कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

दीपाश्री : साथी, सबैभन्दा माथि

पेसागत जीवन होस् वा सामाजिक परिवेश, हामी सबैको कसै न कसैसँग खास सम्बन्ध हुन्छ– खास दृष्टिकोणसहित । व्यक्तिमाथिको दृष्टिकोण आफैंले देखेको र अनुभव गरेको आधारमा तय हुन्छ, जसलाई संसारको अन्य दृष्टिकोणले फेरबदल गर्न सक्दैन । ‘समदृष्टि’ त्यही स्तम्भ हो, जहाँ एकको दृष्टिमा अर्कोको जीवन–चित्र लेखिनेछ ।
दीपकराज गिरी

विसं २०५० को आसपासतिर दीपाश्री निरौलासँग मेरो भेट जुराइदियो– रेडियो नेपालले । उहाँ नाटकका लागि रेडियो नेपाल आउनुहुन्थ्यो, म पनि नाटककै लागि त्यहाँ पुगिरहन्थें । हाम्रो पहिलो पटक त्यहीँ देखादेख भयो ।

दीपाश्री : साथी, सबैभन्दा माथि

त्यसअघि मैले उहाँलाई नेपाल टेलिभिजनको ‘अग्निपथ’ भन्ने सिरियलमा देखेको थिएँ । त्यतिबेला सिरियलसँगै दीपाजी हिट हुनुभयो । त्यो चर्चाले उहाँलाई काठमाडौंमा बस्ने आँट दिलायो । रेडियो नेपालमा नाटक गर्दा उहाँ ‘ए’ श्रेणीको कलाकारमा पर्नुहुन्थ्यो, म ‘सी’ तिर पर्थें । यस हिसाबले हाम्रो साथी समूहलाई उहाँदेखि ईर्ष्या पनि लाग्थ्यो । त्यतिबेला उहाँ हामीसँग बोल्नु त परको कुरा, हामीलाई छड्के आँखाले पनि हेर्नु हुन्नथियो । राम्री युवती देखिँदा हामी केटाहरूको आँखा त्यतै पर्थ्यो, तर उहाँ हेल्लो/हाइ केही नगर्ने ! हामीबीच ‘दीपाश्री घमण्डी हुनुहुँदोरहेछ’ भन्ने हल्ला पनि चल्यो ।

संघर्षका दिनमा मीरा राणा दिदीले मेरा लागि रेडियोमा आधा घण्टाको समय छुट्याइदिनु भयो । अनि २०५२ सालतिर ‘रामविलास–धनियाँ’ कार्यक्रम सुरु गरें । त्यो कार्यक्रमको कन्सेप्ट मेरै थियो । त्यतिबेला रेडियो नेपालमा आधा घण्टाको समय पाउनु युद्ध जित्नुजस्तै थियो । दीपाजी तराईको मान्छे ! धनियाँको भूमिका उहाँलाई सुहाउँछ होला भन्ने लाग्यो । त्यसैले त्यो भूमिकामा मैले उहाँलाई अफर गरें । रामविलासको भूमिका मैले गर्ने भएँ, म पहाडको भए पनि त्यो पात्रको रूपमा भूमिका गरें । त्यसपछि ‘रामविलास–धनियाँ’ भएर हाम्रो यात्रा सुरु भयो, एक जोडीका रूपमा । हाम्रो त्यो चरित्र हिट भयो, जोडी पनि हिट ।

‘रामविलास– धनियाँ’ त्योबेलाको एकदमै धेरै टीआरपी भएको कार्यक्रम थियो । मलाई चिनाउने पहिलो कार्यक्रम थियो त्यो । रामविलास भन्ने चरित्रले ठट्यौली शैलीमा आफ्नो जोडी धनियाँसँग प्रेमप्रस्ताव, ठट्यौली, माया–प्रेमदेखि बिहेका गफसम्म गर्थ्यो । कार्यक्रममा रमाइला चिठी, सायरी श्रोताले पठाउँथे, त्यही अनुसारको गीत हामी रेडियोमा बजाउँथ्यौं । त्यतिबेला पनि कमेडीले कत्तिको चित्त दुखाउँथ्यो । अहिलेजस्तो सामाजिक सञ्जालको जमाना थिएन त्यो ।

