१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

अमेरिकी नेताको टिकटक चिन्ता

किशोर पन्थी

अमेरिका–चीन जटिल कूटनीतिक सम्बन्धका कारण अहिले टिकटक अमेरिकी राजनीतिज्ञका लागि निचोर्न नमिल्ने ठाउँमा आएको पिलोजस्तो भएको छ । अमेरिकामा मात्र झन्डै १७० मिलियन अर्थात् आधाभन्दा धेरै जनसंख्या टिकटक प्रयोगकर्ता छन् । सन् २०१८ देखि अमेरिका र चीन सम्बन्धमा लगातार गिरावट आइरहेको छ ।

अमेरिकी नेताको टिकटक चिन्ता

व्यापारयुद्ध, कोरोना महामारी, प्रविधिमा प्रतिस्पर्धा, साउथ चाइना सी मा बढ्दो तनाव, ताइवानसँगको सम्बन्ध, रुस–युक्रेन युद्धलगायतले दुई देशबीचको द्वन्द्वलाई अझ बढाएको हो । यही कारण अमेरिकामा गोपनीयता र सुरक्षा चिन्ता छ भने चिनियाँ सरकारमा टिकटक अमेरिकाविरुद्ध दुरुपयोग हुन सक्ने त्रास उत्पन्न भएको हो ।

सुरक्षा चिन्ताका बाबजुत पनि टिकटकका सन्दर्भमा अमेरिकी राजनीतिज्ञले बेलाबेला आफ्नो धारणा परिवर्तन गर्दै आएका छन् । कुनै बेला टिकटकका खरो विरोधी डोनाल्ड ट्रम्प अहिले पक्षमा देखिएका छन् । ट्रम्पको धारणामा आएको बदलावका बाबजुत अधिकांश रिपब्लिकन नेताले टिकटकप्रतिको धारणा बदलेका छैनन् । कुनै बेला टिकटकका पक्षमा देखिएका केही डेमोक्रेटिक नेता अहिले विपक्षमा छन् । फलस्वरूप टिकटकलाई चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वबाट अलग गर्न समयसीमा दिने र अलग नभए अमेरिकामा टिकटक बन्द गर्ने विधेयक अमेरिकाको प्रतिनिधिसभाबाट भारी मतले पारित भएको छ । विधेयक पारित भए आफूले त्यसमा हस्ताक्षर गर्ने राष्ट्रपति बाइडेनले बताइसकेका छन् ।

टिकटकप्रति अमेरिकी जनताको पनि भावना अस्थिर देखिएको छ । एक वर्षअगाडि प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको सर्वेक्षणअनुसार ५० प्रतिशत अमेरिकन वयस्क टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने पक्षमा देखिएका थिए भने २२ प्रतिशतले टिकटक प्रतिबन्धको विरोध गरेका थिए । प्रतिबन्ध लगाउन नहुने कडा धारणा राख्नेहरू १८ देखि २९ वर्षसम्मका ४६ प्रतिशत थिए । प्रतिबन्ध लगाउनुपर्ने पक्षमा रुढिवादीका रूपमा चिनिने ७० प्रतिशत थिए । गत डिसेम्बरसम्म आइपुग्दा यो धारणा परिवर्तन भइसकेको छ । १८ देखि २९ वर्षका युवापंक्ति टिकटकको पक्षमा देखिएको अवस्थामा युवा मतदातालाई आकर्षिक गर्ने वा टिकटकको विपक्षमा देखिएका रुढिवादीको ठूलो जमातलाई आकर्षित गर्ने भन्ने हिसाबकिताब राजनीतिक क्यालकुलेटरमा सहज छैन । यसबारे निर्णय गर्दा आगामी नोभेम्बरमा हुने निर्वाचनमा यसको मूल्य चुकाउनुपर्ने त्रास अमेरिकी राजनीतिज्ञलाई छ ।

