कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

'टिकट टु हलिउड'मा सुगन्ध खोज्दै हिँड्ने कस्तूरीहरु 

रीना मोक्तान

काठमाडौँ — नाटक 'टिकट टु हलिउड'ले कुनै भारी मुद्दा उठाउने भार बोकेको छैन । मण्डलाको स्टुडियो थिएटरमा मञ्चित यो नाटकले गम्भीर मुद्दाको भारलाई पर राखेर एउटा रोचक र मनोरञ्जनात्मक यात्रामा दर्शकलाई डोर्‍याउँछ । मञ्चमा छन्, थोरै कलाकार र सानो सेट । अनि छ, सुपरस्टार मोन्टी र उनको हलिउड यात्रा !

'टिकट टु हलिउड'मा सुगन्ध खोज्दै हिँड्ने कस्तूरीहरु 

मोन्टीको यही हलिउड यात्रामा भेटिन्छ, युवाको उकुसमुकुस, फिल्म क्षेत्रप्रति व्यंग्य अनि आफैंलाई भुलेर भ्रमको पछाडि दौडिनेहरुको दौड ! दर्शक हँसाउँदै कमेडी शैलीमा पस्किएको यो नाटक फरक र प्रयोगले भरिएको छ ।

नाटकको सुरुआततिरै चौथो पर्खाल भत्काउँदै कलाकारले दर्शकलाई नाटकको पात्र बनाइदिन्छन् । सुरुको दृश्यमै एडी (असिस्टेन्ट डिरेक्ट) सन्तोषले दर्शकदीर्घालाई देखाउँदै भन्छ, 'यहाँ बसिरहनु भा'छ नि, उहाँहरुलाई मैले लिएर आएको है ।' नाटकमा यति मज्जाले चौथो पर्खाल भत्काइन्छ छ कि दर्शक सहजै 'चौतारी नाटक'मा झैं यहाँ सहभागी हुन्छन् ।

'जब हाम्रो सरले इन्ट्री मार्नुहुन्छ नि त्यही अनुसारको हल्ला चाहियो है । त्यही अनुसारको ताली है,' भरपूर उर्जासहित एडी सन्तोष बोल्छन् । सन्तोषको कुरा सक्न नपाउँदै पृष्ठभूमिमा रमाइलो संगीत गुञ्जन्छ, गीतार र ड्रमसेटको रमाइलो धुनमा । त्यसपछि तालीको गडगडाहटसँगै चर्को आवाजमा दर्शकले हुटिङ गर्छन्, 'मोन्टी, मोन्टी…' । नाटकमा यस्ता थुप्रै दृश्यहरु छन्, जहाँ दर्शक आफैं मोन्टीको यो यात्रामा सहभागी बन्छन् । यसरी यो नाटकले थुप्रै विधालाई छोएको छ । उदाहरणका लागि दाँतको समस्या आउँदा मोन्टी डाक्टरकहाँ पुग्छन् । डाक्टरले मोन्टीलाई बुद्धि आउने दाँत हालिदिन्छन् । उक्त दृश्यमा मोन्टी र डाक्टरको प्रस्तुति संवादसहितको क्लाउन पर्फमेन्सजस्तै देखिन्छ ।

यो नाटक एउटै विषयमा अडिक हुन्न, मोन्टी (सुदिप खतिवडा) को यात्रामा आउने फरक विषयवस्तु छुँदै नाटक अगाडि बढ्छ । मोन्टीलाई हलिउडको अडिसनमा पुग्नु छ । मोन्टीको शब्दकोषमा अडिसन, स्क्रिनटेस्ट, रिटेक भन्ने शब्दले बास गर्दैन । मोन्टीले भनेअनुसार उनलाई हलिउडको मिटिङमा पुग्नु छ । त्यो मिटिङमा पुग्नुअघि सागर खातीको डेब्यू निर्देशन 'टिकट टु हलिउड'मा पनि अभिनय गर्नुछ । फेरि, सागरहरुलाई पनि सुपरस्टार मोन्टीको अभिनयमा नै फिल्म बनाउनुछ । डेब्यू निर्देशकसँग काम गर्न नचाहने मोन्टीले सागरको पहिलो निर्देशन भन्ने थाहा पाउनासाथ एडी सन्तोषलाई 'एक्सन कट'को जिम्मा दिन्छन् ।

निर्देशक सागर कुना च्यापेर बस्दा सहायक निर्देशकबाट निर्देशनको जिम्मा पाएका सन्तोषले उल्टै सागरलाई निर्देशन दिन्छ,' अब भातको गाडीलाई हेर्ने, क्राउड ह्यान्डल गर्ने जिम्मा पनि तपाईंलाई नै दिएँ' । सागर अवाक ! नाटकमा यस्तै कमिक दृश्यमा दर्शक हँसाउँने खुराक प्रशस्तै भेटिन्छन् । फिल्मको छायांकन दृश्यमार्फत थुप्रै विषयलाई व्यंग्य गर्न खोजिएको छ ।

