कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मरणोपरान्त मार्खेज

‘अन्टिल अगस्ट’ पढेपछि बोध हुन्छ– सिकारु कलाकारको पूर्ण कलाभन्दा सिद्धहस्त कलाकारको अपूर्ण कला प्रभावी हुन्छ
शंकर तिवारी

सन् २०२४ मार्चमा प्रकाशित ‘अन्टिल अगस्ट’ लेखक गाब्रिएल गार्सिया मार्खेजको मरणोपरान्त उपन्यास हो । सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका मार्खेजको सन् २००५ मा छापिएको ‘मेमोरिज अफ माई मेलनकोली होर्स’ उनकै जीवनकालमा प्रकाशित अन्तिम उपन्यास थियो । 

मरणोपरान्त मार्खेज

‘अन्टिल अगस्ट’ को पहिलो खण्ड मार्खेजले निकै वर्षपहिले साहित्यिक समारोहमा वाचन गरेर ‘न्युयोर्कर’ लगायत पत्रिकामा छपाइसकेका थिए । मार्खेजको निधनपश्चात् यो सानो उपन्यासीका छाप्ने कि नछाप्ने निर्णय गर्न उनको परिवारलाई सकस पर्‍यो । अन्तत: उनीहरूले छाप्ने निर्णय गरे । उपन्यासको आधिकारिकता वा वैधतामा विवाद नहोस् भनेर अनुवादक र परिवारका सदस्यले चनाखो भएर स्पष्टीकरण दिएका छन् । आधिकारिकताको आशंका छिचोल्न सहज होस् भनेर स्पेनिश पाण्डुलिपिका चार पेज अनि पाण्डुलिपिको गातासमेत उपन्यासको सुरु र अन्त्यमा छापिएको छ । नेपालमा सन् १९९० को दसकदेखि मार्खेजले टेक्स्ट बुकमा प्रवेश पाए, ‘द हेरिटेज अफ वर्ल्ड’ मार्फत । प्रवीणता प्रमाण पत्र तह अर्थात् प्लस टुमा अनिवार्य अंग्र्रेजी पाठका रूपमा उनको कालजयी उपन्यासको अंश अहिले पनि पढाइ हुन्छ । नारायण ढकालका मार्खेजबारेको टिप्पणी ‘शोकमग्न यात्री’ र ‘अन्तिम पात’ निबन्ध पढेकाले नबिर्सिसकेको हुनुपर्छ ।

मार्खेज पढेर त्यही अन्दाजमा लेख्न सक्ने कोटिका साहित्यिक हुन्, कुमार नगरकोटी । उनको पछिल्लो पुस्तक ‘जोगियाना’ मा मार्खेजबारे गजबको लेखनी छ, विशेष उनको ‘वेश्या’ हरूसँगको अनिन्ध आकर्षणबारे । उनले मार्खेज बितेको वर्ष आफ्नो बुवाको श्राद्ध गर्दा पूर्वजका रूपमा मार्खेजको पनि नाम बताएको उल्लेख गरेका छन् । नगरकोटी लेख्छन्– मेरा पूर्वजको सूचीमा मार्खेजको जस्तो नाम–थर भएको कोही नभएको भन्दै पुरेतले प्रतिप्रश्न गरे । म एउटा साहित्यिक, मलाई उनी औधी मन पर्छन्, साहित्यका मेरा पिताजी सरह । अनि उनी बितेर गएपछि मैले उनको पनि श्राद्ध गर्नुपरेन त ! २० औं शताब्दीमा उपन्यास लेखनमा कायम रहेको युरोपियन दबदबालाई मार्खेजले यसरी हल्लाइदिए कि त्यसपछि उपन्यास लेखनको शैली नै बदलियो । सलमान रुस्दीले उनलाई चार्ल्स डिकेन्स यता सर्वाधिक पढिएको र रुचाइएको उपन्यासकारको उपमा दिएका छन् । फिडेल क्यास्ट्रोसँग लेखकीय दोस्ती रहेका मार्खेजको साहित्य आफूले पढेको अमेरिकी राष्ट्रपतिहरू बाराक ओबामादेखि बिल क्लिन्टनसम्मले सार्वजनिक रूपमा बताएका छन् ।

‘वान हन्ड्रेड एअर्स अफ सोलिच्युड’ लाई म्याजिकल रियालिज्मको बाइबल मान्नेहरूको कमी छैन । संसारैभर फैलिएका बनिबनाउ पाठकको जमात उनले सिर्जने क्यारेबियन द्वीपका टापु र तलाउहरूको सुन्दर प्राकृतिक वर्णन, त्यही परिवेशमा मानवीय संवेदनालाई माया–घृणा–धोकाका अनेकन रसमा घोलेर पेस गर्ने उनको जादुई शैलीको फ्यान छन् ।

