कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

एक सातामै मधेशका ३ जिल्लाका २७७ घर जले

पीडितलाई राहत र उद्धारमा ढिलाइ हुँदा प्रभावितको जीवन थप कष्टकर बन्दै

सर्लाही — एक सातामा मधेश प्रदेशका तीन जिल्लाका तीनवटा बस्तीमा आगलागी हुँदा २ सय ७७ घर जलेर नष्ट भएका छन् । गएको १३ वैशाखदेखि २० सम्म लागेको आगलागीमा परी ती घर जलेका हुन् ।

एक सातामै मधेशका ३ जिल्लाका २७७ घर जले

१३ वैशाखमा महोत्तरीको मटिहानी–६ जरलहवाको बस्तीमा आगलागी हुँदा १ सय १० घर जलेर खरानी भएका थिए भने यसको साता दिन नबित्दै गत वैशाख १९ मा सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा भएको आगलागीमा १ सय १० घरमा क्षति पुग्यो भने त्यसको भोलिपल्टै सर्लाहीको विष्णु गाउँपालिका–१ बाराउधोरणस्थित पुर्वारी टोलमा आगलागीबाट ५७ घर पूर्ण रूपमा जलेर खरानी भए । स्थानीय प्रशासनका अनुसार आगलागीबाट कम्तीमा २ करोड १५ लाखभन्दा बढीको आर्थिक क्षति भएको छ ।

मटिहानी र चिमटीमा जस्तै पुर्वारी टोलका आगलागी पीडितहरू पनि बिहीबारदेखि त्रिपालमुनि रात गुजार्नुपर्ने स्थितिमा पुगेका छन् । आगलागीको भोलिपल्ट पूर्वारी टोल पुग्दा जलेका सामग्री छरपस्ट थिए । घरसँगै ५ महिनाको मिहिनेतबाट खेतमा उब्जाएको गहुँसहित बारीमा उब्जाएको प्याजसमेत जलेर खरानी भएको चिन्ताले ५६ वर्षीया गीतादेवी राउत चिन्तित थिइन् । तैपनि उनी केही जल्न बाँकी छ कि भन्ने आशाले खरानी खोस्रिँदै थिइन् । उनले घरमा पालेका २ बाख्रा र त्यसका दुई पाठापाठीसमेत जलेर खरानी भएको बताइन् । ‘४ छोरा–बुहारीसहित १८ जना नाति–नातिनाको परिवारको पालनपोषण अब कसरी गर्ने ?’ उनको प्रश्न छ ।

राउतका ४ छोरा रोजगारीका लागि मुलुकबाहिर छन् । छोराहरू छुट्टी भिन्न भए पनि बुहारी, नातिनातिनाको रेखदेखको सबै जिम्मा उनकै काँधमा छ । ‘अचानक लागेको आगलागी घरहरूमा फैलिँदै गयो, आफूसहित बुहारी र नातिनातिनालाई बाहिर ल्याएँ, तर घरबाट सरसामान भने निकाल्न पाइनँ,’ उनले भनिन्, ‘आगोको मुस्लो र ग्यास सिलिन्डरका डरले हामीले भागेर ज्यान जोगायौं, तर अब बाँकी केही पनि रहेन ।’

आठ महिनाकी गर्भवती राधा राउतलाई घरसँगै जलेको १ लाख नगदको चिन्ताले सताएको छ । सुत्केरी उतार्नका लागि उनले सरसपाट गरेर यति पैसा जम्मा गरेकी थिइन् । ‘म गर्भवती हुँ, दौडिन सक्ने अवस्था छैन, घरमा अभिभावक पनि छैनन्, खाना खान पनि समस्या भइरहेको छ,’ उनले भनिन्, ‘मलाई त्यो भीडमा उभिन पनि गाह्रो भइरहेका बेला तिम्रो नाम छैन भनेर केही दिँदैनन्, अब नाम लेखाउन म कहाँ कहाँ जाऊँ ? घर जलेको र किस्ताको रुपैयाँ जलेको पीडाबीच पेटमा रहेको बच्चा कसरी हुर्काउने भन्ने चिन्ता लागिरहेको छ ।’

बिहीबार दिउँसोबाट लागेको आगलागी साँझ अबेर रातिमात्र नियन्त्रणमा आएको थियो । आगलागी पीडितहरू बिहीबार राति अनिँदै भए । गाउँपालिकाले स्थानीय विद्यालयमा पीडितका लागि खानाको प्रबन्ध मिलाए पनि धेरैजसो पीडितले छटपटी र चिन्ताले केही खान सकेनन् । त्रिपाल ओछ्याएर खुला आकाशमुनि रात काटेका उनीहरू शुक्रबार दिउँसोदेखि पालको जोहोमा लागेका छन् । दिउँसोको प्रचण्ड गर्मीमा बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी र बिरामीलाई कसरी जोगाउने भन्ने अर्को चिन्ता उनीहरूमा देखिन्छ ।

स्थानीय शत्रुधन राउतको घरबाट सुरु भएको आगलागीमा उनको घरमा राखिएको सिलिन्डर पड्किएपछि घर–घरमा आगो फैलिएको थियो । त्यसपछि थप ६ घरको सिलिन्डर विस्फोट भएर आगलागी नियन्त्रणबाहिर पुगेको हो । भीषण आगलागीका कारण शरीरमा लगाएको लुगाबाहेक केही पनि जोगाउन नसकिएको पीडितहरूले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले आगलागीजस्ता विपद्को समयमा गाउँपालिकाले दुई छाक खानाको प्रबन्ध मिलाएको बताए । उनले विभिन्न दातृ निकायसँग विपद्को घडीमा सहयोग गर्न आग्रह गरिरहेको जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिले आगलागी पीडितका लागि तत्कालीन रूपमा त्रिपाल र रेडक्रसको लुगा र भाँडाकुँडाको सेट वितरण गरेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

आगलागी पीडितका लागि आवास पुनर्निर्माणका लागि तीन तहकै सरकारको सहभागितामा ३ लाख रुपैयाँसम्मको अनुदानको समेत व्यवस्था रहेको जनाउँदै प्रजिअ धमलाले यसका लागि वडामा फाराम भरी केन्द्रमा पठाउँदा पुनर्निर्माणका लागि रकम उपलब्ध हुन सक्ने बताए ।

प्रकाशित : वैशाख २२, २०८१ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?