१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

वीरगन्जको अलौमा सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

रासस

वीरगन्ज (पर्सा) — वीरगन्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगन्ज महानगरका-१७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको वीरगन्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए ।

वीरगन्जको अलौमा सात घर जले, ५४ लाख रुपैयाँ बराबरको क्षति

'सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,' उनले भने, 'ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।'

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए ।

आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा १० लाख ६३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी आठ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित चार लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी चार लाख १६ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अभय सहनी सात लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको छ लाख २३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए ।

यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रकाशित : वैशाख ११, २०८१ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?