कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लण्डनमा भूतपूर्व गोर्खाको मुद्दामा त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगियो 

लन्डन — भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगिएको छ । विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरीय वार्ता पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका सहभागीले बताएका छन् ।  

लण्डनमा भूतपूर्व गोर्खाको मुद्दामा त्रिपक्षीय वार्ता विना निष्कर्ष टुंगियो 

उक्त बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको संक्षिप्त समीक्षा गर्दै मुख्य एजेन्डा पेन्सनका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

‘हाम्रो तर्फबाट भूतपूर्व गोर्खाहरूको समान पेन्सनबारे डिटेल्स कुरा भयो,' दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कान्तिपुरसँग भनिन्,‘यस अघि पेन्सनमा आज जस्तो विस्तृत छलफल भएको थिएन । बेलायती पक्षले आन्तरिक छलफल पछि फेरि अर्को वार्ता गर्ने भनेको छ ।’

वार्तामा नेपालको तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाहरूको समान पेन्सनको मुख्य माग पुष्टि गर्ने विभिन्न तर्क तथा प्रमाणहरू पेस गर्दै नेपाल र संयुक्त अधिराज्यबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गरी यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका बाँकी मागहरू मुख्यतः पेन्सनका विषयमा दीर्घकालीन समाधान खोज्न अनुरोध गरेका थिए ।

बेलायती रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसनले पेन्सनको विषयमा यथोचित समाधानका लागि के गर्न सकिन्छ भन्नेबारे उपयुक्त सम्भावनाहरू प्रस्ताव गर्न र त्यस विषयमा आगामी बैठकमा छलफल गर्न तयार रहेको जानकारी गराएका थिए ।

उनले नेपाल र बेलायतबीच ऐतिहासिक एवं घनिष्ठ सम्बन्धको बारेमा उल्लेख गर्दै भूपू गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको योगदानको कदर गर्ने बताए ।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले भूपू गोर्खाको माग सम्बोधनको विषयलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको बताउँदै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको सन्देशसहित भूपू गोर्खाका मागहरूको उदारतापूर्वक समाधानका लागि बेलायती पक्षलाई अनुरोध गरेका थिए ।

भूपू गोर्खाहरूको तर्फबाट उपस्थित मेजर रिटायर्ड जुदबहादुर गुरुङ, मेजर रिटायर्ड टिकेन्द्र दल देवान, कृष्णबहादुर राई, धर्मबहादुर तामाङ, केशबहादुर गुरुङ तथा ज्ञानराज राईले समान पेन्सनका विषयमा विभिन्न उदाहरणसहित आफ्ना महत्त्वपूर्ण तर्क पेस गरेका थिए।

वार्तामा सहभागी गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले प्रमुख मुद्दा पेन्सनमा घनिभूत छलफल भएकोले आउँदो वार्तामा यसले निर्णायक बाटो लिने आशा गरीएको प्रतिक्रिया दिए ।

अनसनकर्ता ज्ञानराज राईले राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल सरकार र गोर्खाहरूको तर्फबाट तार्किक रुपमा राखेको र अर्को पटक वार्ता सफल हुने विश्वास व्यक्त गरे ।

‘बेलायती मन्त्री विषयवस्तुभन्दा बाहिर जान खोजेपनि महामहिमज्यूले सशक्त रुपमा हाम्रा कुरा राखिदिनु भएको छ । आशा छ अर्को पटक बेलायत भाग्न सक्दैन,’ राईले भने ।

वार्तामा सहभागी गेसो उपसभापति धर्म तामाङले वार्ता उपलब्धिपूर्ण नबनेको तर छलफल निरन्तर राख्ने सहमति भएको बताए ।

‘आज पूरै पेन्सनकै मुद्दामा मात्र कुरा भयो। तर बेलायती मन्त्रीले समान पेन्सनमा जान सकिन्न भन्ने आफ्नो अडान अन्तिमसम्म पनि छोडेनन्,' तामाङले भने, ‘कानूनी जटिलताले मिल्दैन भन्ने बेलायती पक्षको भनाइ छ । तर नेपालका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले स्पष्ट अडानसहित नयाँ द्विपक्षीय सम्झौतामा गएर भएपनि निकास खोजौं भन्ने प्रस्ताव गर्नुभएको छ।’

उक्त बैठकमा नेपाली राजदूतावासकी उप-नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी अनुप शाह तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरूको पनि सहभागिता थियो।

गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिएका थिए ।

यसैबीच, बेलायती रक्षा मन्त्रालयभित्र वार्ता चलिरहँदा बाहिर भने गोर्खाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रकाशित : चैत्र १५, २०८० ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?