परिश्रममा बाँच्नेलाई देशभित्रै रोजगारी

पाठक पत्र

राज्यसत्ता उदासीन बन्दा विदेश पलायन हुनेहरूको संख्या बढिरहेको छ । जान्ने, बुझ्ने भएपछि धेरैजसो विद्यार्थी देश छाड्न एउटा खुट्टा उचाल्छन् ।

कर्मचारी, खेलाडी, कलाकार, सर्वसाधारणले मुलुकमा आफ्नो भविष्य देख्न छाडेका छन् । सरकारले विदेश पठाउने काम व्यवस्थित गर्न, कूटनीतिक पहललाई प्राथमिकता दिन नसक्दा बिदेसिएका कतिपय कामदार बिचल्लीमा पर्ने गरेका, अनेक शारीरिक र मानसिक रोगबाट ग्रसित बनेको यथार्थबाट हामी अनभिज्ञ छैनौं । तथापि बेलाबखत सञ्चारमाध्यममा देशको माटोमा भिजेर पसिना बगाउनेहरूको उद्यमशीलता, मिहिनेतबाट उठेको व्यवसायबारे चर्चा हुने विषय उल्लेख्य छन् । यसै सन्दर्भमा युवा ग्यालरी पृष्ठमा प्रकाशित ‘लेयर्समा जमेका युवराज’ शीर्षकको खबर देशभित्र कुनै सम्भावना नदेखी ऋणधन गरेर, घरजग्गा बेचेरै भए पनि वैदेशिक रोजगारीमा जान मरिहत्ते गर्ने युवाका निम्ति प्रेरणादायी बन्न सक्ने देखिन्छ । इलेक्ट्रिसियनको काम सिकेका कपिलवस्तुका युवराज अधिकारीले १२ वर्षअघि रोजगारीका निम्ति कतार जाने सोच बनाएका थिए । भिसा आएपछि भने त्यहाँको काम र दाम चित्तबुझ्दो नदेखेर गाउँमै कुखुरा पाल्न सुरु गरेका थिए । अन्डाका लागि लेयर्स पालेर काम सुरु गरेका अधिकारी अहिले जिल्लामै बढी अन्डा उत्पादन गर्ने व्यवसायी बनेका छन्, जसबाट उनको वार्षिक आम्दानी १० लाख रुपैयाँभन्दा बढी पुगेको छ । विदेश गएको भए त्यहाँको तनावग्रस्त वातावरणमा जति रगत, पसिना बगाए पनि मुस्किलले १–२ लाख रुपैयाँ जम्मा गर्न सक्ने थिए ।

सरकारले कृषि क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा ध्यान नदिँदा व्यवसायबाट पलायन हुनेहरू पनि उत्तिकै छन् । तथापि कुखुरापालन मात्र नभई थोपा सिँचाइ, तरकारी, दुग्ध उत्पादन, फलफूल खेतीलगायतका उल्लेख्य कामको प्रचारप्रसारबाट प्रोत्साहित भई आफ्नै बलबुतामा व्यवसाय सुरु गर्नेहरू दिन प्रतिदिन बढिरहेका छन् । आकाश पातालको गफ गरेर नथाक्ने सत्ताधारीको ध्यान कहिले कृषि, पशुपालन प्रवर्द्धनमा केन्द्रित हुने हो, त्यो भने हेर्न बाँकी छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख १६, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?