२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कतारी अमिरको भ्रमण र अपेक्षा 

वैदेशिक रोजगारबाट फर्कनेलाई उद्यमी बनाउन भेन्चर क्यापिटलको स्थापनाका साथै यहाँको साहसिक पर्यटकीय गन्तव्यमा कतारी नागरिकलाई भ्रमण गराउन सरकारले विशेष नीति लिनु आवश्यक छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । सन् २००० मा कतारमा नेपालको दूतावास खुलेको थियो भने कतारले सन् २०११ मा दूतावास स्थापना गर्‍यो । तत्कालीन राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारीबाट कतारको भ्रमण भइसकेको छ ।

कतारी अमिरको भ्रमण र अपेक्षा 

कतारसँग कूटनीतिक सम्बन्ध गाँसिएपछि नेपालबाट उच्च स्तरको भ्रमण भए पनि कतारको तर्फबाट भने अहिलेसम्म भएको थिएन । कतारबाट मात्र नभएर मध्यपूर्वका देशबाटै नेपालमा उच्च स्तरको भ्रमण भएको थिएन । यसैबीच, सरकारले गर्न लागेको लगानी सम्मेलन अगाडि वैशाख ११–१२ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमण हुन लागेको छ । कतारका अमिरको भ्रमणले नेपालमा मध्यपूर्वको उच्च स्तरको भ्रमणलाई बढाउन सकिने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो तीन दशकमा प्राकृतिक स्रोतको प्रयोग गरेर क्षेत्रफलका आधारमा सानो कतारले आफूलाई विकसित शक्ति राष्ट्रका रूपमा उभ्याउन सफल भएको छ । अमिर परिवारको भिजनकारी सोच र कार्यसम्पादनले कतार यो अवस्थामा पुगेको हो । सन् २०१३ देखि कतारका अमिर बनेका अल थानीको नेतृत्वमा सन् २०२२ मा विश्वकपको सफल आयोजना सम्भव भयो । कतारले विश्वकपको तयारीका लागि पूर्वाधारको काम गर्दा छिमेकी देशबाट नाकाबन्दीको सामना गर्नुपरेको थियो । त्यही बेला नेपालमा संविधान जारी भएपछि छिमेकी देशबाट नाकाबन्दी भयो । प्राकृतिक ग्यासको निर्यात गर्ने कतारले सन् २०१७ सम्म आवश्यक पर्ने डेरी प्रोडक्टहरू छिमेकी देशबाट आयात गर्ने गरेको थियो । सन् २०१७ को नाकाबन्दीपछि आवश्यक पर्ने खानेकुरामा आत्मनिर्भर बन्ने नीति लियो । जसको सफल उदाहरणका लागि कतारी दुग्ध उत्पादक कम्पनी ‘बल्दना’ लाई लिन सकिन्छ । जसले कतारलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर मात्र बनाएको छैन कतारबाट निर्यातसमेत सुरु गरेको छ । कतारको दुग्धजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको बजार भ्यालुएसन मात्र नेपाली रुपैयाँ ८० अर्बजति छ । २० वर्षदेखि कतार बसेको र व्यवसाय गरेको आधारमा कतारमा व्यवसाय गर्न निकै सजिलो भएको अनुभव आफैंले पनि गरेको छु ।

कतार नेपालीका लागि प्रमुख श्रम गन्तव्य हो । कतारबाट वार्षिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । कतारमा ३ लाख ५० हजार नेपाली रोजगारी तथा पेसा व्यवसायमा छन् । कतारको विकासमा नेपालीहरूले ठूलो भूमिका निर्वाह गरेका छन्, जुन कतारी सरकारी निकायलाई पनि अवगत छ । कतारका अमिर अल थानीको भ्रमणका क्रममा नेपाल सरकारले कतारको रोजगारीबाट फर्केका नेपालीलाई उनीहरूले सिकेको सीप र ज्ञानलाई उद्यमशीलतामा लग्नका लागि भेन्चर क्यापिटल कम्पनी कतारी लगानीमा स्थापना गर्नका लागि पहल गर्नुपर्छ । कम्तीमा पनि १० अर्ब रुपैयाँ लगानीमा कम्पनी स्थापना भए कतारमा सीप र ज्ञान सिकेका नेपालीले स्वदेशमै उद्यमशीलता बढाउन सक्ने थिए ।

