१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

‘चुनावी पर्यटक’ ले चलायमान इलाम

इलाम — स्थानीय व्ययवासी भिजन लिम्बुलाई यतिबेला भ्याइनभ्याइ छ । केही दिन अघि ग्राहकको प्रतीक्षामा बित्थ्यो दिन । अहिले ग्राहक सम्हाल्नै हम्मे छ । टोपी, झोला लगायत ढाका कपडाका सामग्री बिक्रेता लिम्बु भन्छन्,‘चुनावले इलाममा व्यवसायिक चहलपहल बढाएको छ ।’ 

‘चुनावी पर्यटक’ ले चलायमान इलाम

लिम्बुले भनेझै इलाम क्षेत्र नम्वर २ को आसन्न उपनिर्वाचनका कारण विभिन्न जिल्लावाट विभिन्न दल सम्बद्ध नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ यतिबेला सदरमुकाम इलाममा । नेता कार्यकर्ता मात्रै हैन, चुनावलाई नजिकबाट बुझ्न र अध्ययन गर्न काठमाडौंबाट आएको अध्येताहरुको पनि बाक्लो उपस्थिति छ ।

जसले चिया पसल देखि ठूल्ठूला होटलहरुको व्यापार फष्टाएको हो । ‘होटल त प्रायःजसो सबै भरिभराउ छन्’, होटल ग्रीन भ्यूका मेनेजर प्रेम सापकोटाले सुनाए,‘न्यून दरदेखि उच्च दरसम्मका सबै होटलमा यतिबेला कोठा पाउन गाह्रो भइरहेको छ ।’

धेरै व्यापारी आर्थिक मन्दीको मारमा छन् । इलामका व्यवसायीहरु पनि यसबाट अछुतो छैनन् । तर, इलामको ‘चुनावी पर्यटन’ ले भने अस्थायी रुपमा भएपनि स्थानीय व्यवसायीमा उर्जा थपिएको छ । कवि विमल वैद्य भन्छन्,‘अहिले पहिला जस्तो झिँगा धपाएर बस्नु पर्ने अवस्था चाहिँ छैन ।’

बजारमात्रै हैन यातायात क्षेत्रलाई पनि चलायमान बनाएको छ, चुनावले । अधिकांश गाडीहरु दलका नेता कार्यकर्ताहरुले रिजर्भ गरेका छन् । चुनावी माहोल बुझ्न आएकाहरुले पनि गाडी बुकिङ गर्दा नजिकै यात्रा गर्ने सर्वसाधारणले भने सिट पाउनै मुस्किल भएको छ । यातायात व्यवसायी विवेक लिम्बु भन्छन्,‘यतिबेला गाडी पाउन निक्कै गाह्रो छ । धेरै जसो गाडी चुनावतिरै छन्, इलाम–झापा गुड्ने केही गाडीमा सिट पाउन मुस्किल छ ।’

स्थानीय पर्यटन व्यवसायी दिव्या भट्टराईले चुनावी माहोलले होटल, यातायात तथा व्यापार व्यवसायमा चहलपहल बढेको बताइन् । ‘समग्रमा आन्तरिक पर्यटकको आगमन दर बढेको छ’, भट्टराईले भनिन्,‘इलामको पर्यटकीय गन्तव्यहरुमा पनि फ्लो छैन, सबै सदरमुकाममै केन्द्रित छन् ।’ उनका अनुसार इलाम आएका सबै ‘ चुनावी पर्यटक’ हरुले पर्यटकीय गन्तव्यहरु घुम्ने, खर्च गर्ने हो भने यहाँका अर्थतन्त्र थप चलायमान हुने थियो । उनले थपिन्,‘स्थानीय या प्रदेश सरकारले चुनावी माहोललाई पर्यटनसँग जोड्न सकेको भए राम्रो हुने थियो ।’

प्रकाशित : वैशाख ११, २०८१ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?