त्यतिबेला एकजना रामविलास नाम गरेकै व्यक्ति मन्त्री वा संसाद, के बन्नुभयो । उहाँको सालीको नाम धनियाँ रहेछ ! उहाँले कार्यक्रममाथि आपत्ति जनाउनुभयो । केही समयलाई कार्यक्रम बन्द भयो । फेरि केही समयपछि पुन: सञ्चालनमा आयो । दीपाजी र मेरो सहकार्य त्यहीँबाट सुरु भएको हो, अहिलेसम्म चलिरहेकै छ । दीपाजीले त अलि अस्तिसम्म पनि धनियाँ बनेरै कार्यक्रम चलाउनुभयो– ‘रेडियो अडियो’ मा । त्यो ‘धनियाँकी दुनियाँ’ भन्ने कार्यक्रम ६ वर्षसम्म सञ्चालन गर्नुभयो उहाँले ।

दीपाजी हिरोइन बन्न काठमान्डु आउनुभएको थियो । ‘रामविलास–धनियाँ’ चलिरहँदा धेरै फिल्म पनि खेल्नुभयो । कत्तिले ‘कमेडी नगर’ पनि भने उहाँलाई । तर, म उहाँलाई सधैं बसुन्धरा दिदीको उदाहरण दिन्थे । ‘हिरोइनको आयु छोटो हुन्छ, तर हास्यकलाकार लामो समयसम्म बाँच्छ’ भनिदिन्थें । म त सुरुवातमा क्यारिकेचर गर्दै आएँ । तर, त्यतिबेला बसुन्धराबाहेक अन्य महिला कलाकार हास्यकलाकारका रूपमा चिनिनै चाहँदैन थिए । तर, हास्यमा उहाँको प्रवेश सुखद थियो ।

उहाँ तराईकै, त्यसमाथि अभिनय एकदमै छिटो टिपिहाल्ने । ‘अग्निपथ’ मा मधेशी महिला बनेर देखिनुभएको थियो । च्याँट्ठिएर बोल्ने, तिखो आवाज । त्यसैले पनि धनियाँको भूमिकामा उहाँ सुहाउनुभयो । मलाई ‘अग्निपथ’ मा उहाँले गर्नुभएको चरित्र मनपरेको थियो, त्यसैले धनियाँ चरित्र उहाँलाई दिएँ ।

‘रामविलास–धनियाँ’ अविस्मरणीय कार्यक्रम रह्यो । त्यतिबेला हामीलाई नसुन्ने कोही थिएन, गाउँ–गाउँमा ‘रामविलास–धनियाँ’ सुन्नेहरू हुन्थे । जति अहिले ‘छक्का पञ्जा’ चर्चित छ, त्योभन्दा पनि बढी ‘रामविलास–धनियाँ’ चल्यो । त्यसले मलाई सुरुवाती पहिचान दिलायो । हामी दुईको सहयात्राको पहिलो खुड्किलो बन्यो त्यो कार्यक्रम ।

त्यसपछिका वर्षमा केही संघर्ष रह्यो, हामीले सिरियल गर्‍यौं । ६ वर्ष टेलिभिजन कार्यक्रम चलाएपछि उहाँ र म अलग भयौं । छुट्टिएका त थिएनौं । तर, म टेलिभिजन र रेडियोतिरै अड्किएँ, दीपाजी हिरोइन बन्न फिल्मतिर लाग्नुभयो । उहाँले फिल्ममा भविष्य खोज्दै गर्दा म ‘टेलिभिजनतिर कमेडी सो चलाउँ’ भन्ने विचार गर्दै थिएँ । ५–७ वटा फिल्म खेलिसकेपछि दीपाजीले त्यता आफ्नो भविष्य देख्नुभएन । उहाँलाई सुरुदेखि नै अभिनयमा रुचि थियो । नृत्यमै पनि उत्तिकै पारंगत उहाँ, सुन्दर पनि उस्तै । त्यसैले हिरोइन बन्न हिँड्नुभयो । हिरोइन हुँदा ग्ल्यामर त हुन्छ तर, ग्ल्यामरभित्रको दु:ख छुट्टै छ । हिरोइनले गर्नुपर्ने संघर्ष अहिलेभन्दा त्यतिबेला झनै सकसपूर्ण थियो । हिरोइनहरूलाई त्यतिबेला एकदमै मानसिक तनाव हुन्थ्यो । कथा सुन्न कहाँ जानुपर्ने ? अंग प्रदर्शन गर्नुपर्ने ! अदृश्य प्रकारको दुर्व्यवहार हुन्थ्यो । हिरोइनले कि त्यस्तो परिस्थितिको सामना गर्न सक्नुपर्थ्यो कि त्यो क्षेत्र छोड्नुपर्थ्यो । दीपाश्रीले त्यता सहज अनुभव गर्नु भएन, फेरि टेलिभिजनमै फर्किनुभयो ।

