२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

ओली–कोइराला बाक्लो भेटको संकेत के ?

पाठक पत्र

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता शेखर कोइरालाबीच बुधबार राति ओली निवास बालकोटमा भेटघाट भयो । उनीहरूबीच सत्ता समीकरणकै लागि भेटघाट भएको हो वा अन्य विषयमा भन्नेबारे दुवैले गोप्य राखेका छन् । तथापि कोइरालाको तारन्तारको भेटघाटले बालकोटमा पक्कै पनि केही नयाँ कुरा पाकिरहेको अड्कल काट्न सकिन्छ ।

ओलीले कुनै पनि हालतमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बन्न दिँदैनन् । तर वर्तमान सत्ता गठबन्धन रहिरहे नेपाललाई प्रधानमन्त्री बन्नबाट रोक्न सकिँदैन । किनकि नेपालसँग संघीय संसद्का १० सांसद मात्र होइन, ३ प्रदेशको सरकार तल–माथि गरिदिने तागत छ । नेपाल प्रधानमन्त्री बने एकीकृत समाजवादीको शक्ति यथावत् रहने डर ओलीमा छ ।

समाजवदी र माओवादी कमजोर बने एमाले बलियो हुने र त्यसका लागि नेपाल र प्रचण्डलाई प्रधानमन्त्री पद दिन नहुने मान्यता ओली राख्छन् । ओलीको यो भित्री कुरा बुझेर नेपाल पनि बिस्तारै कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडिन खोज्दै छन् । ओलीसँग कुरा मिल्यो भने पनि के देउवाले कोइरालालाई प्रधानमन्त्री बन्ने अवसर देलान् त ? नदिने हो

भने कोइरालाको दौडधुप के उद्देश्यका लागि हो ? कांग्रेस महामन्त्री गगन थापाले अबको १ वर्ष कांग्रेसले सिंहदरबार र बालुवाटार हेर्न हुँदैन भनेर उद्घोष गरेका थिए । तर कोइराला भने दिनहुँ कांग्रेस र एमाले मिलेर तत्काल नयाँ सरकार बनाइहाल्नुपर्छ भनिरहेका छन् । तर देउवाले वामइतर पार्टीको सरकार बनाउन प्रयास गरिरहेको भन्ने सुनिन्छ ।

तर त्यसका लागि रास्वपा नमिलाई सम्भव नै छैन, जसलाई अहिले गगन थापा, विश्वप्रकाश शर्माहरूले धारे हात लाइरहेका छन् । यसर्थ अहिले नै यो होला भनेर कसैले अनुमान गर्न सक्दैन । तथापि एमाले र कांग्रेसको संयुक्त सरकार बनी नै हाले पनि के देउवाले कोइरालालाई प्रधानमन्त्री पद देलान् भन्ने विश्वास कसैमा छैन । यसर्थ कोइरालाले कांग्रेस र एमाले सरकारको वकालत गर्नुको कुनै अर्थ छैन ।

२०८४ को चुनावपछि कोइराला वा थापा प्रधानमन्त्री बन्ने कुरा पनि उनीहरूको हातमा नभई केवल जनतामा निर्भर रहन्छ । व्यक्ति र पार्टी दुवैले जिते मात्र यो सम्भव हुन्छ । केही महिनाअघि थापाले अबको संसदीय दल नेतामा उठ्न कोइरालालाई आग्रह गरेका थिए । तर कोइरालाले अहिलेसम्म आफ्नो कुरा प्रस्टसँग भनेका छैनन् ।

कोइराला संसदीय दलको नेता बनेर प्रधानमन्त्री मात्र हुन चाहेका हुन् कि पार्टी सभापति र प्रधानमन्त्री दुवै बन्न चाहेका हुन् ? थापाले पनि दुवै पद कोइरालालाई छाडेका हुन् वा दलको नेतामा कोइरालालाई छाडेर आफू पार्टी सभापति बन्न खोजेका हुन् ? यसबारे प्रस्ट हुन जरुरी छ । अन्यथा इतर पक्षमै शीतयुद्ध चलेर देउवा समूहलाई नै फाइदा हुन पुग्छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख २४, २०८१ ०५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?