२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित बाह्रबिसे नगर अस्पताल डाक्टरविहीन बनेपछि उपचारर्थ पुगेका बिरामी रित्तै फर्कन थालेका छन् । १३ दिनदेखि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि मेडिकलकै भर पर्नुपर्दा स्थानीय निराश छन् । 

नगर अस्पताल डाक्टरविहीन, रित्तै फर्कन्छन् बिरामी

सीमाक्षेत्र भोटेकोशी, त्रिपुरासुन्दरी र बाह्रबिसे नगरक्षेत्रभरका बिरामीको केन्द्र बाह्रबिसे अस्पतालमा नौ महिनादेखि अतिरिक्त सेवा (नाइट ड्युटी या इर्मजेन्सी)बापतको तलबभत्ता पाएका छैनन् । त्यसयता यहा सरकारी स्वास्थ्य बिमा र अतिरिक्त सेवा स्वास्थ्यकर्मीले बन्द गरेका छन् ।

यसको मारमा विभिन्न दुर्घटना र घटनाबाट घाइते र विशेषगरी वृद्धवृद्धा, बालबालिका परेका छन् । यी समस्या परेका बिरामी निजी मेडिकल र टाढाको दुरीमा रहेको खाडीचौर बजारमा रहेको सिन्धु सदाबहार अस्पताल जान बाध्य बनेका छन् ।

अस्पताल छेउ भेटिएकी बाह्रबिसे-२ कर्थलीकी ७० वर्षिया सान्दोमाया तामाङले डाक्टर नभएकै कारण आफु महंगो मेडिकल जानुपरेको दुखेसो गरिन् । ‘गाउँबाट बल्लतल्ल उपचारको लागि बजार झरियो, यहाँ पनि डाक्टर नभएको १३ दिन पो भइसकेछ, अहिले त बिमाको सुविधा बन्द भएछ,’ उनले भनिन् ।

केही समयअघि म्याद सकिएका सिरिन्ज र औषधि प्रयोगमा ल्याइएको कुरा बाहिर आएयता अस्पताल विवादमा थियो । त्यसैमाथि बैशाख ५ गते राति मादक पदार्थले मातेका ६ जना युवा समूहले अस्पतालका इन्चार्ज डाक्टर जेनिथ रौनियारसहित अन्य डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्दै गालीगलौज गर्दै धम्की दिएका थिए । यो घटनापछि स्वास्थ्यकर्मी त्रसित थिए ।

म्याद सकिएको सिरिन्जबारे आफुमाथि नै आरोप लागिरहेकाले यसको स्पष्ट छानबिन गरी कारबाही गर्न र स्वास्थ्यकर्मी माथि भएको हातपात, धम्कीबारे गम्भीर भइदिन आफुसहितको टीमले बाह्रबिसे नगरपालिकालाई निवेदन गर्दै पत्र दिएको डा जेनिथ रौनियारले बताए । उनीसहित चार डाक्टरले बाह्रबिसे अस्पतालमा काम गर्ने अवस्था नरहेकाले बाह्रबिसे नगर अस्पतालबाट अन्य स्थानमा सारिदिएर ज्यान र मानको रक्षा गरिदिन स्वास्थ्य मन्त्रालय, वाग्मती प्रदेशलाई निवेदन गरेका छन् ।

यसबारे बाह्रबिसे नगरका स्वास्थ्य शाखाका प्रमुख राजकुमार पौडेलले समस्या रहेको स्वीकार्दै समाधानमा सबै पक्ष प्रयत्नरत रहेको दाबी गरे । म्याद सकिएको सिरिन्ज अन्य काममा प्रयोगमा ल्याउन सकिने र डाक्टर आफुसँग सम्पर्कमा नआएको उनको तर्क थियो ।

बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले यसअघि अस्पताल बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र हुादा अध्ययनको लागि गएकी डाक्टर सिर्जना मर्हजन केहीदिनमा आउने निश्चित रहेको बताए । ‘यो जनसमस्या र गुनासो गम्भीर हो, त्यसैले यसलाई बुझेर समाधानका लागि प्रयास गरिरहेका छौं, जे हुनु दुखद घटना भइसकेको छ, अब डाक्टरलाई ल्याउने प्रयास भइरहेको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १९, २०८१ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?