कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलालाई आफ्नैबाट असुरक्षा 

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पछिल्लो पाँच वर्षमा श्रीमान्‌बाट ४ सय ६० जना महिलाले ज्यान गुमाएका छन् 
विद्या राई

काठमाडौँ — काम गर्दै उच्च शिक्षा पढेकी उनले विवाह गर्ने निर्णय गरिन् । एक वर्षअघि आफ्नै प्रेमीसँग वैवाहिक सम्बन्धमा गाँसिएकी थिइन् उनी । विवाह गरेपछि उनमा पश्चात्ताप बढ्दै गयो । कक्षा १२ सम्म गाउँमै पढेर एक दशकअघि काठमाडौं छिरेकी उनले एक निजी संस्थामा जागिर र पढाइलाई सँगसँगै अघि बढाएकी थिइन् ।

महिलालाई आफ्नैबाट असुरक्षा 

निकै संघर्ष गरेर आफ्नो पेसामा स्थापित भइसकेकी उनले विवाहपछि पाइला–पाइलामा श्रीमान्को रोकटोक झेल्नु परिरहेको सुनाइन् । श्रीमान्को वचन काट्न नसकेर उनले हुँदाखाँदाको काम छोड्नु पर्‍यो ।

‘पढेलेखेका श्रीमान्ले यसरी नियन्त्रण गर्लान् भनेर सोचेकी पनि थिइनँ, उनले भनेको नमानौं भने बिहे गरेर आइसकें, मानेर पनि पछुतो मात्रै छ,’ गृहिणी भएर घरैमा बसिरहेकी उनले भनिन्, ‘संघर्ष गरेर आफ्नै कमाइले आत्मनिर्भर थिएँ, अहिले मेरा आमा/हजुरआमा पुस्ताको पालामा जसरी चुलाचौकामा सीमित हुनुपरेको छ ।’ उनी एक प्रतिनिधिमूलक पात्र मात्रै हुन् । अझै पनि नेपाली महिलाले श्रीमान् वा आत्मीय मान्छे (इन्टिमेट पार्टनर) बाट रोकटोक तथा नियन्त्रणकारी व्यवहार खेप्ने गरेका छन् । ३५ प्रतिशत अर्थात् १ सय जना महिलामा ३५ जनाले आफ्नै श्रीमान् वा आत्मीय मान्छेबाट रोकटोक तथा नियन्त्रणकारी व्यवहार र २७ प्रतिशतले शारीरिक, यौनजन्य वा मानसिक हिंसा भोग्ने गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले घरेलु हिंसामाथि गरेको अध्ययनमा उल्लेख छ । बाहिरी आवरणमा सुन्दर देखिने वैवाहिक सम्बन्ध वा जोडीहरूबीचको आत्मीय सम्बन्धको कुरूप चित्र यतिमा मात्रै सीमित छैन । महिलाले श्रीमान् वा पार्टनरबाट भोग्ने हिंसाको दर पनि बढ्दो छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार पछिल्लो पाँच वर्षमा उक्त दर तीन प्रतिशतले बढेको हो ।

सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा पछिल्लो १२ महिनामा श्रीमान् वा पार्टनरबाट हिंसा भोग्ने महिलाको दर १४ प्रतिशत थियो भने सन् २०२२ को सर्वेक्षणमा यो दर बढेर १७ प्रतिशतमा उक्लेको छ । पछिल्लो जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका नेपाली महिला २३ प्रतिशतले १५ वर्षकै उमेरदेखि शारीरिक हिंसा र ८ प्रतिशतले यौन हिंसा खेप्छन् । ६ प्रतिशत महिलाले गर्भावस्थामा हिंसा भोग्छन् । श्रीमान् वा पार्टनरबाट हिंसा हुँदा ५३ प्रतिशत महिलाले चोटपटकको महसुस गर्ने गरेका छन् । २८ प्रतिशत महिलाले मात्रै आफूमाथि भएको शारीरिक वा यौनजन्य हिंसाविरुद्ध सहयोग माग्ने हिम्मत गर्छन् । घरेलु शारीरिक हिंसा भोग्ने महिलाको जातिगत पृष्ठभूमि हेर्दा ब्राह्मण/क्षेत्री समुदायका १४ प्रतिशत र सबैभन्दा बढी मुस्लिम समुदायका महिला ४२ प्रतिशत छन् । प्रदेशगत हेर्दा सबैभन्दा कम गण्डकी प्रदेशमा १५ प्रतिशत र सबैभन्दा बढी मधेश प्रदेशमा ३७ प्रतिशत छ ।

