१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू

काठमाडौँ — हाल मिर्गौला रोग एक प्रमुख जनस्वास्थ्य चिन्ता विषय बनिरहेको छ । सामान्यतया मिर्गौला रोग धेरै विकसित अवस्थामा नपुगेसम्म पत्ता लाग्दैन। त्यो भनेको कसैलाई डायलासिस वा प्रत्यारोपण आवश्यक भएपछि मात्रै मिर्गौलामा समस्या भएको थाह हुन्छ ।

स्वास्थ्य सुझाव : मिर्गौला रोग समयमै पत्ता लगाउने सामान्य उपायहरू

समस्या सुरु हुनु अघि मिर्गौला रोग पत्ता लगाउनु नै मुख्य चुनौती हो। त्यसका लागि नियमित परीक्षण निकै महत्त्वपूर्ण छ, र मिर्गौला रोगको जोखिममा परेका मानिसहरूका लागि अझ महत्त्वपूर्ण छ।

स्वस्थ मिर्गौलाले गर्ने ६ काम

  • शरीरको तरल पदार्थको स्तरलाई सन्तुलनमा राख्छ
  • रगतबाट फोहोर र विषाक्त पदार्थहरू फिल्टर गर्छ
  • रक्तचाप नियन्त्रण गर्ने हर्मोन निकाल्छ
  • हड्डीहरूलाई स्वस्थ राख्न भिटामिन डीलाई सक्रिय बनाउँछ
  • रातो रक्त कोशिकाहरूको उत्पादनलाई निर्देशित गर्ने हर्मोन निस्कासन गर्छ
  • रगतमा मिनिरलहरूको स्तरलाई सन्तुलनमा राख्छ (सोडियम, फोस्फोरस, पोटासियम)

मिर्गौला रोगले निम्त्याउन सक्ने ७ समस्याहरू

  • मुटु रोग
  • हृदयघात र स्ट्रोक
  • उच्च रक्तचाप
  • कमजोर हड्डी
  • नशामा क्षति (न्यूरोपैथी)
  • मिर्गौला फेलियर (अन्तिम चरणको मिर्गौला रोग, वा ईएसआरडी)
  • एनीमिया वा कम रातो रक्त कोशिका गणना

मुख्य जोखिमका ५ कारक:

  • मधुमेह (तपाईं वा तपाईंको परिवारमा)
  • उच्च रक्तचाप (तपाईं वा तपाईंको परिवारमा)
  • हृदय रोग (तपाईं वा तपाईंको परिवारमा)
  • मिर्गौला विफलता पारिवारिक इतिहास
  • मोटोपना

अतिरिक्त जोखिमका कारक

  • उमेर ६० वा माथि
  • कम जन्म वजन
  • दुखाइ कम गर्ने औषधीको लामो समयसम्म प्रयोग
  • लुपसका साथै अन्य अटोइम्यून विकारहरू
  • बारम्बार मूत्रनलिमा संक्रमण
  • मिर्गौलाको पत्थरी


सम्भावित समस्याका संकेतहरू

प्रारम्भिक मिर्गौला रोग भएका अधिकांश मानिसहरूमा कुनै लक्षणहरू देखिँदैनन्, त्यसैले प्रारम्भिक पहिचान महत्त्वपूर्ण हुन्छ। लक्षणहरू देखा पर्दा, मिर्गौला रोग विकसित अवस्थामा पुगिसकेको हुनसक्छ, र लक्षणहरूले झनै द्विविदा पार्न सक्छन् । यी कुरामा ध्यान दिनुहोस्:

  • थकान, कमजोरी
  • पिसाब फेर्न गाह्रो र पीडादायी
  • फोमयुक्त पिसाब
  • गुलाबी, गाढा पिसाब (पिसाबमा रगत)
  • अस्वभाविक रुपमा तिर्खा बढेमा
  • अस्वभाविक रुपमा पिसाब लागेमा (विशेष गरी रातमा)
  • आँखा पोल्ने
  • अनुहार, हात, पेट, खुट्टा सुन्निएमा

३ सरल परीक्षणहरू

रक्तचाप (बीपी परीक्षण)
उच्च रक्तचापले मिर्गौलामा रहेका साना रक्तनलीहरू (ग्लोमेरुली) लाई क्षति पुर्‍याउन सक्छ। यो मधुमेह पछि मिर्गौला विफलताको दोस्रो प्रमुख कारण हो। रक्तचाप १४०/९० भन्दा तल हुनु धेरै मानिसहरूको लागि राम्रो हुन्छ। यदि पुरानो मिर्गौला रोग छ भने १३०/८० भन्दा तल भएको राम्रो हुन्छ। १२०/८० भन्दा तल सबैभन्दा राम्रो मानिन्छ।

पिसाबमा प्रोटिन (पिसाब परीक्षण)
पिसाबमा एक प्रकारको प्रोटिन, एल्बुमिन (अल्बुमिनुरिया) देखिनु मिर्गौला रोगको प्रारम्भिक लक्षण हुनसक्छ। पिसाबमा एल्बुमिन र अन्य प्रोटिनको नियमित (प्रोटिन्युरिया) देखिनुले मिर्गौला क्षति भएको संकेत गर्छ।

ग्लोमेरुलर फिल्टरेसन दर (जीएफआर) (रक्त परीक्षण)
यसले मिर्गौलाले रगतलाई कत्तिको राम्रोसँग फिल्टर गरिरहेको छ भन्ने मापन गर्छ। डाक्टरहरूले रगतमा क्रिएटिनिनको स्तर नाप्छन् र ग्लोमेरुलर फिल्टरेशन रेट (जीएफआर) पत्ता लगाउन गणना गर्छन्।

मिर्गौला रोग भएकाले गर्नैपर्ने ६ कुरा

  • उच्च रक्तचापलाई कम गर्ने
  • रगतमा चिनीको स्तरलाई व्यवस्थापन गर्ने
  • नुन सेवन कम गर्ने
  • दुखाइ कम हुने औषधिको अनावश्यक प्रयोग नगर्ने
  • प्रोटीनयुक्त खाना थोरै खाने
  • वार्षिक रुपमा फ्लू विरुद्धको खोप लगाउने

सबैले गर्नैपर्ने ९ कुरा

  • नियमित व्यायाम गर्ने
  • तौल नियन्त्रण गर्ने
  • सन्तुलित आहार खाने
  • धुम्रपान नगर्ने
  • आवश्यकभन्दा बढी पानी नपिउने
  • जलवियोजन हुन नदिने
  • कोलेस्ट्रोलको स्तरलाई निगरानी गर्ने
  • सधैं व्यायाम गर्ने
  • आफ्नो परिवार चिकित्सा इतिहास थाह पाउने

(नेसनल किड्नी फाउन्डेसनले प्रकाशन गरेको सामाग्रीबाट अनुवाद गरिएको ।)


प्रकाशित : वैशाख ११, २०८१ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?