‘अन्टिल अगस्ट’ को अन्तिमतिरको खण्ड यही उपन्यासको सुरुवातजत्तिकै दमदार छैन । यसको मध्यसम्मको प्लटले पाठकलाई मन्त्रमुग्ध पारिसकेको हुन्छ । यो उपन्यासमा मार्खेजले पहिलो पटक महिला पात्रलाई नायिकाको स्थानमा राखेका छन् । उनका अरू उपन्यासमा यस्तो हक पुरुषहरूले मात्रै जमाउँथे । आफ्नी आमाको तिथिमा उनको चिहानमा फूल चढाउन प्रत्येक वर्ष अगस्ट महिनामा जानु यो उपन्यासको नायिकाको वार्षिक नियमित हुन्छ । आठ वर्षसम्म त्यस्तो कुनै घटना घट्दैन, तर यो उपन्यास सुरु भएको वर्ष भने विशेष घटना घट्छ । नवौं वर्षदेखि आमाको चिहान भएको टापु पुग्दा र त्यहाँका होटलहरूमा बास बस्दा प्रत्येक साल उनको अलग–अलग पुरुषसँग सम्पर्क स्थापित हुन्छ । हरेक साल नयाँ पुरुषसँग संसर्ग हुँदा उनको विवाहित जीवन–इतरको सम्बन्धका रहस्य र आयाम उद्घाटित हुँदै जान्छन् । त्यसकारण व्यावसायिक रूपमा धेरै घुमी हिँड्नुपर्ने उनको २७ वर्षदेखिको लोग्नेप्रति अविश्वास बढ्छ । उपन्यास यसरी अगाडि बढ्छ । ती दम्पतीका छोरा र छोरीको परस्परविरोधी व्यक्तित्व र रुचि पनि उपन्यासमा आएका छन् ।

उपन्यासको नायिकाको नाम अन्ना माग्दलेना वाच हो । माग्दलेना मार्खेजले बाल्यकालमा स्कुल जाँदा नित्य पार गर्नुपर्ने नदीको नाम हो । यो नदीको प्रसंग मार्खेजको उपन्यास ‘द जनरल इन हिज लेबरिन्थ’ मा आएको थियो । त्यस्तै ‘लभ इन द टाइम अफ कोलेरा’ का वृद्ध प्रेमीहरूको मिलन पनि त्यही नदी तटमा हुन्छ । यसले देखाउँछ पात्रको नाम चयनमा समेत उनी आफ्ना बाल्यकालीन स्मृतिदंशको बारम्बार उपयोग गरिरहेका हुन्छन् । यसरी उनी पाठकलाई आफ्ना पुराना उपन्यासका पात्र र परिवेशसँग जोड्छन् । सिद्धहस्त लेखकको पात्रले पनि नाम चयनदेखि उपन्यासको परिवेशमा सूक्ष्म, तर प्रभावकारी रूपमा कार्य गरिरहेका हुन्छन् भन्ने कुराको यो गजब उदाहरण हो ।

भर्खर–भर्खर इजरायलले राज्यको आकार ग्रहण गरेको समयको परिवेशमा लेखिएको बीपी कोइरालाको ‘हिटलर र यहुदी’ अपूर्ण उपन्यास मानिन्छ, तर त्यो पढ्नुको मज्जा आज इजरायल–प्यालेस्टाइन द्वन्द्वका बेला पनि उस्तै प्रभाव उत्तेजक छ । विश्व साहित्यमा रुचि राख्ने नेपाली पाठकका लागि मार्खेजले नौला क्यारिबियन टापुहरूमा बुनेको स्वतन्त्रता, पश्चाताप र प्रेमिल रहस्यहरूको तिलस्मी चित्रणको आनन्द लिने कार्यमा ‘अन्टिल अगस्ट’ ले निराश भने पार्दैन ।

फ्रान्ज काफ्काले आफ्ना अप्रकाशित रचना नष्ट गर्न गरेको आग्रह परिवारले मानेको भए ‘द ट्रायल’ जस्तो कृतिबाट विश्वसाहित्य विमुख हुनेरहेछ । ७७ वर्षको उमेरमा सन् २००४ मा मार्खेजले यो उपन्यासमाथि अन्तिम पुनर्लेखन गरेको देखिन्छ । र, त्यति नै बेला उनले छोराहरूलाई ‘यो पुस्तकले काम गर्दैन, यसलाई नष्ट गर्नुपर्छ’ भनेका थिए । अब उनको इच्छा विपरीतै सही, यो उपन्यास पाठकको हातमा संसारैभर पुगेको छ । बिस्तारै पाठकले ‘यो छापिनु उचित नै थियो’ भन्ने सावित गरेका छन् ।

‘अन्टिल अगस्ट’ प्रति पाठक जमातको अपनत्वले दिएको सन्देश के हो भने सिकारु कलाकारको पूर्ण कलाभन्दा सिद्धहस्त कलाकारको अपूर्ण कला नै ज्यादा प्रभावी हुन्छ । अब साहित्यका जोकोही पाठक मार्खेजको अन्तिम उपन्यास पढेर उनको अपूर्ण कलाको भरपूर आनन्द लिन सक्छन् ।

प्रकाशित : वैशाख २२, २०८१ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?