डोल्पामा १२० हिउँचितुवा
मुगु — हिमाली जिल्ला डोल्पामा १ सय २० वटा हिउँचितुवा भेटिएको छ । शुक्रबार वन्यजन्तु सप्ताह पारेर डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध र छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० वटा गरी १ सय २० वटा दुर्लभ हिउँचितुवा भेटिएको तथ्यांक सार्वजनिक गरिएको हो ।
निकुञ्ज क्षेत्रमा ९० वटा हिउँचितुवा र वन क्षेत्रमा ३० वटा हिउँ चितुवा भेटिएको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत विश्व सीमसार दिवसको अवसर पारेर फेब्रुअरी २०२४ मा ९० वटा हिउँचितुवाको संख्या सार्वजनिक गरेको थियो
सन २०१९ मा हिउँचितुवा गणनाका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको छ ।
दुर्लभ हिउँचितुवा गणनाका निम्ति निकुञ्जको ८० लाख र सामुदायिक वन क्षेत्रमा ४८ लाख खर्च भएको विश्व बन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले जानकारी दिए । उक्त आर्थिक सहयोग विश्व वन्यजन्तु कोषले उपलब्ध गराएको उनले बताए ।
हिमचितुवाको मुख्य आहारा झारल, घोरल नाउर रहेको र सोही झारल घोरल र नाउरको संख्या निकुञ्जमा ४ हजारभन्दा बढी रहेको निकुञ्जले जनाएको छ ।
२०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको प्रख्यात क्षेत्र रहेको विश्व वन्यजन्तु कोषका अनुसन्धान फिल्ड कार्यक्रम अधिकृत हमालले जानकारी गराए ।
फिल्ड कार्यक्रम अधिकृत हमालका अनुसार निकुञ्ज क्षेत्रको करिब ३ हजार देखि ४५ सय मिटर उचाइमा हिमचितुवा भेटिने गरेको छ । ३५ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल निकुञ्जले ओगटेको छ । यो निकुञ्जभित्र मुगुको मुगुम् कार्मारोङ गाउँपालिकासहित डोल्पाका तीन वटा गरी ४ वटा स्थानीय तह पर्दछन् ।
प्रकाशित : वैशाख ८, २०८१ ०९:४०