१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

तरबार प्रहार प्रकरण : पूर्ववडाध्यक्षसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

विराटनगर — विराटनगर महानगरपालिका-१४ का निवर्तमान वडाध्यक्ष बलदेव यादवसहित नौ जना विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा कटानी जाहेरी दर्ता भएको छ । पूर्ववडाअध्यक्ष यादवको निर्देशनमा विराटनगरको जतुवामा दिन दहाडै दुई युवामाथि ज्यान मार्ने उधेश्यले तरबार प्रहार भएको भन्दै प्रहरीमा जाहेरी परेको हो । 

तरबार प्रहार प्रकरण : पूर्ववडाध्यक्षसहित ९ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

गत चैत २९ गते यादवको योजनामा ९ जनाको समूहले विराटनगर-१४ का ४० वर्षीय सन्तलाल यादव र ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेको पीडित पक्षको भनाई छ । तरवार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन् । उनको अहिले पनि विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

पीडित परिवारले तरवार प्रहारमा संलग्न भएको भन्दै पुव वडाअध्यक्ष बलदेवसहित त्यहीका ३४ वर्षीय शंकर भनिने रविन यादव, ४४ वर्षीय फुलेश्वर यादव, ३१ वर्षीय रोजौ भन्ने राजवेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव, ३२ वर्षीय दिपेश यादव र ६२ वर्षीय जोगीलाल भनिने योगीलाल यादव विरुद्ध इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दर्ता गराएका छन् । उनीहरुमध्ये फुलेश्वर प्रहरी नियन्त्रणमा छन् ।

बिहीबार इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दर्ता भएपछि बलदेव फरार छन् । उनी भारततिर गएको प्रहरीले आशंका गरेका छन् । पीडित परिवार भने जाहेरीमा उल्लेख गरिएका प्रतिवादी गाउँमा खुलेआम हिडडुल गरिरहेका छन् । उनीहरुका कारण गाउँमा अहिले पनि त्रासको वातावरण कायमै रहेको घाइते सन्तलालका वावु पन्चलाल यादवले बताए ।

'दिनदहाडै तरवार हान्नेहरु गाउँघरमा खुल्लेआम हिडडुल गर्दा गाउँनै असुरक्षित छ,' उनले भने, 'घटनाको मुख्य अभियुक्त तरवार प्रहार गर्ने ३२ वर्षीय दिपेश यादव हो । उनी अहिले खुलेआम हिँडडुल गरिरहेका छन् ।'

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारवाहीको दायारमा ल्याउने बताए । उनले भने, 'किटानी जाहेरी दर्ता भएको छ । आरोपीलाई प्रहरीले खोजी गरिरहेको छ ।'

पूर्ववडाअध्यक्ष यादव यसअघि पनि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशमा धरौटीमा छुटेका व्यक्ति हुन् । विराटनगर-१४ का ५५ वर्षिय समानन्द यादवको हत्या आरोपमा मुछिएका यादवलाई २०७७ मंसिर ११ गते जिल्ला अदालत मोरङले ३ लाख धरौटीमा छाडेको थियो ।

विवाहको विषयमा विवाद हुँदा २०७६ साल जेठ ३ गते विराटनगर-१४ का तत्कालीन वडा अध्यक्ष लदेवको घरमा बसेको सामुहिक भेलाले त्यहीका ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि मृत्यु भएपछि पीडित परिवारले घटनामा संलग्न भएको आरोपमा बलदेव विरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित : वैशाख ८, २०८१ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?