कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

रायबरेली कांग्रेस नेता सोनिया गान्धी सन् २००४ यता लगातार निर्वाचित हुँदै आएको क्षेत्र हो 

काठमाडौँ — भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । वायनाडमा अप्रिल २६ मा मतदान भइसकेको छ ।

कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

उत्तर प्रदेशका रायबरेली र अमेठी निकै चासोका साथ हेरिएका क्षेत्र हुन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय चुनाव समिति बैठकले रायबरेलीमा राहुल गान्धी र अमेठीमा किशोरीलाल शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव केसी वेणुगोपालले जनाएका छन् ।

राहुल गान्धी पहिलो पटक रायबरेलीबाट उम्मेदवार बन्न लागेका हुन् । यसअघि उनी उत्तर प्रदेशको अमेठीबाट ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४,२००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् । राहुल केरलको वायनाडबाट भने विजयी भएका थिए । यसपटक पनि भाजपाले अमेठीमा स्मृति इरानीलाई नै उम्मेदवार बनाएको छ ।

अमेठी यस्तो क्षेत्र हो जहाँ वर्षौंदेखि गान्धी परिवारका सदस्य चुनाव लड्दै आएका छन् । सन् १९९९ पछि पहिलो पटक अमेठीमा गान्धी परिवारबाहिरबाट कांग्रेसले उम्मेदवार बनाएको छ । किशोरीलाल करिब ४ दशकदेखि कांग्रेसमा आबद्ध छन् । एनडीटीभीका अनुसार शर्मा गान्धी परिवारको अत्यन्तै निकट व्यक्ति हुन् । उनी पूर्वप्रधानमन्त्री राजीव गान्धीका करिबीसमेत मानिन्थे । सन् १९९९ मा सोनिया गान्धीलाई अमेठीमा जिताउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

रायबरेली क्षेत्रमा भने सोनिया गान्धी सन् २००४ यता लगातार जित्दै आएकी छिन् । यसपटक उक्त क्षेत्रमा कांग्रेसले प्रियंका गान्धीलाई उठाउने अनुमान गरिएको थियो । तर कांग्रेसले उक्त क्षेत्रमा राहुललाई नै उम्मेदवार बनाएको हो । सन् २०१९ मा सोनियाले रायबरेलीमा भाजपाका दिनेशप्रताप सिंहलाई १ लाख ६७ हजार मतान्तरले हराएकी थिइन् । भाजपाले यस पटक पनि सिंहलाई नै उम्मेदवार बनाएको छ ।

सिंहले सोनियासँगको मतान्तर घटाएको भन्दै भाजपाले टिकट दिएको हो । त्यसअघि सोनिया फराकिलो मतान्तरसहित विजयी हुँदै आएकी थिइन् । सन् २०१४ को चुनावमा सोनियाले ३ लाख ५२ हजार मतान्तरले भाजपा उम्मेदवार अजय अग्रवाललाई हराएकी थिइन् । अमेठी र रायबरेलीमा ५औं चरणअन्तर्गत आगामी मे २० मा मतदान हुँदै छ ।

भारतमा १८औं लोकसभा चुनावअन्तर्गत २ चरणका मतदान भइसकेका छन् । तेस्रो चरणअन्तर्गत मे ७ मा १२ राज्यका ९४ क्षेत्रमा मतदान हुँदैछ । २५ मेमा छैटौं र जुन १ मा अन्तिम चरणको मतदान सम्पन्न भएपछि जुन ४ मा मतगणना हुनेछ ।

प्रकाशित : वैशाख २१, २०८१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?