१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

प्रताप विष्ट

हेटौंडा — सामुदायिक विद्यालयमा पढाइ गुणस्तरयुक्त र अनुशासित भएपछि स्कुलका शिक्षक र विद्यालय व्यवस्थापन कमिटीका सदष्यहरु विद्यार्थी खोज्न जानैपर्दैन । गुणस्तरयुक्त पढाइ र  अनुशासित एव व्यवस्थित रहेको स्कुलमा भर्ना हुन आउने विद्यार्थीको चाप थेगिनसक्नु हुने गरेको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

त्यस्ता सामुदायिक विद्यालयमा भर्ना हुन आएका विद्यार्थीहरुलाई प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्ने गरिन्छ । भर्ना हुनका लागि प्रवेश परीक्षा दिएकामध्ये २५ प्रतिशतलेमात्र भर्ना हुन अवसर पाउने छन् । कक्षा कोठा र शिक्षकको अभावले गर्दा भर्ना हुन आएका विद्यार्थीलाई पनि फेल गरिन्छ । अभिभावक र बालबालिकाको आकर्षण रहेको सामुदायिक स्कुल हो- हेटौडा नगरपालिका-४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय ।

जिल्लामा भर्ना अभियान सञ्चालनसँगै विभिन्न विद्यालयका शिक्षकहरु विद्यार्थी खोज्दै घरदैलोमा पुगिरहेको बेला यहाँको उक्त स्कुलमा भने भर्ना हुने विद्यार्थीको भीड लागेको छ । लगातार दुई दशकदेखि एसएलसी र एसईई परीक्षामा जिल्ला प्रथम भएर स्वर्णीम इतिहास रच्न सफल आधुनिक राष्ट्रिय उमाविमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै भर्ना हुने विद्यार्थीको ताती लागेको छ ।

बैशाख २ गतेदेखि सुरु भएको भर्ना अभियानसँगै आधुनिकमा भर्ना हुनेको भीड बढेपछि विद्यालयले प्रवेश परीक्षामार्फत् विद्यार्थीलाई विगत केही वर्षंदेखि भर्ना लिन थालेको हो । आधुनिक राष्ट्रिय माविमा भर्ना हुन एक हजार दुई सय भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

शुक्रबार बिहान ११ बजे प्रवेश परीक्षा लिएको थियो । पूर्वप्राथमिक तहदेखि ९ कक्षासम्म नयााभर्ना हुन उल्लेख्य संख्यामा विद्यार्थी सहभागी भएका हुन् । विद्यालयले कक्षागत प्रवेश परीक्षा लिएको छ । विद्यालय २ घण्टाको परीक्षा लिएको थियो । प्रवेश परीक्षा दिएका मध्ये झण्डै आधा संख्याका विद्यार्थी मधेश प्रदेशका छन् । प्रवेश परीक्षाको नतीजा शनिबार प्रकाशन गरिने विद्यालयले जनाएको छ ।

विद्यालयले करिब ४ सय विद्यार्थी मात्रै भर्ना गर्न सक्ने जनाएको छ ।कक्षाकोठा, जनशक्तिको अभावका कारण अभिभावकको इच्छा र आकर्षणका बाबजुद पनि सीमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक रामसागर गुरागाईंले जानकारी दिए ।

सबैभन्दा बढी ८ कक्षामा भर्ना हुनका लागि दुई सय २० जनाले प्रवेश परीक्षा दिएका छन् । यस वर्षको एसईईमा ३ सय ३७ जना सहभागी भएको आधुनिक राष्ट्रिय माविमा यस वर्ष ९ कक्षाबाट १० कक्षामा ४ सय ७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । १२ कक्षासम्म पठनपाठन हुने आधुनिक राष्ट्रिय माविमा दुई हजार ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : वैशाख ७, २०८१ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?