नेपाली समाजमा श्रीमान्को हिंसा र महिला सशक्तीकरणको अन्तरसम्बन्धबारे सन् २०१९ मा प्रकाशित जर्नलले बाल्यकालमा आमाबाबुबीचको हिंसाको साक्षी बनेका महिलाहरू विवाहपछि आफ्नै श्रीमान्ले मादक पदार्थ सेवन गरेर हिंसा गर्ने र वैवाहिक नियन्त्रणले गर्दा जीवनभर डराउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार दम्पतीहरू अशिक्षित वा कम शिक्षित हुँदा, मादक पदार्थ सेवन, लैंगिक असमानता, आय आर्जनमा महिला पछि परेका कारण, महिलालाई (वैवाहिक सहित) नियन्त्रण गर्नुपर्छ भन्ने मानसिकताले गर्दा महिलाहरू श्रीमान्/पार्टनरबाट हिंसामा पर्छन् । दम्पतीहरूबीचको सम्बन्धमा पारस्परिक सम्मानलाई सामाजिक स्विकार्यता दिनमा बढावा दिनुपर्ने र नयाँ पुस्तालाई यसबारे सचेत गराउनुपर्ने सुझाव दिएका छन् ।

श्रीमान् र पार्टनरबाटै बलात्कार

आफ्ना सबैभन्दा नजिकका, सुखदुःखका सहयात्री मानिने श्रीमान् र आत्मीय मान्छेहरूबाटै महिलालाई रोकटोक गर्ने, हिंसा, दुर्व्यवहार गर्ने, बलात्कार गर्ने गरेको अध्ययनहरूले देखाएका छन् । नेपाली समाजमा हरेक दिन औसत ७ जना महिला, बालिका र किशोरीहरूमाथि बलात्कार हुने गरेको प्रहरी अभिलेखले देखाउँछ । अधिकांश बलात्कारका घटना चिनजान तथा नाताभित्रैबाट हुने गरेका छन् । श्रीमान् र आत्मीय मान्छेहरूले महिलाहरूमाथि गर्ने बलात्कारजस्तो जघन्य अपराधलाई हेरौं । आव ०७५/७६ देखि ०७९/८० सम्म देशभरिका प्रहरी कार्यालयमा श्रीमान्ले श्रीमतीलाई बलात्कार गरेका २०२ उजुरी परेका थिए । यही अवधिमा केटा साथीले केटी साथीलाई बलात्कार गरेका ६ सय ४९ र सम्बन्ध विच्छेद भएको श्रीमान्ले श्रीमतीलाई बलात्कार गरेका ४३ उजुरी परेका थिए ।

श्रीमान्‌बाटै हत्या

गत माघ ६ गते दाङको तुलसीपुर उपमहागनरपालिका–४ मा ४३ वर्षीय पेण्डुवा चौधरीले रड प्रहार गरेर श्रीमतीको हत्या गरे । बेलुकीको समयमा रक्सीले मातेका पेण्डुवाले ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेका थिए । लक्ष्मीलाई बचाउन पुगेका छिमेकी एक महिला र पुरुषलाई पनि उनले रडले हानेर घाइते बनाएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार श्रीमती हत्या गर्नेलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको छ ।

