कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तःशुल्कको एउटा स्टिकर दुई टुक्रा बनाइ प्रयोग

लहान — सिरहाको गोलबजार नगरपालिका–९ स्थित शारदा डिस्टिलरी प्रालिले सरकारी राजस्व छली गर्ने गरेको पाइएको छ । सो डिस्टिलरीले उत्पादन गर्ने मदिराको बोतलमा अन्तःशुल्कको एउटा स्टिकरलाई दुई टुक्रा पारी दुईवटा बोतलमा लगाई राजस्व छली गरेको पाइएको हो । 

अन्तःशुल्कको एउटा स्टिकर दुई टुक्रा बनाइ प्रयोग

तीन दिनअघि आन्तरिक राजस्व कार्यालय लहानको टोलीले गोलबजारस्थित शारदा डिस्टिलरीको मूलगेटबाट निस्किएको मदिरा लोड भएको ट्रकमा एउटा स्टिकरलाई दुई टुक्रा पारी दुईवटा बोतलमा लगाएको पाएको हो ।

‘एउटा स्टिकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाइएको थियो,’ अन्तरिक राजस्व कार्यालय लहान सिरहाका प्रमुख पुण्य रिजालले कान्तिपुरसित भने, ‘राजस्व छलीको अवस्था देखिएपछि आशिष जनरल स्टोरलाई सिल गरेका छौं ।’ शारदा डिस्टिलरीबाट मदिरा लोड भएको ट्रक सिरहा नगरपालिका–१५ माडर गई त्यहाँस्थित आशिष जनरल स्टोरमा उक्त मदिरा भण्डारण गरिएको थियो । ‘आशिष जनरल स्टोरबाट हामीले ५ सय ७५ कार्टुन मदिरा नियन्त्रणमा लिएका छौं, अरु पनि ल्याउने क्रममा छौं,’ राजस्व कार्यालय प्रमुख रिजालले भने, ‘ल्याइएका मध्ये २ सय १० वटा कार्टुनमा हामीले चेक गर्दा अन्त:शुल्कको एउटै स्टिकरलाई दुई टुक्रा गरी लगाइएको पाइएको छ, यो राजस्व छली हो ।’

सिल गरिएको आशिष जनरल स्टोरको गोदाममा रहेका सबै मदिरा नियन्त्रणमा लिएपछि जनरल स्टोरका सञ्चालकसँग बयान लिने रिजालले बताए । ‘राजश्व छली त भएकै हो, संलग्न को को छन्, यो अनुसन्धानबाट खुल्दै जाला,’ उनले भने, ‘फ्याक्ट्रीबाटै राजस्व छली भएको सम्भावना अत्यधिक छ । तसर्थ, शारदा डिस्टिलरीलाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं ।’

पछिल्लो समय राजस्व छलीबारे भेटिएको यो तथ्य उदाहरण मात्र हो । सिरहा जिल्लास्थित शारदा डिस्टिलरी लगायतका उद्योगबाट दैनिक रूपमा यसैगरी एउटा स्टिकरलाई दुई–तीन टुक्रा पारी राजस्व छली हुँदै आएको छ । स्थानीय प्रशासन र नियमनकारी निकायको मिलेमतोमा राजस्व छली भइरहेको आरोप लाग्दै आए पनि सरकारी निकायले त्यसलाई अस्वीकार गर्दै आएको छ । ‘हाम्रा कर्मचारीको मिलेमतो हन्ड्रेड परसेन्ट हुन सक्दैन,’ आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख रिजालले भने, ‘तर, हामीले सबैतिर एकैसाथ अनुगमन गर्न भने सकेका छैनौं ।’

प्रकाशित : चैत्र ६, २०८० १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?