१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

उद्योगमा प्रशोधन केन्द्र बनाउन १५ दिनको समय माग

भूषण यादव

वीरगन्ज — वीरगन्जको सिर्सिया नदीमा उद्योगको फोहोर पानी मिसाउँदै आएका उद्योगीले प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) निर्माणका लागि अन्तिम पटक १५ दिनको समयावधि माग गरेका छन् । नदीको प्रदूषण नियन्त्रणका लागि करिब डेढ वर्ष अघिदेखि वीरगन्ज महानगरपालिकाले उद्योगीसँग अनुगमन तथा समन्वय गर्दै आएपनि उद्योगीले अटेर गर्दै आएका थिए । 

उद्योगमा प्रशोधन केन्द्र बनाउन १५ दिनको समय माग

चैते छठको समयमा नदीको पानी अत्यधिक प्रदूषित देखिएपछि महानगरवासीले सामाजिक सञ्जालमा मेयरको आलोचना गरेका थिए । प्रदूषण नियन्त्रणका लागि उद्योगीले पटक-पटक प्रतिवद्धता जनाएपनि काम भने नगरेको भन्दै मेयर सिंहले सोमबारदेखि ती उद्योगमा शिलबन्दी गर्ने वीरगन्ज उद्योग वाणिज्य संघलाई जानकारी दिएका थिए ।

उद्योगीहरु संघमा छलफल पछि आइतबार साँझ साढे ५ बजे मेयर सिंहको कार्यकक्षमा पुगेका थिए । ‘सामूहिक रुपमा आएका उद्योगीले आफ्ना उद्योगमा ट्रीटमेन्ट प्लान्ट स्थापना गर्न १५ दिनको समयावधि माग गरेका छन्,’ मेयर सिंहले भने, ‘अन्तिम पटकका लागि समय दिएका छौँ, प्रदूषण फैलाउने उद्योगमाथि कारवाही गर्छौ ।’

मेयर सिंहका अनुसार सोमबारदेखि नै कारवाही गर्ने योजनामा थियौँ । अन्तिम पटकका लागि १५ दिन भित्र प्रदूषण नियन्त्रणका लागि ट्रिटमेन्ट प्लान्ट स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् । पर्सा वारा औद्योगिक कोरिडोरमा रहेका १३ वटा उद्योगले फोहोर पानी सिधैँ नदीमा मिसाउने गरेको उनले जनाए । अरनिको टेक्सटाइल्सका गौरव गाडियाले माग गरिएको समयावधि भित्र प्रदूषण नियन्त्रण गरिने बताए ।

‘सबै उद्योग सञ्चालनको फरक-फरक विधि छन्, कसैलाई एक हप्ता लाग्ला त कसैलाई १५ दिन लाग्ला,’ उनले भने, ‘निर्धारित समयमा प्रदूषण नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छौँ ।’ सिद्धि टेक्सटायल्सका अशोक अग्रवालले विगतको भन्दा केही परिमाणमा प्रदूषण कम भएको बताए । ‘हामीले पोखरी खनेका छौँ, तीनवटा पिट निर्माण गरेका छौँ,’ उनले भने, सिर्सिया नदी प्रदूषणमुक्त पार्ने प्रतिवद्धता जनाएका छौँ । प्रदूषण नियन्त्रणका लागि अन्तिम पटकका लागि समय माग गरेका छौँ ।

सिर्सिया नदी आसपास रहेका उद्योगहरुकै कारण नदी प्रदुषित बनेको भन्दै मेयर सिंहले प्रदूषण फैलाउने उद्योगलाई शीलबन्दी गर्ने जनाएका थिए । उद्योगहरुले रसायनयुक्त लेदो तथा फोहोर पानी प्रशोधन नगरि नदीमा मिसाउने गरेका छन् । यस अघि नदी प्रदुषित गर्ने ५ वटा उद्योगलाई महानगरले ३/३ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

पटक–पटक प्रदूषण नियन्त्रण गर्न ताकेता गर्दा पनि उद्योगले अटेरी गरेपछि महानगरपालिकाले जरिवाना गरेको थियो । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिका अनुसार ग्लोबल लेदर, मारुती पल्स एण्ड पेपर, दुर्गा पल्स एण्ड पेपर र सिद्धी टेक्सटायल्सले प्रदूषण नियन्त्रणमा अझैँ अटेर गरिरहेको छ । महानगरपालिकाले गत फागुन १६ मा उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना असुलेको थियो ।

पर्सा, वारा एवम् सीमावर्ती भारतीय सहर रक्सौल समेतको जीवनदायनी नदीको रुपमा रहेको सिर्सिया नदी प्रदूषणको चपेटामा परेको छ । नदीमा सफा पानीको ठाउँमा कालो लेदो बग्ने गरेको छ । सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, दुबै जिल्लाका प्रहरी प्रशासन प्रमुख र अन्य सरोकारवाला निकायको संयुक्त बैठकले अनुगमन समिति गठन गरेको थियो ।

पछिल्लो ३ दशकयता प्रदूषणको चपेटामा परेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन वीरगन्ज महानगरपालिकाले अभियानको सुरुवात गरेको छ । उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले उद्योगहरुमा पटक पटक अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा नदी किनारमा सञ्चालित उद्योगहरुले त्यहाँबाट निस्किने रसायनयुक्त फोहोर, छालाको लेदो, कोइलाको छाई, फोहोर पानी लगायतका वस्तु प्रशोधन नै नगरि सिधै नदीमा फाल्ने गरेको पाइएको थियो ।

प्रकाशित : वैशाख १०, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?