२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालमा सञ्चालनमा आएको ६ महिना बित्न नपाउँदै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ । दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।   

नारायणी अस्पतालमा एमआरआई सेवा अवरुद्ध

नारायणी अस्पतालका रेडियोलोजी विभाग प्रमुख अविनाश झाका अनुसार एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएको छ । ‘सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ,’ झाले भने, ‘सर्ट केशको एमआरआई गरिएपनि लङ केशको एमआरआई गरिएको छैन् ।’

रेडियोलोजी विभागका अनुसार एमआरआई सामान्य अवस्थामा हुँदा दैनिक ८ देखि १० वटा बिरामीको एमआरआई हुने गरेको थियो । ‘सुरुमा दैनिक ३/४ वटा एमआरआई गरेका थियौँ,’ रेडियोलोजी विभाग प्रमुख झाले भने, ‘सफ्टवेयरमा समस्या नआउँदासम्म दैनिक हुने एमआरआईको संख्या ८/१० वटा पुगेको थियो ।’

आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत रकम भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको अस्तालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले जनाए । बाँकी २० प्रतिशत रकम डलरको रेट बढेका कारण भुक्तानी गर्न नसकिएको हो । अपुग रकम मन्त्रालयसँग माग गरिएको छ । ‘अमेरिकी डलरको बढेको मूल्यमा बाँकी रहेको २० प्रतिशत रकम दिनुपर्ने आपूर्तिकर्ताले अडान लिएका छन्,’ मेसु डा.साहले भने, ‘रकम नदिउन्जेल सफ्टवेयर अपडेट नगर्ने जनाएका छन् ।’

बक्यौता भुक्तानीका लागि मन्त्रालयमा पहल गरिएको उनले खुलाए । रकमान्तर गरी बक्यौता तिर्न नमिल्ने भएकाले अर्थ मन्त्रालयले अगामी बजेटमा विनियोजन गरेको जानकारी आएको छ । ‘अगामी आर्थिक वर्षको बजेटमा बक्यौता रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ,’ उनले भने, ‘त्यही पत्र हामीले आपूर्तिकर्तालाई पठाएर सफ्टवेयरको समस्या समाधान गरिदिन अनुरोध गरेका छौँ ।’ अस्पतालका अनुसार एमआरआई मेसिन वारेन्टी पिरियडमै रहेकाले त्यसको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ता कम्पनीकै हुन्छ ।

गत असोज १३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एमआरआई कक्षको उद्घाटन गरेका थिए । आन्तरिक परीक्षण र विशेषज्ञ टोलीहरुले विशेष तालिम लिएपछि एमआरआई मेसिन भित्रिएको ८ महिनापछि गत कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएको थियो । जडान हुनुअघि पनि ३० करोड रुपैयाँ लागतको एमआरआई मेसिन अस्पताल परिसरमा करिब साढे २ महिना खुल्ला आकाशमुनि थन्किएको थियो ।

त्यसबेला मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यासको अभावको कारण देखाउँदा मेसिन जडानमा ढिलाई गरेको थियो । जडान भएपछि पनि अस्पतालमा जेनरेटरको अभाव र प्राविधिक कारणले मेसिन ६ महिनासम्म सञ्चालनमा आएको थिएन ।

नेपालकै उत्कृष्ट र अद्यावधिक मानिएको ७२ च्यानल, ३ टेस्ला एमआरआई मेसिनबाट अस्पतालमा सेवा सुरु भएको जनाइएको थियो । सरकारी अस्पतालमा यो सेवा सुरु भएपछि पर्सालगायत बारा, रौतहट, सर्लाहीका बिरामी अत्यन्त विशिष्ट मानिने इमेजिङ प्रविधि एमआरआईबाट लाभान्वित भएका थिए ।

प्रकाशित : वैशाख २६, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?