२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

शंकर आचार्य

पर्सा — देशकै कान्छो निकुन्ज पर्सा राष्ट्रिय निकुन्जका निकुन्जकर्मीलाई यति बेला बन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो छ । यसै साता दुई दिन वर्षा भएपनि त्यो पर्याप्त भएन । 

पर्सा निकुन्जमा वन्यजन्तुलाई पिउने पानीको जोहो गर्ने चटारो 

प्राकृतिक पानीको स्रोत कम भएको यो निकुन्जका वन्यजन्तुलाई सुख्खायाम सुरु भए लगत्तै पिउने पानीको समस्या समाधान गर्न निकुन्ज प्रशासनलाई हम्मे पर्ने गरेको छ । निकुन्जको विभिन्न स्थानमा निर्माण गरिएका कृतिम पोखरीमा पानीको जोहो गर्ने चटारो बढ्छ ।

निकुन्ज कार्यालयका सूचना अधिकृत एवम् सहायक संरक्षण अधिकृत सन्तोष भगत पानीको सबैभन्दा बढी अभाव रहेको निकुञ्जको आधाभार कार्यालय भन्दा पश्चिम तथा त्रिभुवन राजमार्ग भन्दा पूर्वतर्फ समेत १० किमि वरपरको सेरोफेरोमा हाल दैनिक जसो ट्यांकरबाट कृत्रिम पोखरीहरुमा पानी हाल्ने काम भइरहेको बताउँछन् ।

‘करिब अढाई दर्जन कृत्रिम पोखरीमध्ये आधा जसोमा दैनिक रुपमा ट्यांकरबाट पानी हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘निकुन्जमा हल्खोरिया दह, कामिनी दह, लौकी दह लगायतका दह र रामभौरीभाठा क्षेत्रमा भाँठा खोलामा पानी रहने गरेपनि यी दह र खोलाले निकुन्जको सबै क्षेत्रमा पानीको पर्याप्तता हुदैन ।’

निकुन्जमा रहेका अधिकांश खोला खहरे खोला हुन् । तिनमा वर्षायाममा पनि पर्याप्त पानी हुँदैन । वर्षायाम सक्किए लगत्तै निकुन्जका वन्यजन्तुलाई पिउने पानीको समस्या हुने गर्छ । उनीहरु पानीको खोजीमा लामो यात्रा तय गर्न बाध्य हुन्छन् ।

यस्तो अवस्थामा निकुन्जमा कृत्रिम पोखरी समेत नहुँदा धेरै वन्यजन्तुलाई पिउने पानीको अभावमा तिनले तिर्खाको कारण ज्यान गुमाउन सक्ने खतरा हुन्छ । ३/४ वर्ष यता निकुन्जमा वर्षेनि कृत्रिम पोखरी निर्माण गर्दै थप्ने क्रम जारी रहेको भगत बताउँछन् । ‘वर्षेनि पोखरी निर्माणको क्रम जारी छ,’ उनले भने, ‘कुल पोखरीको आधा जसो बालुवा, सिमेन्टको प्रयोग गरी निर्माण गरिएका छन् ।’

रामभौरीभाठा क्षेत्रमा भाठा खोला र त्यहा मानव बस्ती हुँदाकै समयमा मानव निर्मित ३ वटा पोखरी समेत रहेकाले त्यहाँ चितवन राष्ट्रिय निकुन्जबाट गैडा समेत आएर बस्ने गरेका छन् । निकुन्जको मुटु मानिने यो क्षेत्रबाट डेढ दशक अघि मानव बस्ती हटाइएपछि वन्यजन्तुले यो क्षेत्रलाई आफ्नो स्थायी बासस्थान बनाउने क्रम बढेको हो ।

पर्याप्त पानीको व्यवस्था रहेको त्यस क्षेत्रमा बाघ, हात्ती, चित्तल, हरिण, जरायो, निलगाइ जस्ता बन्यजन्तुको उपस्थिति समेत बढी छ । हाल ६ सय २७ वर्ग किलोमिटरमा फैलिएको पर्सा निकुन्ज पर्सा, बारा र मकवानपुर जिल्लाको वन क्षेत्र ओगटेर सन् १९९४ मा स्थापना भएको हो ।

त्यति बेला पर्सा बन्यजन्तु आरक्षको रुपमा स्थापित थियो । सुरुमा आरक्षको रुपमा स्थापना हुदा ४ सय ९९ बर्गा किलोमिटरमा यो आरक्ष फैलिएको थियो । यो निकुन्ज चितवन राष्ट्रिय निकुन्जसँग जोडिएको छ । यो मधेश प्रदेशको एक मात्र राष्ट्रिय निकुन्ज पनि हो ।

प्रकाशित : वैशाख २८, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?