२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

बालबालिकालाई के सिकाउने ?

शिक्षाले बालबालिकालाई सीप, संस्कार, जीवन र जीविका दिनुपर्छ । समाजमा असल र सफल मानिस भएर जिउन कस्ता–कस्ता ज्ञान र सीप चाहिन्छ, त्यो शिक्षाबाट प्राप्त हुन्छ । गुणात्मक शिक्षाले मात्रै व्यक्ति, समाज र देश दुनियाँमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ ।

बालबालिकालाई के सिकाउने ?

कतिपय अभिभावक सानो उमेरमा नै बालबालिकालाई घरेलु काममा लगायो भने पढाइ कमजोर हुन्छ भन्ने सोच राख्छन्, यो गलत हो । सन्तानको गुणात्मक शिक्षा र उज्ज्वल भविष्यका लागि व्यावहारिक शिक्षा पनि आवश्यक छ । त्यसैले बालबालिकालाई समय, उमेर र रुचिअनुसार विद्यालयमा बिदा भएका बेला व्यावहारिक शिक्षा दिनुपर्छ ।

आजका बालबालिकाहरू मोबाइल र टीभीजस्ता माध्यमको अधिकतम प्रयोग गरेर महत्त्वपूर्ण समय बर्बाद गरिरहेका छन् । यस्तो अवस्थामा समयको सही सदुपयोग गर्न लगाउने योजना अभिभावकहरूले बनाउनैपर्छ । घर व्यवहारका कुरा सिकाउँदै आफूले खाएका भाँडाकुँडा माझ्न, लुगा धुन, कोठा सफा गर्न, गमलामा पानी हाल्न, गोलमेल गर्न, ओछ्यान मिलाउन उत्प्रेरित गर्दै सिकाउन जरुरी छ । बाध्यता र बोझका हिसाबले होइन कि सिकाइका रूपमा उनीहरूलाई पनि आफूसँगै सहभागी गराउन सकिन्छ । यसले उनीहरूलाई पछि आत्मनिर्भर बन्न र स्वावलम्बन हुन सिकाउँछ । त्यस्तै, आफन्तहरूको घर जाँदा होस् वा बजारमा किनमेल गर्न जाँदा या त धार्मिक ऐतिहासिक स्थलको भ्रमण गर्न जाँदा बालबालिकालाई पनि साथै लैजाने गर्नुपर्छ । बालबालिकासँग समसामयिक घटना र विषयका बारे नियमित छलफल गर्ने गर्नुपर्छ, पत्रपत्रिका पढ्ने र समाचार सुन्ने बानीको विकास गराउनुपर्छ । किशोरावस्थामा हुने शारीरिक परिवर्तन र संवेगहरूका बारे पनि उचित कुराकानी र परामर्श दिनु उचित हुन्छ । उनीहरू आफूसँग नहुँदा कहाँ जान्छन्, के गर्छन्, कस्ता मानिसको संगत गर्छन् भनेर सचेत हुनु जरुरी छ । विद्यालयमा पनि शिक्षक र साथीहरूसँग कस्तो व्यवहार गर्छन्, विद्यालयका अतिरिक्त क्रियाकलापमा कत्तिको सहभागिता छ र शिष्ट भाषाको प्रयोग गर्छन् कि गर्दैनन् जस्ता विषयमा अभिभावकले बेलैमा ध्यान पुर्‍याउनुपर्छ ।

हामीले बाहिर पकाएका वा जङ्कफुड खाँदा त्यसले पार्ने नकारात्मक प्रभावबारे पनि बताउनुपर्छ । घरका लागि आवश्यक सामग्री खरिद गर्न जाँदा बालबालिकालाई सँगै लैजाँदा उनीहरूमा बजारभाउका बारेमा पनि जानकारी हुन्छ । समयको महत्त्वबारे समेत बारम्बार जानकारी गराउनुपर्छ । सबैका लागि एक दिनमा हुने २४ घण्टा बराबर हुन्छन् । तर, समयको सही प्रयोग कसरी गर्न सक्छौं भन्ने कुरा सानैदेखि सिकाउन जरुरी छ । जतिसुकै धनसम्पत्ति भए पनि समय किन्न सकिँदैन । त्यसैले समय व्यवस्थापन योजनाबद्ध तरिकाले गर्नुपर्छ भनेर निरन्तर सम्झाइरहनुपर्छ ।

दाजुभाइ, दिदीबहिनीबीचको सम्बन्ध र महत्त्वबारे पनि अभिभावकले बुझाइदिनुपर्छ । आवश्यक परेको समयमा भावनात्मक र संवेगात्मक सहयोगका स्रोत उनीहरू नै हुन् । बालबालिकाबीचको आपसी सम्बन्धलाई सुदृढ पार्नमा पनि आमाबाबु महत्त्वपूर्ण माध्यम हुन् । असल अभिभावकले छोराछोरीलाई आनो जीवनका कर्तव्य, उद्देश्य, अधिकार लगायतका बारे पनि शिक्षा दिनुपर्छ । कर्तव्य र अधिकार भनेका एउटै सिक्काका दुई पाटा हुन् भन्ने कुरा बारम्बार जानकारी गराइरहनुपर्छ ।

भनिन्छ– घर नै बालबालिकाको पहिलो पाठशाला हो भने आमाबुबा पहिलो शिक्षक । यही पाठशालाबाट उनीहरूले आचरण, संस्कार र उत्पादनशील सीपको अभ्यास गर्छन् । जन्मेदेखि हुर्कंदासम्मको लामो समय उनीहरू यही पहिलो पाठशालामा बिताउँछन् । विद्यालयमा बढी सैद्धान्तिक शिक्षा दिइने गरिन्छ, अभिभावकले आना सन्तानलाई सम्भव भएसम्म बढी व्यावहारिक ज्ञान सिकाउन चुक्नु हुदैन । आफ्ना सन्तानलाई भविष्यमा कस्तो नागरिक बनाउने, सक्षम बनाउन अहिलेदेखि नै कस्तो ज्ञान दिने भन्ने सवालमा अभिभावक नै पहिलो जिम्मेवार हुन् । उनीहरूकै अभिभावकत्वबाट सन्तानको उज्ज्वल भविष्य निर्धारण हुन्छ ।

प्रकाशित : वैशाख २७, २०८१ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?