कुनै न कुनै रूपमा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने अमेरिकी राज्यको संख्या ३९ पुगेको छ । विश्वमा झन्डै २ दर्जन देशले टिकटकमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाए पनि ती देशले देखाएका कारण उस्तै छैनन् । चिनियाँ सरकारले बाइटडान्सको चीनमा आधारित कम्पनीमा स्वामित्व हिस्सेदारी लिएको छ, जसलाई गोल्डेन सेयर भनिन्छ । त्यस्तै, २० प्रतिशत लगानी चिनियाँ संस्थापकहरूको छ । यो अवस्थामा चिनियाँ सरकारले अमेरिकी प्रयोगकर्ताका संवेदनशील बौद्धिक सम्पत्ति, व्यावसायिक गोप्य जानकारी र व्यक्तिगत डाटा संकलन गरेर अमेरिकनविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने चिन्ता टड्कारो छ । टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटा अमेरिकामा नै स्टोर गर्ने गरेको र चिनियाँ सरकारको कानुनी अधीनमा नरहेको दाबी गर्दै आए पनि अमेरिकाबाहिरका कर्मचारीले अमेरिकी प्रयोगकर्ताका डाटामा पहुँच कायम गरेका उदाहरणहरू छन् । अमेरिकी सिनेटरहरूलाई टिकटकका सीईओले पठाएको आठ पृष्ठ लामो पत्रमा पनि चीनमा रहेका कर्मचारीसहित अमेरिका बाहिरका कर्मचारीले अमेरिकी प्रयोगकर्ताका डाटाहरूमा पहुँच कायम गर्न सक्ने स्वीकार गरेका थिए । टिकटक, बाइटडान्स र चिनियाँ पार्टीसँग तिनीहरूको सम्बन्ध शीर्षकको रिपोर्टमा बाइटडान्स र टिकटकमा सुरुवातदेखि चिनियाँ सरकारको नियन्त्रणबारे विभिन्न प्रमाण दिइएको थियो । चीनका सबै प्रविधि कम्पनीलाई नियन्त्रणमा राखेको चिनियाँ सरकारको प्रभाव, मार्गदर्शन र नियन्त्रणको अधीनमा बाइटडान्स कम्पनी रहेको रिपोर्टमा उल्लेख गरिएको थियो ।

म्यान्डियट थ्रेट इन्टेलिजेन्सले सार्वजनिक गरेको एउटा रिपोर्टमा टिकटक र अन्य सञ्जालमा चीनविरोधी र अमेरिकी अधिकारीलाई बदनाम गर्ने भिडियो सिर्जना गरेर अमेरिकी प्रयोगकर्ताका फिडमा वितरण गरिएको थियो । धेरै भिडियोले लक्षित व्यक्तिहरूको सम्पर्क जानकारी र घरका ठेगानासमेत प्रदान गरेको रिपोर्टमा उल्लेख थियो । चीनको सरकारबाट स्पोन्सर गरिएको एउटा अभियानका क्रममा एसियन अमेरिकनलाई लक्षित गरेर हजारौं पोस्टमार्फत न्युयोर्क सिटीमा प्रदर्शनका लागि उक्साइएको थियो । सन् २०२२ मा बेइजिङमा शीतकालीन ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गरेको थियो । त्यसपछि चिनियाँ सरकारले टिकटक र अन्य सामाजिक सञ्जालमा प्रभावशालीहरूलाई चीनको छवि राम्रो बनाउने गरी गोप्य रूपमा काम लगाउन अमेरिकाका पब्लिक रिलेसन फर्मसँग सम्झौता गरेको अमेरिकाको सरकारी निकाय साइबरसेक्युरिटी एन्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सीको बुलेटिनमा उल्लेख गरिएको थियो ।

टिकटक सन् २०१६ मा सुरुवात भए पनि चिनियाँ सरकारले सामाजिक सञ्जालमार्फत हौवा फिजाउन सुरु गरिसकेको हार्वर्ड विश्वविद्यालय, स्ट्यानफोर्ड विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त अध्ययनमा लेखेका थिए । चिनियाँ सरकारले गलत सूचना फैलाउनका लागि २० लाखसम्म मान्छेलाई काममा लगाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अमेरिकी प्रयोगकर्तामाझ यहुदीविरोधी र प्यालेस्टाइन समर्थक भिडियोलाई फैलाउनमा बढावा दिएको समेत आलोचकहरूको आरोप छ ।

खासगरी नोभेम्बरमा हुने अमेरिकी चुनावमा चीनले टिकटक दुरुपयोग गर्न सक्ने चिन्ताका कारण अमेरिकी राजनीतिज्ञहरू चुनावअगाडि नै टिकटकमा बाइटडान्सको स्वामित्व अन्त्य वा टिकटकमाथि प्रतिबन्ध चाहन्छन् । बाइटडान्सको स्वामित्व अन्त्यका लागि सेप्टेम्बरसम्म समयसीमा राखिनु चुनावकेन्द्रित नै हो । चुनावमा आफ्नाविरुद्ध टिकटक प्रयोग हुन सक्ने चिन्ता डेमोक्र्याट र रिपब्लिकन दुवैलाई छ ।

