२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेपाल-कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारी

काठमाडौँ — नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पूरा भएको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारीमा रहेको बताएका छन् । दक्षिण कोरियाली दूतावासले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘दक्षिण कोरिया र नेपाल बीचको कुटनीतिक सम्बन्धको ५० वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरी भ्रमणको तयारी भइरहेको छ ।’

नेपाल-कोरिया सम्बन्धको ५० औँ वर्षगाँठको उपलक्ष्यमा उच्चस्तरीय भ्रमणको तयारी

उनले उच्चस्तरीय भ्रमणको तयारी प्रक्रियामै रहेकाले अहिले नै बाहिर ल्याउने बेला भने नभएको प्रष्ट पारे । राजदूत पार्कले दक्षिण कोरिया र नेपाल असल मित्र रहेको उल्लेख गर्दै दुई मुलुक बीचको सम्बन्ध सुमधुर रहेको बताए ।

परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्री दाहालको दक्षिण कोरियाको भ्रमणको लागि मितिसहित एजेन्डाहरुको बारेमा गृहकार्य भइरहेको जनाएको छ । चैत १६ मा प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले जुगल हिमालको आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिएका थिए ।

दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औं महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए । उक्त अवशरमा दाहालले भनेका थिए,‘राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्विकारेर कोरिया जाने तयारी गर्न खोज्दै छौं ।’ सोहीअनुसार भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्य पनि जानकारी दिए ।

दक्षिण कोरियाका राजदूत पार्कले ५० वर्षगाँठको उपलक्ष्यमा दुवै मुलुकबाट भ्रमण हुने गरी गृहकार्य भइरहेको प्रष्ट उल्लेख गरे । नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । ५० वर्षको दौत्य सम्बन्धका अवसरमा दक्षिण कोरियाली दूतावासले नेपालमा कार्यक्रमको सुरुआत समेत गरिसकेको छ । दूतावासले नेपालसँगको सहकार्यमा ५० वर्षको उपलक्ष्यमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र तत्त्वहरू समावेश गरिएको लोगो सार्वजनिक गरिसकेको छ ।

नेपाली पक्षले कोरियाली पक्षलाई प्रधानमन्त्री दाहालको भ्रमण बजेट प्रस्तुत (जेठ १५) पछि मात्र हुन सक्ने जनाएको छ । नेपालको आन्तरिक राजनीतिमा उतार–चढाव भएपछि भ्रमण केही ढिलो हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले भनाई छ ।

प्रकाशित : वैशाख २६, २०८१ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?