त्यतिबेला मसँग ‘टेलिभिजनमा केही गर्न सक्छु’ भन्ने अठोट थियो, तर कतै मौका पाइरहेको थिइनँ । त्यसैले म निरन्तर टेलिभिजन धाउँथे । सधैं धाउन थालेपछि एकदिन कार्यक्रम गर्ने अवसर मिल्यो । रेडियोमा चर्चित बनेको अर्को कार्यक्रम ‘नो टेन्सन’ को शैलीमा टेलिभिजन सिरियल सुरु गरें । त्यही शैलीमा बनेको हो– ‘तीतो सत्य’ ।

‘तीतो सत्य’ नै दीपाश्री र मेरो जीवनको मुख्य टर्निङ प्वाइन्ट बन्यो । कार्यक्रममा हामी पति र पत्नीका रूपमा देखियौं । उहाँ त्यतिबेलैदेखि प्राविधिक पक्षमा पोख्त हुनुहुन्थ्यो । सुटिङमै पनि यथास्थानमै कस्तो सट प्रयोग गर्ने, तुरुन्तै भनिदिनु हुन्थ्यो । त्यस्तो काममा उहाँ मभन्दा धेरै नै जान्ने । ‘तीतो सत्य’ ले हामीलाई विदेशका थुप्रै कार्यक्रमा सहभागिता गरायो । ‘तीतो सत्य’ लगातार १२ वर्ष चलेपछि हामीलाई लाग्यो, अब फिल्मतिर जानुपर्छ । ह्वाट नेक्स्ट ? लामो समय ‘तीतो सत्य’ गरेपछि यस्तो लाग्यो । र, फिल्म निर्माणमा जोडियौं । त्यसैले म भन्छु, ‘तीतो सत्य’ हाम्रा लागि स्वर्णकाल नै सावित भयो । ‘तीतो सत्य’ अघि मलाई मान्छेहरू जोकरका रूपमा हेर्थे, गम्भीर भन्दैनथे । तर, ‘तीतो सत्य’ मार्फत मैले आफूलाई सावित गरें । त्यसले हामीलाई दाम दिलायो, कार चढ्ने भयौं ।

फिल्म निर्माणको निर्णय भएसँगै मैले नै दीपाजीलाई निर्देशक बन्न हौसला दिएँ । ‘छक्का पञ्जा’ बाटै उहाँ निर्देशकका रूपमा चिनिनु भयो । ठूलो पर्दामा पनि हामीबाट दर्शकले हाँसो अपेक्षा गरेकै हुन्छन् । वृद्धादेखि बालकलाई हँसाउनुपर्छ हामीले । यो विषयमा दीपाजी एक निर्देशकका रूपमा प्रस्ट हुनुहुन्छ, र उहाँलाई फिल्मको कमिक पक्ष पनि थाहा हुन्छ । उहाँको निर्देशनको यो सबल पाटो हो । मैले लेखेका कति पटकथा उहाँ रिजेक्ट पनि गर्नुहुन्छ । समकालीन महिलाहरूमा दीपाजी सशक्त रूपले निर्देशनमा आउनुमा, हाम्रो टिमको लेखनको पाटो बलियो भएर पनि हो सायद ।