सुपरस्टारबिना फिल्म गर्न नचाहने सागर खातीजस्ता निर्देशक, सुपरस्टारकै भनाइलाई सिरोपर गर्ने फिल्मकर्मीहरुलाई यो दृश्यमा खरो प्रहार गरिएको छ । त्यस्तै, मोन्टीको मनोमानीमार्फत लापरबाही बन्दै गएको सुपरस्टारहरु, अहंले फुलिएको स्टारलाई व्यंग्य गरिएको छ । 'नेपालको यत्रो सुपरस्टार भएर तपाईंको बुद्धि आएको छैन । अब कहिले आउँछ ? 'डाक्टरले बोलेको यो दृश्यमा नेपाली कलाकारलाई पनि व्यंग्य गरिएको छ । साथै, जोजो (मिलन कार्की) जस्ता म्यानेजरको लाचारी पनि देखाइएको छ ।

'हलिउड'लाई यहाँ बिम्बको रुपमा प्रयोग गरिएको छ । एउटा यस्तो तत्त्व जसको पछाडि हर मानिस निरन्तर कुदिरहेकै हुन्छ, चाहे त्यो सफलता होस् या सपना । कोही सफलताको दौडमा यसरी कुँदिरहेका छन्, जसले यो दौडमा आफू केका लागि दौडिएको भन्ने पनि बिर्सिसकेका छन् । नाटकको एउटा दृश्यमा पृष्ठभूमिमा संगीत टोलीले गाउँछ, 'टिकट टु इलुजन', अर्थात् भ्रमको टिकट । अरुको सिको गर्दा-गर्दै, भ्रमलाई पच्छ्याउँदा-पच्छ्याउँदै रैथाने स्वाद भुलाउँदै गएकाहरुलाई यो नाटकले गजब्बले प्रहार गर्छ । हलिउडलाई पच्छ्याउँदा-पच्छ्याउँदै कयौं मोन्टीहरुले आफूभित्रको मोती नियाल्न भुलेका छन् । अरुलाई पच्छ्याउँदा-पच्छ्याउँदा आफ्नो बाटो बिर्सेर मोतीलालबाट मोन्टी बनेकाहरुलाई पनि नाटकले व्यंग्य गर्छ । त्यसअर्थ आफूभित्रको सुगन्ध खोज्न हिँडेका कस्तूरीहरुको कथा हो-टिकट टु हलिउड' । यो नाटक यस्तो टिकट हो जसले तपाईंलाई आफू भएर बाँच्न सिकाउँछ, आफ्नो अस्तित्त्व खोज्न लगाउँछ । आफूभित्रको सुगन्ध, मौलिकपलाई नियाल्न लगाउँछ ।

मञ्चमा निर्देशकको भूमिकामा देखिएका सागर खाती कामी नै 'टिकट टु हलिउड'का निर्देशक हुन् । मोन्टीअघि आफूलाई अब्बल निर्देशकका रुपमा उभ्याउन नपाए पनि, टिकट टु हलिउडको निर्देशनमा भने कामीले आफ्नो क्षमता पस्केका छन् । सरल विषयवस्तुलाई कमेडीमा पस्कँदै गम्भीर मुद्दामाथि व्यंगात्मक प्रहार गर्न, कामी सफल छन् । कमेडी शैलीको कथा, लेखन र निर्देशनले सागरलाई क्षमतावान निर्देशकको रुपमा उभ्याइदिएको छ । नाटकको हरेक दृश्यमा कमेडी र क्राफ्टको तादम्य मिलाएका छन् । संगीतमा पनि निर्देशक कामीको बलियो उपस्थिति देखिन्छ ।

यो नाटकको सबैभन्दा बलियो पाटो दुई कलाकारको जब्बर अभिनय हो । जोजोको भूमिकामा देखिएका मिलन कार्कीले नाटक अवधिभर दर्शकको ध्यान आफ्नो चरित्रमा तानेर राख्न सफल छन् । असिस्टेन्ट जोजोको इमान्दारी होस् या मोन्टी पत्नी बन्दा, मिलनले मञ्चमा ती पात्रलाई मस्तले बाँचिदिएका छन् । डाक्टर बन्दा फ्यानको उत्साह, उमंगलाई मात्रै होइन पत्नीभित्रको आवश्यकता र आशक्तिलाई अभिनयमार्फ प्रस्तुत गरेका छन् । मञ्चमा उनले थुप्रै चरित्रमा अभिनय गरेका छन् ।

छोटो अवधिमा फरक-फरक चरित्रमा गरेको अभिनयमार्फत मिलनले आफूलाई सावित गरेका छन् । त्यसरी नै मोन्टीको अहंलाई बोलीदेखि शारीरिक हाउभाउमा सुदीपले पनि उतिकै जीवन्त बाँचिदिएका छन् । संगीत र प्रप्समा पनि उत्तिकै मिहिनेत भेटिन्छ । नाटकको शैली अनुसारको प्रप्स 'टिकट टु हलिउड'मा प्रकट छन् । बुद्धिवाला दाँत पनि गजब्बै छन् ।

नाटकमा धेरै प्रप्स प्रयोगमा छैन, थोरै प्रप्सलाई चलाखीपूर्ण ढंगले प्रयोग गरिएको छ । संगीतलाई कथाको लयमा मात्रै होइन पात्रहरुको मनोविज्ञान दर्शाउन कलात्मक ढंगले प्रयोग गरिएको छ । जस्तै, 'टिकट टु इलुजन' ।

प्रकाशित : वैशाख २१, २०८१ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?