कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पाँच वर्षदेखि टोखा–छहरे सुरुङमार्गको थप अध्ययन अघि बढेन

चालु आर्थिक वर्षमै निर्माणमा जाने भनिए पनि सम्भाव्यता अध्ययन हुन नसक्दा विनियोजित बजेट अन्यत्रै सारियो
विमल खतिवडा

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षको बजेटमा काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने उल्लेख गरेको भए पनि अहिलेसम्म केही काम अघि बढ्न सकेको छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउने भन्दै चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

पाँच वर्षदेखि टोखा–छहरे सुरुङमार्गको थप अध्ययन अघि बढेन

तर तत्काल काम अघि बढ्ने नदेखिएपछि विभागले अन्यत्र काम भएका आयोजनाका लागि उक्त शीर्षकको बजेट रकमान्तर दिइएको छ ।

०७६ माघमा आएको चिनियाँ प्राविधिक टोलीले यसको प्रारम्भिक तहको अध्ययन गरेको थियो । २० जनाको चिनियाँ टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेको थियो । टोली सोही वर्षको फागुनमा अध्ययन सकेर चीन फर्किएको थियो । टोली फर्किएको करिब ५ वर्ष भयो, तर यसमा केही प्रगति छैन । अहिले यो सुरुङमार्गबारे चर्चा मात्र हुन्छ, थप काम अघि बढ्न सकेको छैन । टोली फर्किएको केही समयपछि कोभिड महामारी सुरु भएकाले पनि त्यो बेला थप काम अघि बढेन । बजेटमा सुरुङ निर्माण गर्ने उल्लेख गरिए पनि अध्ययनकै कामले गति लिन सकेको छैन ।

चिनियाँ टोलीलाई अध्ययनका लागि आउन भनिरहेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले जनाए । ‘टोली एक महिनाअघि नै आउनुपर्ने हो तर आइसकेको छैन,’ उनले भने, ‘छिटो आउन भनिरहेका छौं ।’ चिनियाँ टोलीले पहिला वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (ईआईए) गरी त्यसलाई वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गराएर दिन भनेका छन् । तर पहिला डीपीआर नगरी ईआईए गर्न गाह्रो हुने विभागले जनाएको छ ।

‘पहिला सम्भाव्यता अध्ययन गरिन्छ, त्यसपछि ईआईएका लागि डीपीआर गरेर सुरुङ कस्तो बन्ने, कति लम्बाइ, चौडाइ, कस्तो ढुंगा, माटो कस्तो, रूख कति काट्नुपर्ने हो, कति घर प्रभावित हुन्छन् भन्ने थाहा हुनुपर्छ,’ जैसीले भने, ‘प्रारम्भिक अध्ययनमा मात्र यो हुने कुरा भएन, त्यसका लागि डीपीआर नै चाहिन्छ ।’ प्रकाशशरण महत अर्थमन्त्री हुँदा चालु आर्थिक वर्षमै सुरुङ निर्माण गर्ने भन्दै बजेटमा राखिएको र उनी मन्त्री छँदै छिटो काम सुरु गर्न सडक विभागलाई दबाब थियो । महत मन्त्रीबाट बाहिरिएपछि विभागलाई अहिले खासै दबाब छैन । चिनियाँ प्राविधिकले भनेअनुसार ईआईएका सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे वन तथा वातावरण मन्त्रालयका सचिवसँग समन्वय गरेर मात्र अघि बढ्ने प्रमुख जैसीले जनाए । यसको पहिला सामान्य अध्ययन मात्र भएको हो ।

प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, तथ्यांक संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । सुरुमा सुरुङको दूरी ७ किमि हुने भनिए पनि प्राविधिक टोलीले चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनमा देखाएको थियो । लागतको कुरा नआएको र सम्भाव्यता अध्ययनपछि मात्र लागत अनुमान निस्कनेछ । सुरुङ निर्माण भने चीन सरकारबाटै हुने जनाइएको छ । ‘यसको अध्ययन, डिजाइन र निर्माणको काम चीन सरकारले अनुदानमा गरिदिनेछ,’ जैसीले भने ।

यही वर्ष निर्माणमा जाने भनेर एक अर्ब रुपैयाँ मुआब्जालगायत काम गर्नलाई बजेट छुट्याइएको जैसीले बताए । ‘मुआब्जा दिन यसको डिजाइनै भइसकेको छैन,’ उनले भने, ‘डिजाइन भएपछि कति जग्गा पर्ने र त्यहीअनुसार मुआब्जा निर्धारण गरेर वितरण गरिनेछ ।’ चिनियाँ टोली आए बढीमा ८ महिनामा अध्ययनको काम सकिने उनको दाबी छ । ‘यो वर्ष निर्माणमा जान नसकिए पनि अर्को वर्ष निर्माणमा जान समस्या छैन,’ उनले भने, ‘यसले स्याफ्रुबेंसी–रसुवागढी सडकमार्फत चीनसँग जोड्नेछ ।’

टोखाबाट गुज्रेभन्ज्याङ–छहरे–गंगटे सडक अहिले चालु छ । त्यो सडक तादी नदीको किनारैकिनार जाने भएकाले गल्छीबाट पृथ्वी राजमार्ग–थानकोट हुँदै काठमाडौं छिर्नुभन्दा टोखाबाट धेरै नजिक पर्ने र सडकको दूरी छोट्याउन सुरुङ बनाउन लागिएको सडक विभागले जनाएको छ ।

प्रकाशित : वैशाख २१, २०८१ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?