२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

अमेरिकी निजी क्षेत्र नेपालमा लगानी गर्न तयार छ : अमेरिकी राजदूत         

माधव ढुंगाना

भैरहवा — अमेरिकी राजदूत डिन आर थम्पसनले अमेरिकाको निजी क्षेत्र नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपश्चात् भैरहवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै राजदूत थम्पसनले अमेरिकी निजी लगानी क्षेत्रलाई नेपालमा आकर्षित बनाउन उपयुक्त नीति जरुरी भएको बताए ।

अमेरिकी निजी क्षेत्र नेपालमा लगानी गर्न तयार छ : अमेरिकी राजदूत         

‘नेपाल र अमेरिकाको दौत्यसम्बन्ध कायम भएको ७७ वर्षको अवधिमा नेपालको आर्थिक विकासमा योगदान पुग्ने खालका योजना र कार्यक्रम अमेरिकी सरकारीस्तरबाट धेरै संचालन हुँदै आएका छन्,’ उनले भने, ‘निजी क्षेत्रको अमेरिकी लगानीलाई नेपालमा आकर्षित गर्न राष्ट्रिय र स्थानीयस्तरबाट अनुकूल नीति बनाइयोस् ।’

नेपालको पर्यटन, जलविद्युत्, कृषि लगायत्का क्षेत्रमा अमेरिकी निजी लगानीका लागि संभावित प्रभावकारी क्षेत्र रहेको उनले बताए । लुम्बिनीको पर्यटन विकासका लागि मायादेवी पदमार्ग योजनामा अमेरिकाले सहयोग गर्ने उनले बताए । उनका अनुसार, मायादेवी पदमार्ग योजनामा अमेरिकी सरकारले एप सहितको वेभसाइडमार्फत विस्तृत पर्यटकीय सूचना समावेश गर्ने छ । यसका लागि कति बजेट उपलब्ध हुने ? भन्ने बारेमा सार्वजनिक भई नसकेको छैन ।

अमेरिकी एमसीसी परियोजना नेपालको संसद्‌बाट अनुमोदन गरिसकेको र नेपालको विकास नचाहने पक्षबाट एमसीसी परियोजना वारेमा भ्रामक सूचना फैलाउने गरिएको उनले बताए । ‘एमसीसी परियोजना सफलतापूर्वक सम्पन्न गर्ने गरी कार्यान्वयनमा अगाडि बढेका छौं,’ उनले भने ।

संयुक्त राष्ट्र संघको शान्ति सेनामा जाने संख्यामध्ये सबैभन्दा धेरै नेपाली रहेको र नेपालको सेना, प्रहरीको क्षमता विकासका लागि अमेरिकी सरकारको योगदान रहँदै आएको उनले उल्लेख गरे ।

राजदूत थम्पसनको साथमा अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नक्भी पनि थिइन् ।

प्रकाशित : वैशाख २८, २०८१ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?