विश्वकप आयोजना गरेर कतारले आफूलाई पर्यटक आकर्षक गर्न सकिने देशका रूपमा चिनाइसकेको छ । आफूलाई चाहिने दक्ष कामदारका लागि कतारले आफ्नै लगानीमा नेपालमा तालिम केन्द्र, टेक्निकल कलेज खोल्न पहल गर्नुपर्ने अर्को आवश्यकता हो । कतारको अर्थतन्त्रको मुख्य आधार तेल र ग्यास हो । कतारले पाएको अर्को सफलता भनेको वायुसेवा व्यवसाय हो । कतार एयरवेज विश्वको सफल विमान कम्पनीका रूपमा चिनिन्छ । कतार एयरवेजले दोहा–काठमाडौं उडान गर्दै आएको छ । कम्तीमा पोखरा र भैरहवा नभए कुनै एक विमानस्थलमा नियमित उडानका लागि नेपालले कतार एयरलाइन्सलाई विशेष अनुरोध गर्नुपर्छ । कतारले बजेट एयरमा समेत फोकस गर्ने नीति लिने तयारी छ । अर्को रणनीतिक योजनाअन्तर्गत नेपाल वायुसेवा निगममा कतार एयरवेजलाई रणनीतिक साझेदारका लागि ल्याउन सकिने सम्भावना पनि छ ।

कतार पर्यटन बोर्डले अहिले विश्वमा आफ्नो लगानीमा पाँचतारे होटल बनाइरहेको छ । यसका लागि नेपाल पनि गन्तव्यमा पर्न सक्छ । इन्भेस्टमेन्ट अथोरिटीसँग सम्झौता गरेर अगाडि बढ्न सकिन्छ । त्यसपछि कतारका कम्पनीलाई नेपालमा लगानी भित्र्याउन सजिलो हुनेछ । विश्वभर कतारी नागरिक बढी खर्च गर्ने पर्यटकका रूपमा चिनिन्छन् । नेपालका साहसिक पर्यटन गन्तव्यमा कतारी नागरिकलाई भ्रमण गराउन सरकारले विशेष नीति लिनु आवश्यक छ । यहाँबाट सगरमाथा आरोहण गर्ने टोलीलाई सम्मानस्वरूप पर्यटन दूतका लागि अनुरोध गर्ने र कतारी बजारमा प्रचार गर्ने काम गर्नुपर्छ । यस्तै, कतारी निकायहरूमा नेपाली श्रमिकको सहजताका लागि खास गरेर अस्पतालहरूमा नेपाली स्वास्थ्यकर्मी लैजाने नीति लिनुपर्छ । कतार सरकारको लगानीमा स्थापना भएको कतार इन्भेस्टमेन्ट अथोरिटीले युरोप र अमेरिकामा लगानी बढाउँदै गएको छ । ४७५ अर्ब अमेरिकी डलर सम्पत्ति व्यवस्थापन उक्त कम्पनीले गरेको छ । लन्डनको हिथ्रो विमानस्थलमा २० प्रतिशत सेयर अहिले कतारी कम्पनीको छ । नेपालमा विमानस्थल तयार भए पनि पोखरा र भैरहवा विमानस्थल चल्न सकेका छैनन् ।

