२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३०

अनमोलको ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

काठमाडौँ — युवापुस्तामाझ लोकप्रिय मानिएका अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को बिहीबार ट्रेलर सार्वजनिक भएको छ । अनमोल र जसिता गुरुङको रोमान्टिक कमेडी रहेको फिल्मले ‘टाइम ट्राभल’को कथा भनेको बताइएको छ । ट्रेलरमा अनमोललाई भगवानको चरित्रका रुपमा अर्थ्याइएको छ । 

अनमोलको ‘फर्की फर्की’ ट्रेलर सार्वजनिक

कार्यक्रममा बोल्दै अनमोलले ‘फर्की फर्की’ बाट आफूले निकै आशा गरेको बताए । भने, ‘मैले फिल्मी करिअर सुरु गरेको १० वर्ष भएछ, फर्की फर्की’ पनि मेरो दशौं फिल्म नै हो । यसबाट दर्शक, फ्यानको साथ पाउनेमा म निकै आशावादी छु ।’

पछिल्लोपटक ‘छड्के २’ मा देखिएका अनमोललाई भने उक्त फिल्मको असफलताले चुनौती थपिदिएको थियो । यसपटक अनमोलले अभिनयमा पनि निकै मिहिनेत गरेको निर्देशक सुयोग गुरुङ बताउँछन् । उनले अभिनेत्री जसितासँग पहिलोपटक जोडी बाँधेका हुन् ।

अनमोलसँग काम गर्न पाउँदा खुसी लागेको बताएकी जसिताले ‘फर्की फर्की’ बाट आफू डेब्यू फिल्ममा जत्तिकै उत्साहित भएको प्रतिक्रिया दिइन् । ‘लिलिबिली’ र ‘लभस्टेन’ मा अभिनेता प्रदीप खड्कासँग काम गरेकी उनी पछिल्लो फिल्म ‘ज्याकी : आईएम २१’ मा धिरज मगरसँग देखिएकी थिइन् । जसिताले ‘फर्की फर्की’ आफ्नो लागि विशेष रहेको बताए ।

बुद्ध जयन्तीको अवसर पारेर आगामी जेठ १० देखि प्रदर्शनमा आउन लागेको यस फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै रवी काफ्ले र समृद्धि अर्यालले मुख्य भुमिकामा डेब्यू गरेका छन् । युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएपछि निकै सकारात्मक प्रतिक्रिया पाएको यस फिल्मका प्रस्तुतकर्ता रहेका रोहित अधिकारीले बताए ।

प्रेम, रोमान्स र सम्बन्धको कथा बोल्ने बताइएको ‘फर्की फर्की’ को निर्माणमा ओएसआर डिजिटलले सहकार्य गरेको छ । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्मको सम्पादन सुरेन्द्र पौडेलको रहेको छ भने संगीत रोमन न्यौपाने र नरेन लिम्बु तथा छायांकन नरेन्द्र मैनालीको हो । फिल्मको पटकथा पनि निर्देशक गुरुङकै हो ।

प्रकाशित : वैशाख ६, २०८१ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?