टोफल परीक्षा अष्ट्रेलियाका लागि मान्य
काठमाडौँ — टोफल आईबीटीको अंक अब सबै अष्ट्रेलियाली भिसाका लागि मान्य हुने भएको छ । विश्वव्यापी रुपमा टोफल परीक्षा संचालन गर्ने ईटीएसका अनुसार ५ मे, २०२४ देखि अष्ट्रेलियामा अध्ययन गर्न, काम गर्न वा बसाइँ सर्न चाहने व्यक्तिहरूले टोफल परीक्षाको अंक प्राप्त गरेर भिसा आवेदन दिन सक्नेछन् ।
टोफल आईबीटी परीक्षा अन्तर्राष्ट्रिय रुपमा अंग्रेजी दक्षता प्रमाणित गर्ने एक माध्यम हो । टोफल आईबीटी, अङ्ग्रेजी भाषामा शैक्षिक दक्षता प्रमाणित गर्ने सबैभन्दा रुचाइएको परीक्षण प्रणाली हो र यसलाई अस्ट्रेलियाका १००% विश्वविद्यालयहरू र विश्वभरका १६० देशहरूमा १२,५०० भन्दा बढी संस्थाहरूद्वारा स्वीकार गरेका छन् । टोफल आईबीटी परीक्षालाई मान्यता दिनका लागि गत वर्ष टोफल आईबीटीमा गरिएका परिवर्तनहरू पछि, अष्ट्रेलियाको गृह मामिला विभाग (डीएचए)ले समीक्षा गरेको थियो ।
'ईटीएसमा, हामी विश्व-स्तरीय मूल्यांकनमार्फत विश्वव्यापी उच्च शिक्षा र गतिशीलतालाई सहज बनाउन प्रतिबद्ध छौं । अस्ट्रेलिया नेपाली विद्यार्थी तथा पेसाकर्मीहरूले रुचाएको स्थान हो । सन् २०२३ मा ५३,००० भन्दा बढी नेपाली विद्यार्थी तथा पेसाकर्मीहरू अस्ट्रेलियाका विश्वविद्यालय तथा पेसामा आवद्ध भएका थिए,' ईटीएस भारत र दक्षिण एशियाका कन्ट्री म्यानेजर सचिन जैनले भने, 'अष्ट्रेलियाले विश्वस्तरको उच्च शिक्षा र अध्ययन पछि काम गर्ने अवसर प्रदान गर्दछ, क्यूएस विश्व विश्वविद्यालय र्यांकिङमा उल्लेख गरिएका १०० विश्वविद्यालयहरू मध्ये ९ विश्वविद्यालयहरू अष्ट्रेलियाका छन् ।'
उनका अनुसार टोफल आईबीटी परीक्षणको मान्यतासँगै, ईटीएसले अष्ट्रेलियामा शैक्षिक अवसरहरू खोज्ने विद्यार्थी तथा दक्ष कामदारहरूलाई विश्वमा सबैभन्दा व्यापक रूपमा स्वीकृत अंग्रेजी परीक्षण प्रणाली टोफल आईबीटीमार्फत सहयोग गर्नेछ।
यस्तै नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष शेषराज भट्टराईका अनुसार अष्ट्रेलियाको भिसा आवेदनका लागि टोफल आईबीटी स्वीकृत हुनु सुखद समाचार हो। 'मलाई लाग्छ यो स्वीकृतिले नेपाली विद्यार्थीको अष्ट्रेलियामा अध्ययन गर्ने पहुँच मात्र बढाउँदैन, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने अष्ट्रेलियाको प्रतिबद्धतालाई पनि आत्मसात गर्छ ।
चीन र भारतपछि अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने तेस्रो ठूलो देश नेपाल हो,' उनले भने, 'टोफल आईबीटीको विश्वव्यापी मान्यता र विश्वसनीयताले विश्वभरका विद्यार्थी र पेसाकर्मीहरूका लागि अंग्रेजी परीक्षणको भरपर्दो उपायका रूपमा यसको महत्त्वलाई अझ बलियो बनाउँछ।'
इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आईरिन)का अध्यक्ष हेमन्त भट्टराईका अनुसार भिसा उद्देश्यका लागि अष्ट्रेलियाले टोफल आईबीटीलाई मान्यता दिनु नेपाली विद्यार्थी र विदेशमा पेशा विकासका अवसरहरू खोज्नेहरूका लागि महत्वपूर्ण विकास हो । 'विश्वव्यापी रूपमा प्रख्यात संस्थानहरू र विश्वविद्यालयहरू रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उच्च शिक्षा र अध्ययन पछि काम गर्ने अवसरहरू प्रदान गर्दछ।
नेपालीहरू अष्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको अन्तर्राष्ट्रिय समुदायहरू मध्ये एक हो,' उनले भने, 'यो विकासले नेपाली विद्यार्थी र दक्ष कामदारहरूका लागि विश्वमा सबैभन्दा बढी स्वीकृती प्राप्त अङ्ग्रेजी परीक्षा टोफल आईबीटी दिएर अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने ढोका खोल्छ।'