नेपालमा लगानी बढाउने उद्देश्यले कतार र नेपालबीच दोहोरो कर नलाग्ने सम्झौता (डीटीए) भइसकेको छ । नेपालमा लगानी बढाउने उद्देश्यले कतारको ठूलो मानिएको दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय सन् २०१८ देखि खुलिसकेको छ । कतारका अमिरको भ्रमणमा नेपालले अल्पकालीन र दीर्घकालीन योजना बनाएर लगानीका प्रस्ताव अगाडि सार्नुपर्छ । अल्पकालीन योजनामा वैदेशिक रोजगारबाट फर्कनेलाई उद्यमी बनाउन भेन्चर क्यापिटलको स्थापना, कतारले खोजेअनुसारको जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापना पर्छन् । दीर्घकालीन लगानीका लागि कतारी लगानीकर्तालाई नेपालको जलविद्युत्, पूर्वाधार तथा पर्यटन क्षेत्रमा आकर्षण गर्न सकिन्छ । यसबाहेक कतारले पछिल्लो वर्ष डेरी उद्योगमा गरेको सफलताको प्रयोग नेपालमा गर्न सकिन्छ । दीर्घकालीन रूपमा कतारी कम्पनीहरूले हाइड्रोजन ऊर्जामा लगानी गर्ने इच्छा राखेका छन् । कुनै एउटा जलविद्युत् आयोजना पाइलट प्रोजेक्टका रूपमा लगानी गर्नका लागि कतारलाई अनुरोध गर्नुपर्ने हुन्छ ।

विद्यालय शिक्षामै व्यावसायिक शिक्षालाई जोड दिने साथै प्लस टुसम्मको सीपमूलक शिक्षा लिएपछि मात्र वैदेशिक रोजगारमा जान सरकारले प्रोत्साहन गर्नुपर्छ । शिक्षा, तालिम र सीपलाई जोडेर मात्रै हामीले रोजगारी सिर्जना गर्न सक्छौं । यसका लागि संघीय सरकारले मात्रै होइन, प्रदेश सरकारहरूले पनि पहल गर्नुपर्छ । कतार नेपालको भरपर्दो मित्र हो ।

विश्वव्यापी आर्थिक संकट गहिरिँदै जाँदा कतारबाट नेपालले लगानी प्रवर्द्धनमा अपेक्षा गर्नु स्वाभाविक हो । साथसाथै जलवायु परिवर्तन लगायतका विषयविरुद्ध नेपाल र कतारले सँगै काम गर्न सक्छन् । हालै कतारमा अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । अल्पविकसित मुलुकहरूको वर्तमान अध्यक्षको नाताले पनि नेपालले अल्पविकसित मुलुकको उत्पादनशील क्षमता अभिवृद्धि गर्न कतारसँग कुराकानी गर्नुपर्छ । अहिले कतार स्वास्थ्य कारखानाका लागि राम्रो बजार हो । नेपालका पहाडी र हिमाली भेगमा उत्पादित अलैंची, दाल, कोदो, फापर, फलफूल र महमात्रै होइन कृषिजन्य सामग्री र पानीसमेत कतारलाई बेच्ने सम्भावना हामीसँग छ । नेपाल र कतारबीच द्विपक्षीय व्यापार भने खासै हुने गरेको छैन । कतार–नेपालबीचको व्यापारको कुरा गर्दा यो परिमाण नेपालको कुल वैदेशिक व्यापारको १ प्रतिशतभन्दा कम छ । गत आर्थिक वर्षमा नेपालले १६ खर्बको आयात गर्दा १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । कतारबाट नेपालमा १३ अर्ब ३० अर्ब रुपैयाँको आयात हुँदा ११ करोड निर्यात भएको छ । नेपालको निर्यात बढाउन कतारमा भन्सार सहुलियत दिने योजना अगाडि बढाएमा नेपालको निर्यात कतारमा बढ्न सक्छ । मुख्यतः नेपालको अर्गानिक कृषि वस्तुको बजार कतार हुन सक्छ ।

प्रकाशित : वैशाख ७, २०८१ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?