२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

गृहमन्त्री लामिछानेकै सामुन्ने कांग्रेसको नाराबाजी : 'सहकारी ठगलाई कारबाही गर'

काठमाडौँ — सहकारीको बचत हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबारको बैठकमा आफूमाथि उठेका प्रश्नबारे जवाफ दिने ठाँटबाँटकासाथ उपस्थित भएका थिए । तर प्रमुख प्रतिपक्षी कांग्रेसले लामिछानेविरुद्ध नै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्‍यो- सहकारी ठगलाई कार्बाही गर ।

गृहमन्त्री लामिछानेकै सामुन्ने कांग्रेसको नाराबाजी : 'सहकारी ठगलाई कारबाही गर'

सबै प्रमाणहरू बाहिरिइसक्दा पनि आफूविरुद्ध उजुरी नरहेको दाबी गर्दै महान्यायाधिवक्ताको कार्यालयबाट चिठ्ठी बनाएका लामिछानेलाई कांग्रेस सांसद्हरुले कारबाही माग गरेका छन् । प्रतिनिधिसभाको बजेट अधिवशेन सुरु भएकै दिन कांग्रेसले सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेर बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाका दुइटा बैठक बसे ।

ती दुवै बैठकमा कांग्रेस सांसद्हरुले वेल घेराउ गर्दै नाराबाजी गरे । दोस्रो बैठकमा कांग्रेस सांसदहरूको नाराबाजीका बीचमा सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिएका थिए । तर लामिछाने कांग्रेसले घेरिरहेको वेल छिचोलेर रोस्ट्रममा बोल्न जान पाएनन् । त्यसपछि प्रतिनिधिसभाको बैठक जेठ १ सम्मका लागि स्थगित भएको छ ।

कांग्रेस सांसदहरुले सहकारी ठगलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, संसद्‍मा जबर्जस्ती गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए ।

प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस सांसद तथा महामन्त्री गगन थापाले सम्बोधन गरेका थिए । त्यसक्रममा उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको भन्दै त्यतिका प्रमाणहरु हुँदासमेत अभियोजन नभएकोबारे प्रश्न गरेका छन् ।

गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको पनि थापाले बताए । 'यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । तर कुनै अभियोजन भएको छैन । अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्‌मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण पेस गरौँ ? कुन-कुन प्रमाणहरु पेस गरौँ ? यही कुरा हामीले स‌ंसदीय समितिबाट छानबिन गरौँ भनेका हौँ,' थापाले अघि भने, 'सरकार तपाईंहरु नै चलाउनुस् । तर छानबिन समिति बनाऔँ । तपाईंहरु नै नेतृत्व गर्नुहोस् । हामी पनि सँगै बसेर हेर्छौं । सत्यतथ्य छानबिनबाट बाहिर आउँछ ।'

उनले कांग्रेसले विगतमा सरकारलाई सहयोग पुग्ने गरी सदन सञ्चालन गर्न दिएको भन्दै अब स‌ंसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने बताए ।

'नेपाली कांग्रेस पार्टी सदन चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ । सरकारलाई सजिलो होस् भनेर सघाउन खोजेको पनि हो । हामीले जम्मा एउटा कुरा भनेको हो-सहकारीको ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाइयोस् । तर सरकारले यो कुरालाई टार्न खोजिरहेको छ,' उनले भने, 'आरोप लागेको व्यक्ति त छानबिन गर्न तयार हुनुपर्ने हो । तर यहाँ त छानबिनबाट भाग्न सम्पूर्ण शक्ति लगाइएको छ । किन डराएको ? गल्ती गरेको छैन भने छानबिनबाट किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ । कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । महान्यायाधिवक्ताले कुनै पनि मुद्दामा कसैको प्रभावमा पर्नुहुँदैन भन्ने छ । तर अब महान्यायाधिवक्ता त झुक्दा-झुक्दा लम्पसार नै परिसक्नुभएको छ । प्रहरीको, महान्यायाधिवक्ताको, राज्यका अंगहरुको दुरुपयोग भइरहेको छ ।'

महामन्त्री थापाले सदन चल्न नसक्ने अवस्थाको जिम्मेवारी कांग्रेसले नलिने बताए । सरकारले गृहमन्त्रीमाथि लागेको आरोपको ढाकछोप गर्न सरकारले राज्यका अंगहरुलाई वासिङ मेसिन जस्तो प्रयोग गरेको उनको भनाइ छ ।

‘सभामुख महोदय, संसदीय छानबिन समिति नबनेसम्म अब सदनको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौं । यो सदन अघि नबढ्ने अवस्थाको कारक सरकार हो । सम्माननीय प्रधानमन्त्रीजी र सरकारको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यको तमाम अंगहरुलाई वासिङ मेशिन जस्तो प्रयोग गरियो । यो तपाईहरुले धोएर धोइन्नँ, पखालेर पखालिन्नँ । दुधको दुध, पानीको पानी संसदीय छानविन समितिले छुट्टयाउँछ,’ महामन्त्री थापाले भने, ‘त्यसैले जबसम्म छानविन समिति बन्दैन । त्यो बेलासम्म अव हामीलाई भन्न पाइदैन । सरकार आफैँ निहुँ खोज्न आएको हो । सरकार आफैँ वातावरण बिगार्न आएको हो । सरकारकै कारणले गर्दा यो अप्ठयारो सिर्जना भएको हो ।’

प्रकाशित : वैशाख २८, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?