उहाँ स्पष्ट हुनुहुन्छ, मलाई उहाँको यो बानी मनपर्छ । सबैलाई माया गर्नुहुन्छ, त्यो उहाँको सबैभन्दा सुन्दर पक्ष हो । कसैलाई केही परे त्यता गइहाल्नुहुन्छ । केही सहयोग आवश्यक परे, दिइहाल्नुहुन्छ । मेरो करिअरमा आधाभन्दा बढी योगदान उहाँकै छ । टिमको सबैलाई मिलाएर राख्नुहुन्छ । अनुशासनमा सबैलाई बाँध्नुहुन्छ । व्यवस्थापनमा पनि एकदमै सचेत हुनुहुन्छ । उहाँ हृदयदेखि नै बोल्नुहुन्छ, यो उहाँको कमजोर पाटो हो । हृदयदेखि बोल्दा सामाजिक सञ्जालतिर बुलिङ गरिदिन्छन् । उहाँ अलि चाँडै प्रतिक्रिया दिइहाल्नुहुन्छ, शब्द चयनमा चुक्नुहुन्छ ।

आफ्ना भावनालाई शब्दको मालामा सही ढंगले बुन्न नसक्ने, त्यसमाथि कूटनीति एकदमै कम । म उहाँलाई कम बोल्न र सामाजिक सञ्जालमा बोल्नुपर्दा मनले भन्दा दिमागले बोल्नु भन्ने सल्लाह दिन्छु । ‘साथी सबैभन्दा माथि’ भन्छन् नि, दीपाजी त्यस्तै किसिमको साथी हुनुहुन्छ मेरो । चोट लाग्दा दुई प्रकारका साथी हुन्छन्– पहिलो ‘ओहो तँलाई यस्तो भो’ भनेर नाटक गर्ने साथी र दोस्रो एकलाई चोट लागे उसलाई भन्दा बढी दुख्ने साथी । उहाँ दोस्रो कोटीको साथी हुनुहुन्छ । म उहाँलाई विश्वास गर्न सक्छु, आफूलाई भन्दा बढी विश्वास गर्न सक्छु । उहाँ आफ्ना लागि भन्दा धेरै मेरोबारे सोच्नु हुन्छ ।

यो ३० वर्षको सहयात्रामा थुप्रै पटक हाम्रो झगडा पनि भयो । हाम्रो संसार अरू मिलेर बसेको देख्न नसक्ने संसार हो । तपाईंले केही उपलब्धि गर्नुभयो वा मिलेर काम गर्दै हुनुहुन्छ भने भड्काउने धेरै हुन्छन् । फेरि हामी महिला र पुरुष भएकाले नकराात्मक कुरा सुनाउनेहरू पनि धेरै हुन्छन् ।

दीपाश्री अविवाहित रहुञ्जेलसम्मै हामीबारे नराम्रा हल्लाहरू हामीले सुनिरहनुपर्छ । मैले धेरै पटक प्रत्यक्ष/अप्रत्यक्ष रूपमा उहाँलाई

सेटल्ड हुन सल्लाह दिएँ । मलाई लाग्छ, उहाँले धेरै पटक बिहे गरिसक्नुभयो, यो इन्डस्ट्रीसँग । उहाँको दिमागमा फिल्म मात्रै छ । उहाँ कसैको नियन्त्रणमा बस्ने स्वभावको हुनुहुन्न । उहाँले अब बिहेको विचार त्यागिसक्नुभएको छ भन्ने मलाई लाग्छ । उहाँले आफ्नो परिवार सम्हाल्दै आउनुभएको छ । उहाँ काम र परिवारप्रति नै समर्पित हुनुहुन्छ र पुरुषप्रधान समाजको महिला नेतृत्व गर्नुहुन्छ ।

संसारका कुनै सम्बन्ध कति समयसम्म टिक्छन् भन्ने विषय आपसी समझदारीमा भर पर्छन् । सम्बन्धको एक्सपाइरी डेट हुँदैन । हाम्रो सम्बन्धको पनि एक्सपाइरी डेट छैन ।

प्रकाशित : वैशाख २२, २०८१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?