भट्टराईको राजनीतिक भविष्य
संविधान जारी भएको ६ दिनपछि २०७२ असोज ९ मा नेकपा माओवादी परित्याग गरेका बाबुराम भट्टराईले २०७३ जेठ ३१ मा दशरथ रंशालाबाट नयाँ शक्ति नेपाल भन्ने पार्टी घोषणा गरेका थिए । उक्त पार्टीले जुन उत्साह बोकेर आफूलाई जन्माएको थियो, त्यहीअनुसार सफलता प्राप्त गर्न सकेन ।
बरु पार्टी खिइँदै खिइँदै गयो र २०७४ सालमा भएको पहिलो संघीय निर्वाचनमा पार्टीका तर्फबाट भट्टराई एक्लैले प्रतिनिधित्व गर्न बाध्य भए, त्यो पनि नेपाली कांग्रेससँगको गठबन्धनमा । त्यसपछि झन् खस्कँदै गएको पार्टीले विभिन्न घुम्तीमा यात्रा गर्दै जाँदा कहिले कुन दलसँग त कहिले कुन दलसँग पार्टी एकीकरण पनि गर्दै गयो । तर कुनै पार्टीसँग पनि भट्टराईको विचार मेल खान सकेन ।
हुँदाहुँदा २०७९ मा भएको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र नै प्रचण्डलाई सुम्पिएर ठूलो गुन लगाए । आफूलाई प्रचण्डको विश्वास नहुँदा नहुँदै पनि माओवादी पार्टीकै धेरै साथीले अब समाजवादकै लाइनमा जाने हो भनेर फकाइफुल्याइ गरेपछि त्यसैमा विश्वास गरे र प्रचण्डलाई निर्वाचन क्षेत्र छोडिदिए ।
भट्टराईले पछिल्ला दिनमा आफूलाई खोलो तर्न लौरोका रूपमा प्रयोग गरेको र निर्वाचित भएपछि लौरो बिर्सेको आरोप लगाउँदै आएका छन् । हुन पनि प्रचण्डले त्यस्तै गरेका छन् ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) ले १४ वटा अभियान घोषणा गरेको छ । उक्त अवसरमा भट्टराईले नयाँ शक्ति गठन भएपछि आजसम्म आउँदा कतैकतै घुम्तीमा अलमलिएको जस्तो भएकाले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको र अब फेरि नयाँ शक्ति गठन गर्दाकै अवस्थामा फर्केर पार्टीलाई नयाँ बनाउने बताएका छन् ।
उनले नयाँ तथा विचार मिल्ने दल वा शक्तिसँग सहकार्य गरेर हुन्छ या एउटै पार्टी निर्माण गरेर हुन्छ, अब नयाँ ढङ्गले अगाडि बढ्ने उद्घोष गरेका छन् । स्थापित भइसकेका दल नै एकपछि अर्को गर्दै धराशायी बन्दै गएको अवस्थामा अब फेरि शून्यबाट राजनीतिक यात्रा गर्दा भट्टराई र उनको दल कत्तिको सफल हुन सक्ला ? आफैं जीवनको उत्तरार्धतर्फ धकेलिँदै गरेका भट्टराईलाई अहिले नै साथ दिने त्यस्तो सक्रिय सहयात्री कोही देखिँदैनन् ।
उनको एजेन्डा सही भए पनि त्यसलाई बुझिदिने कोही नहुँदा एक्लिएका भट्टराई आगामी निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्र गोरखा–२ बाट मैदानमा आउने विचारमा छन् । यसअघि सक्रिय राजनीतिबाट टाढिएका जस्तै देखिने भट्टराई महिना–महिनामा गाउँ पुगेर जनताको आवाज सुन्ने कार्यमा भने निरन्तर सक्रिय नै छन् ।
यसै क्रममा जनताले उनलाई आगामी निर्वाचनमा चुनाव लड्न आग्रह गरेको हुँदा उनी पुनः मैदानमा उत्रने विचारमा पुगेको बताउँछन् । अब उनको दल र उनले कति सफलता पाउलान्, त्यो सबैको जिज्ञासाको विषय बनेको छ ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा