको डिजिटल नक्सा बनाउने क्रम चलेकोले सहज छ । तर बढी उपयोग भएकै स्थानका झुत्रा नक्सा छन् ।

नापी कार्यालय बागलुङका सूचना अधिकारी बालाराम खत्रीले झुत्रा नक्साका कारण सेवाग्राहीको काम गर्न नसकेको बताए । ४२ वर्ष पुराना नक्सा हेरेर खत्रीले पनि आफैँ दंग परेको बताए । च्यातिएका र टेपले टालेका नक्साबाट आम नागरिकको कित्ताकाट गराउनुपर्ने बाध्यता हुँदा समस्या आएको बताए ।

ग्रामीण क्षेत्रका किनमेल नहुने जग्गाको नक्सामा कुनै समस्या आएको छैन । तर बजार क्षेत्र र निरन्तर किनमेल भएका स्थानमा यो समस्या आएको हो । २०३८ सालमा नापी भएपछिको एउटै कित्ताबाट १ सय बढी घडेरी बिक्री भएका स्थानमा नक्सानै नबुझिने भएको उनले बताए । यो समस्यापछि बजार क्षेत्रका अधिकांशको जग्गाधनी पूर्जा र नक्साको कित्ता नम्बर मिल्दैन ।

फिल्ड जाँदा लैजानेदेखि कार्यालय प्रयोजनमा पनि प्रयोग गर्दा बजारक्षेत्रका अधिकांश नापीनक्सा झुत्रा भएका हुन् । कतिपय प्राविधिकले नक्साको हिफाजत समेत नगरेकोले यो समस्या आएको उनले बताए । ‘बाबुआमाबाट छोराछोरीले लिएको जग्गामा त मिलाउन सकिएला, किनमेल भैसकेकाहरुको हकमा यो जटिल समस्या भैसकेको छ,’ खत्रीले भने, ‘भूगोलमा हेर्न जाँदा घर बनाएर बसेका व्यक्तिको कित्ता नम्बर समेत भेटिँदैन ।’ नक्सा र पुर्जा नमिलेपछि नगरपालिकामा नक्सापास गर्न कठिन भएको र त्यसले लाखौं राजश्व गुमेको गैरेले बताए ।

सदरमुकाम बागलुङ बजारमा पनि खोजेको स्थानमा कित्ता नभेटिने समस्या रहेको इन्जिनियर दिपेन्द्र भण्डारीले बताए । ‘कित्ता नभेटिएकोले कतिपयको नक्सापास भएको छैन,’ उनले भने, ‘व्यवहारिक रुपमा ठिक भए पनि प्राविधिक रुपमा कमजोरी भएका छन् ।’ परम्परागत र पुराना मेसिनले गरेको नापी अहिले नमिलेको उनले बताए ।

नापीमा नभिडेकोले अधिकांशले नक्साबिनै घर बनाउँदा बैंकबाट ऋण नपाएको, खरिद बिक्रीमा समस्या भएको इन्जिनियर बलबिक्रम दाहालले बताए । गलकोट नगरपालिकामा अहिले सम्म १८ वटा घरले मात्रै घर सम्पन्नको प्रमाणपत्र लिएका छन् । नक्सापास तर्फ प्रक्रियामा आएका ३५ घर छन् ।

नगरपालिकाले अहिलेसम्म २ सय २३ घरको मात्रै अभिलेखीकरण गरेको छ । नयाँ नापीका लागि विभागीय सिफारिसमा मन्त्रिपरिषदको निर्णय चाहिन्छ ।

प्रकाशित : वैशाख २६, २०८१ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?