कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

मूल्यको उतारचढावले सुन कारोबार ठप्प

सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो, बिहेको लगन असार २० पछि मात्रै छ अर्थात् अबको दुई महिना बिहेको सिजन छैन, यही बेला सुनको मूल्य घट्ने क्रममा 
राजु चौधरी

काठमाडौँ — बिहेको लगन चलिरहँदा सुनको भाउले नयाँ–नयाँ कीर्तिमान बनायो । यही क्रममा सुनको मूल्य वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुग्यो । सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो । अब बिहेको लगन असार २० मा मात्रै छ । अर्थात् अबको दुई महिना बिहेको सिजन छैन । 

मूल्यको उतारचढावले सुन कारोबार ठप्प

अफ सिजनमा गहनाको बिक्री त्यति हुँदैन । यही बेला सुनको भाउ भने घट्ने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई सातामा सुनको भाउ तोलामा २८ सय रुपैयाँ घटेको छ । ‘मूल्यमा नयाँ कीर्तिमान बनाउँदै वैशाख ९ गते प्रतितोला १ लाख ३९ हजार ३ सय पुग्यो । वैशाख २० गतेसम्म आइपुग्दा मूल्य घटेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ,’ महासंघअन्तर्गत मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले भने ।

मंगलबार र बुधबारको मूल्य तुलना गर्दा प्रतितोला २७ सय रुपैयाँ घटेको छ । मंगबलार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार र बिहीबारको मूल्य तुलना गर्दा प्रतितोला २ हजार रुपैयाँ बढेको छ । ‘मूल्यमा उतारचढाव कायम भए पनि अन्तर्राष्ट्रिय ट्रेन्ड घट्ने देखिन्छ,’ शाक्यले भने ।

पछिल्लो ७ दिनको सुनको मूल्य हेर्दा भाउमा उतारचढाव देखिन्छ । वैशाख १२ मा प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको सुन १३ मा घटेर १ लाख ३५ हजार ८ सय रुपैयाँ पुगेको थियो । १४ मा मूल्य फेरि बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुग्यो । वैशाख १६ मा बढेर १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । १७ र १८ गते प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । वैशाख १९ मा भने मूल्य घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भयो । वैशाख २० अर्थात् बिहीबार फेरि बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

वैशाख ९ मा प्रतिऔंस २४१८ अमेरिकी डलर आसपास पुगेको सुनको मूल्य अहिले सामान्य घटेको छ । मंगलबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २३२८.६० अमेरिकी डलरमा कारोबार भएको थियो । बुधबार मूल्य निर्धारण गर्दा प्रतिऔंस २२८२.९० डलर थियो । जसले गर्दा मूल्य घटेको थियो । बिहीबार महासंघले मूल्य निर्धारण गर्दा फेरि बढ्यो ।

बिहान १०.१५ बजे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २३२० अमेरिकी डलरमा कारोबार भएको थियो । त्यसपछि भने अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको देखिन्छ । बिहीबार बेलुका सवा ८ बजेसम्म आइपुग्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर प्रतिऔंस २२८७.७१ डलर पुगेको छ । यसले पनि मूल्य घट्ने संकेत गरेको जानकार बताउँछन् ।

सुनको भाउ विभिन्न मुलुकको बजारले निर्धारण गर्छ । ‘युरोपको बजार खुलेको छ, मूल्य घटेको देखिन्छ । न्युयोर्क, जापान र सिंगापुरको बजार खुल्न बाँकी नै छ,’ महासंघका पूर्वअध्यक्षसमेत रहेका शाक्यले भने, ‘भारतीय बजारले पनि मूल्यमा फरक पार्छ । यी सबै मार्केट खुलेपछि मात्रै थप भन्न सकिन्छ ।’ महासंघले अमेरिकी बजारलाई ७० प्रतिशत र भारतको बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्दै आएको छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क जोडिन्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । व्यवसायीका अनुसार मूल्य अस्थिर हुनुको प्रमुख कारण भूराजनितीक द्वन्द्व, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले ब्याजदर घटाउने हल्ला, विश्वका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउनुलगायत हुन् ।

यही कारण अन्तर्राष्ट्रिय बजारमा भाउमा उतारचढाव भइराखेको छ । यहीबीच मुनाफा असुली गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताले सुन बिक्रीमा ल्याएर मूल्य घटेको हो । यहीबीच फेडरल रिजर्भ बैंकले तत्कालका लागि पर्ख र हेरको नीति अपनाएको छ । ब्याजदर घटबढ नगर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

‘फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने–नघटाउनेमा अन्योल थियो । बुधबार पर्ख र हेरको नीति लिएको छ । ब्याजदर घटबढ नगर्ने जनाएको छ,’ शाक्यले भने, ‘यो निर्णयले प्रतिऔंस सुनको भाउ २३ सय डलरभन्दा माथि पुगे मूल्य बढ्ने, नभए घट्ने अन्तर्राष्ट्रिय विश्लेषकले बताएका थिए । अन्तर्राष्ट्रिय ट्रेन्ड हेर्दा प्रतिऔंस सुनको भाउ घटेको छ । अब मूल्य घट्ने सम्भावना देखिन्छ ।’

मूल्य बढेकै कारण सिजनमा गहना बजार सुनसान थियो । वाणिज्य बैंकलाई सुन आयात नगरिदिन गुहार्नुपरेको थियो । अहिले गहना व्यवसायीका लागि अफ सिजन सुरु भइसक्यो । तर यही बेला सुनको भाउ भने घटेको छ । ‘बिहेको लगन सकियो, यही बेला मूल्य घटेको छ,’ शाक्यले भने, ‘तर यो बिक्री हुने सिजन होइन, पसल बन्द गरे पनि हुन्छ ।’

प्रकाशित : वैशाख २१, २०८१ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?