२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बिदा सदुपयोग

मधु राई

कक्षा ७ पढ्ने नाति सोसिनलाई पोहोर वार्षिक परीक्षापछि काठमाडौं बस्ने आफन्तकहाँ पठायौं । नयाँ ठाउँ, नयाँ परिवेश । घरायसी घरधन्दामा सधैँ सघाउने नातिले जीवनोपयोगी धेरै कुरा सिकेर आयो ।

बिदा सदुपयोग

यस वर्षको वार्षिक परीक्षापछिको लामो बिदामा उसले चित्रकलाको ६ दिने अनलाइन कक्षा लियो । सोसिनसँगै कक्षा ८ को बोर्ड परीक्षा दिएकी वैष्णवी सहनी पनि चित्रकलाको अनलाइन कक्षामा सहभागी भइन् । उनले यसपालिको बिदामा दैनिकजसो मेरो विद्यालयको भित्तामा फलफूल, तरकारी र जनावरको चित्र कोरिन् ।

विराटनगर–११ स्थित एउटा पूर्वप्राविले स्थापना गरेको सरिता–इन्द्र बाल समूहमा आबद्ध सोसिन र वैष्णवीलाई चित्रकलाको अनलाइन कक्षामा सहभागी हुने अवसर जुराइदिएको हो । अभिभावकले शैक्षिक वर्षको अन्तको लामो बिदा सदुपयोगका लागि सडक पुस्तकालयसमेत चलाएका छन् । समूहमा आबद्ध विद्यार्थीले मासिक ५० रुपैयाँ बुझाएपछि बिहान–बेलुका पुस्तक पढ्ने गरेका छन् । उनीहरू घरमै पुस्तक लगेर पनि पढ्न पाउँछन् ।

विद्यालयले दिने साप्ताहिक तथा अन्य बिदामा के–के सिक्ने र सिकाउन सकिन्छ भन्ने विषयमा अधिकांश विद्यालय तथा अभिभावकले चासो चिन्ता लिने गरेको देखिँदैन । विद्यालयले पढाइलेखाइबाहेक व्यक्तित्व विकासका लागि उमेरअनुसारको सीप सिक्न र सिकाउन अभिप्रेरित गर्नुपर्ने हुन्छ । अफसोस, हामीकहाँ यस्तो अभ्यासको कमी छ ।

पछिल्लो समय राजधानीस्थित कतिपय निजी विद्यालय तथा संस्थाले बिदाका बेला विभिन्न शैक्षिक कार्यक्रम गर्दै आएका छन् । कतिपय शैक्षिक संस्थाहरूले चित्रकला, हस्तलेखन तथा उद्घोषणसम्बन्धी छोटो अवधिको अनलाइन तालिम आयोजना गर्दै आएका छन् । बहुसंख्यक शिक्षित र हुने खाने अभिभावकले समेत छोराछोरालाई अतिरिक्त सीप सिकाउन चाहँदैनन् । पछिल्लो समय अधिकांश अभिभावक छोराछोरीको पढाइलेखाइदेखि व्यक्तित्व विकास गर्ने सबै काम विद्यालयको हो भनेर ढुक्क परेका छन् । छोराछोरीको रुचि र अन्तर्निहित प्रतिभा थाहा पाउने पहिलो व्यक्ति भनेकै अभिभावक हुन् ।

किशोरावस्थाका छोराछोरीको व्यक्तित्व विकास गर्न सर्वप्रथम अतिरिक्त पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने गाँठी कुरा न शिक्षकले महसुस गरेका छन् न त अभिभावकले नै । कतिपय प्रकाशनले बालबालिकाकेन्द्रित पुस्तक ल्याइरहेका छन् । तर, बाल पुस्तकप्रति अभिभावकको उदासीनताका कारण बालबालिकासम्म ती पुस्तक पुग्न सकेका छैनन् । प्राथमिक तहदेखि नै विद्यार्थीको रुझान कुन विषयमा छ भन्ने आधारभूत कुरा शिक्षकले थाहा पाउन सके र सोहीअनुरूप विद्यार्थीले उपयुक्त वातावरण प्राप्त गर्न सके पढाइसँगै व्यक्तित्व विकासमा वृद्धि हुन्छ ।

पूर्वप्रावि तहदेखि नै विद्यालयहरूले अभिभावकलाई पाठ्यपुस्तकसँगै छोराछोरीलाई अतिरिक्त बालचित्र पुस्तक हेर्न र पढ्न अभिप्रेरित गर्न बेलाबेला अभिमुखीकरण कार्यक्रम गर्नुपर्छ । विशेष गरी अधिकांश निजी विद्यालयमा अंग्रेजी भाषाकै बोलवाला हुन्छ । यस्तो अवस्थामा नेपाली भाषाका बाल चित्रकथाका पुस्तक सहयोगी बन्न सक्छन् । बिदाका दिन अतिरिक्त पुस्तक पढ्न, सीप सिक्न र सिकाउन अभिभावकले उत्प्रेेरकको भूमिका निर्वाह गर्न जरुरी छ । विद्यार्थीमा देखिएको मानसिक विचलनले सामाजिक समस्या बढ्दै गएका छन् । यस्ता विचलनकै कारण कोही उमेर नपुगी प्रेमविवाह गर्छन् । कोही कुलतमा फस्छन् भने कोही घरभन्दा बाहिर साथीभाइसँग बढी समय बिताउन चाहन्छन् । यसको प्रमुख कारण विद्यालय र शिक्षकले विद्यार्थीको रुचि र उनीहरूमा भएको अन्तर्निहित प्रतिभा थाहा नपाई कोरा शिक्षा बाँड्नु हो । भाषा शिक्षक अर्थात् नेपाली र अंग्रेजी शिक्षकले पढाइ रुचिकर बनाउन तथा शब्द भण्डार बढाउन पनि अतिरिक्त पुस्तक पढ्नुपर्छ । यसका लागि कम्तीमा साताको एक दिन पुस्तकालय कक्षा अनिवार्य सञ्चालन गर्न जरुरी छ ।

प्रकाशित : वैशाख ११, २०८१ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?