२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

जब जहाजमा भेटियो १ केजी बेवारिसे सुन 

सुरज कुँवर

काठमाडौँ — सुन तस्करीका कारण 'छवि धमिलिएको' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अन्तर्राष्ट्रिय आवागमन सामान्य थिएन । खाडीको भीषण वर्षाका कारण दुबई, शारजहा लगायतका मध्यपूर्वी गन्तव्यमा जानुपर्ने यात्रुहरु अलपत्र थिए । प्रहरी र विमानस्थल कर्मचारीहरु भीभीआईपी कक्षमा थिए । भिस्तारा एयरको जहाजबाट पूर्वी नेपालको चतारा जान आइपुगेका धिरेन्द्रकृष्ण शास्त्री 'बागेश्वर बाबा' त्यहाँ थिए ।

जब जहाजमा भेटियो १ केजी बेवारिसे सुन 

यसैबीच विमानस्थलस्थित टर्मिनल कार्यालय र प्रहरीमा एउटा ‘ खबर’ आयो । त्यो थियो– भारतको दिल्लीबाट आएको इन्डिगोको न्यरोबडी जहाजमा गह्रुंगो बेवारिसे वस्तु भेटिएको । इन्डिगोको एयरबस ए–३२० विमानमा दिल्लीबाट आएका यात्रु तथा कार्गो निकालिसकेपछि विमानस्थलमा रहेका नेपाली कर्मचारीले जहाजको सफाइ गरे ।

सफाइ सकिएपछि इन्डिगोको सुरक्षा हेर्ने कर्मचारीले अन्तिममा पुनः जहाजभित्र सबै सिट र लगेज कम्पार्टमेन्ट जाँच गर्दै थिए । त्यहीबेला जहाजमा गह्रुंगो बेवारिसे वस्तु भेटिएको रहेछ । त्यो घटना हुँदा त्यही रहेका विमानस्थलका एक कर्मचारीका अनुसार, त्यो बेवारिसे वस्तु कुनै यात्रुको हो कि भनेर सोधपुछ भयो । तर, कसैले पनि स्वीकारेनन् । त्यसपछि प्रहरीले त्यो पहिचान गर्नुपर्ने भयो । ‘प्लास्टिकले र्‍याप गरेको थियो,’ ती कर्मचारीले भने, ‘त्यसलाई प्रस्थानतर्फ राखिएको स्क्यानिङ मेसिनमा राख्दा सुन भएको पत्ता लाग्यो ।’ फेला पारेको सुनको परिमाण १ केजी ७० ग्राम रहेको छ ।

त्यो सुन जहाजको २७ र २८ नम्बरको सिटको बीचमा फेला परेको थियो । प्रहरीले सुन भेटिएको आपसापमा बसेका यात्रुलाई विमानस्थलबाट निस्किन नपाउँदै केरकार गर्‍यो । ‘एउटा परिवार र अर्को धार्मिक पर्यटकको समूह रहेछ,’ स्रोतले भन्यो, ‘उनीहरुसँग कुराकानी गर्दा सुन तस्करीमा संलग्न जस्तो देखिएनन् ।’ त्यसपछि प्रहरीले इन्डिगोका कर्मचारी, विमानस्थल कर्मचारीसहित मुचुल्का बनाई सुनलाई सिनामंगलस्थित भन्सार कार्यालयमा ल्यायो । त्यहाँ जाँच्दा असली सुनै भएको भन्सारले प्रमाणित गर्‍यो । ‘पहिले त हामीले कुनै धातु वा खतराजन्य वस्तु ठानेका थियौं,’ प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘जाँच्दा सुन पुष्टि भयो ।’

विमानस्थलको सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्माले उक्त सुनबारे विमानस्थलमा रहेको केरकार (अनुसन्धान) को प्रहरीले यो घटनाबारे अनुसन्धान गरिरहेको बताए । यस घटनालाई नजिकबाट हेरिरहेका विमानस्थलका कर्मचारीका अनुसार, इन्डिगोको त्यो विमान बुधबार बिहान दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको थियो । ‘दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको विमानमा सुन बोक्ने भरियाले डराएर जहाजमै छाडेको आशंका गरिएको छ,’ ती कर्मचारीले भने, ‘यसअघि पनि यस्तै वस्तु भेटिँदा लामो जाँचपछि बालुवाको पोका भेटिएको थियो । यसपटक सुन भेटियो । यसअघिका घटनामा प्रायः सुन बाहिर निकाल्दा बरामद हुन्थ्यो । यसपटक जहाजमै सुन भेटियो । यस्तो घटना बिरलै हुन्छ ।'

प्रकाशित : वैशाख ६, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?