गत मंसिर २० गते सल्यानको सिद्धकुमाख गाउँपालिका–३ मा श्रीमान्ले धारिलो हतियार प्रहार गर्दा ४० वर्षीया श्रीमती शीतली सार्कीको घटनास्थलमै मृत्यु भयो । ४५ वर्षीय डम्मर सार्कीले बन्चरो र दाउराले प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए । डम्मरलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेर अनुसन्धान गर्दा श्रीमान्/श्रीमती दुवैले मदिरा सेवन गरेर वादविवाद परेपछि उक्त घटना हुन पुगेको बयान दिएका थिए । सुरुमा श्रीमतीलाई लछारपछार, कुटपिट गरेका थिए । यसपछि हत्या गरेका थिए । उनीहरू पहिल्यैदेखि मदिरा सेवन गरेर झगडा गर्ने गरेका प्रहरी अनुसन्धानमा खुलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार हत्या अभियोगमा पक्राउ गरेका डम्मरलाई कर्तव्य ज्यान कसुरमा पुर्पक्षका लागि कारागार पठाइएको छ । उल्लिखित घटनाले जीवनभर सहयात्रा गर्ने सपना बुनेर दाम्पत्य यात्रा तय गरेका जोडीहरूले निर्मम हत्या गरेर अमूल्य जीवनलाई समाप्त गरिरहेको क्रूरतापूर्ण स्थितिलाई चित्रित गर्छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार पछिल्लो पाँच वर्ष (आव ०७५/७६ देखि ०७९/८०) मा श्रीमान्बाट ४ सय ६० जना महिलाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता भीम ढकालका अनुसार पारिवारिक तनाव, रिसीइबी, आर्थिक संकट, विवाहेत्तर सम्बन्ध, मदिराको सेवन जस्ता कारण व्यक्तिले आवेगमा गर्ने नकारात्मक निर्णयले यस्ता घटना हुने गरेको बताउँछन् । पछिल्लो पाँच वर्षमा परिवारका सदस्य, आफन्त, नातेदारभित्रै हत्याका १ हजार १ सय ६८ घटना भए । त्यसमा ३७ प्रकृतिका पारिवारिक तथा नातेदारभित्रको हत्याका घटनाहरू समावेश छन् । ती कुल १ हजार १ सय ६८ हत्याका घटनामध्ये सबैभन्दा बढी ३९.३८ प्रतिशत (४ सय ६० जना) श्रीमान्ले श्रीमतीको हत्या पर्छन् । यो अवधिमा श्रीमतीको हत्याबाट ज्यान गुमाउने पुरुषहरूको संख्या ९७ जना छन् । आधुनिकीकरण र सामाजिक सञ्जालको दुरुपयोगले परिवार समाजभित्रको नैतिकता र आत्मीयता घट्दै गएकाले परिवाभित्रका कलहहरू हत्यामा परिणत हुने गरेको प्रहरी प्रधान कार्यालय नक्सालका प्रवक्ता ढकालले बताए । ‘सामाजिक सञ्जाल धेरै हेरेर मान्छे थाक्छ, असामान्य हुन्छ, एकोहोरो हुन्छ, के गर्ने/नगर्ने ‘फिल्टर’ गर्न सक्दैन,’ ढकालले भने, ‘तनाव र समस्या सिर्जना भएपछि समाधानका लागि सकारात्मक पहल गर्नुको साटो आवेगमा हुने निर्णयले यस्ता अप्रिय घटना भइरहेका छन् ।’

मनोसामाजिक परामर्शकर्ता पार्वती सुवेदीले श्रीमान्/श्रीमती वा पार्टनरबीच अशान्त, अस्वस्थ र तनावको तह बढ्दै गएपछि हिंसामा परिणत हुने गर्छ । ‘मानसिक तनाव दुवै पक्षलाई हुन्छ, सम्बन्ध बिग्रेपछि एकअर्कालाई ‘ब्लेमिङ’ एकदमै हुन्छ,’ सुवेदीले भनिन्, ‘कतिपय पुरुषमा विवाहेत्तर सम्बन्ध राख्दै हिंड्ने, पार्टनर फेर्दै हिंड्ने हुन्छ, धेरैजसो महिला प्रेममा प्रतिबद्ध हुन्छन्, यसले सम्बन्ध बिगारेको हुन्छ ।’ महिलालाई रोकटोक गर्ने, नियन्त्रण गर्ने परम्परागत मूल्य–मान्यताले गर्दा पनि दम्पती र पार्टनरहरू समाधान खोज्ने भन्दा दरारहरू बढाउनेतर्फ प्रेरित भइरहेका हुन्छन् । समयमा समाधानतर्फ नलागेर ‘फ्रस्टेसन’, अविश्वास बढ्दै गएपछि तनावग्रस्त सम्बन्ध हत्या हिंसामा परिणत हुने गरेको मनोसामाजिक परामर्शकर्ता सुवेदी बताउँछिन् ।

प्रकाशित : चैत्र १५, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?