टिकटकले आफूले चाहेको भिडियो भाइरल बनाउने गरेको खुलासा भएको थियो । फोर्ब्सले ६ वटा स्रोत र कैयौं कागजात रिभ्यु गरेको दाबी गर्दै टिकटकले राजनीतिक र सांस्कृतिक लगायतका प्रभावका लागि आफूले चाहेको भिडियो भाइरल गराउने खुलासा गरेको थियो । खुलासापछि टिकटकले अमेरिका विरोधी भिडियो म्यानुअल्ली भाइरल गराउन सक्ने र प्रयोगकर्तालाई प्रभावित पारेर राजनीतिक अस्थिरता फैलाउन सक्ने चिन्ता राजनीतिज्ञले व्यक्त गर्दै आएका छन् । चिनियाँ सरकारले बाइटडान्सलाई टिकटकमा केही पोस्ट बुस्ट गर्न वा दबाउन दबाब दिन सक्ने चिन्ता व्यक्त गरिँदै आएको छ । टिकटकले चीनको आलोचना गरिएका सामग्री सेन्सर गरेको स्वीकार गरिसकेको छ भने अहिले बन्द भएको अर्को बाइटडान्स एपले अमेरिकी प्रयोगकर्ताको फिडको शीर्षमा चीन समर्थक सन्देश पिन गरेको थियो ।

हालै टिकटकले अपनाएको एउटा उपाय टिकटककै लागि घातक भएको छ । टिकटकमा प्रतिबन्ध लगाउन सक्ने बिल अमेरिकाको प्रतिनिधिसभामा पेस भएपछि टिकटकले आफ्ना प्रयोगकर्तालाई प्रभाव पारेर उक्त बिलविरुद्ध कदम चाल्न हौस्याएको थियो । करोडौं अमेरिकी प्रयोगकर्तालाई नोटिफिकेसन पठाएर टिकटकले प्रयोगकर्ताका सम्बन्धित क्षेत्रका सांसदलाई फोन गर्न र सम्बन्धित प्रतिबन्धको विरोध गर्न निर्देशन दिँदै अमेरिकी बिल रोक्न प्रयास गरेको थियो । कैयौं अमेरिकनले आफ्नो क्षेत्रका सांसदलाई फोन गर्दा फोनलाइन थेग्न नसक्ने अवस्थामा पुगेका थिए । कतिपयले सांसदहरूलाई फोन गरेर ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

बाइटडान्सको स्वामित्वबाट टिकटक अलग भए पनि अल्गोरिदमबारेमा फरक चिन्ता छ । किनभने टिकटक आफैं ती अल्गोरिदमको मालिक होइन । बाइटडान्सका लागि काम गर्ने इन्जिनियरहरूले ती अल्गोरिदम विकास गरेका हुन् । बेइजिङ, सिंगापुर र अमेरिकाको क्यालिफोर्नियामा रहेका सफ्टवेयर ल्याबहरूमा अल्गोरिदमका कोड उच्च गोप्यतामा जोडिन्छ । बाइटडान्सले अमेरिकन कम्पनीलाई टिकटक बेचेको खण्डमा बाइटडान्सका कुनै पनि अल्गोरिदमको चीनबाहिरको कम्पनीलाई इजाजत दिनु अगाडि सरकारी स्वीकृति र समीक्षा आवश्यक पर्ने चीन सरकारको नियम रहेको छ । त्यसैले त्यस्ता अल्गोरिदम बाइटडान्सले अमेरिकन कम्पनीलाई दिने सम्भावना निकै कम हुनेछ । प्रयोगकर्तालाई उनीहरूले चाहेको भिडियो हेर्ने गरी टिकटकमा बाँधेर राख्न सक्ने ती अल्गोरिदमबिना अमेरिकन कम्पनीले टिकटक किने पनि त्यसको खासै अर्थ हुने छैन । किनभने फेसबुक र इन्स्टाग्रामका त्यस्ता भिडियो अल्गोरिदमले टिकटकसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । जसले गर्दा चिनियाँ अल्गोरिदमबिना अमेरिकी कम्पनीलाई टिकटक बेच्नु टायर नभएको साइकल बेच्नुजस्तै हो ।

प्रकाशित : वैशाख ११, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?