कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

एमेच्योर गल्फर सद्भाव च्याम्पियन

प्रो भुवनलाई सात स्ट्रोकले पराजित गर्दै सद्भाव सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप जित्न सफल 

काठमाडौँ — एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल एनपीजीए टुर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई ७ स्ट्रोकको अन्तरमा पछाडि पार्दै सद्भावले यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत छैटौं प्रतियोगिता जितेका हुन् ।  

एमेच्योर गल्फर सद्भाव च्याम्पियन

अन्तिम दिन ३ अन्डर ६९ को स्कोरसहित समग्रमा १४ अन्डर २ सय ७४ सहित सद्भावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए । यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो । यस सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन् । यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्ज जितेका थिए ।

अन्तिम १८ होलको सुरुमा प्रो भुवन र सद्भावबीच कडा टक्कर हुने अनुमान गरिए पनि भुवनले ३ ओभर ७५ को खराब प्रदर्शन गरे । समग्रमा ७ अन्डर २ सय ८१ सहित दोस्रो भए । प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार जित्न सफल भए ।

एमेच्योर खेलाडीको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ इनहाउस र प्रो नीरज तामाङ संयुक्त तेस्रो स्थानमा रहे । उनीहरूले समग्रमा ४ अन्डर २ सय ८४ मा खेल सकाए । विजयले १ अन्डर ७१ र नीरजले २ अन्डर ७० को प्रदर्शन गरे । प्रोतर्फ दोस्रो भएका नीरजले ९६ हजार प्राप्त गरे ।

समग्रमा इभन–पार २ सय ८८ मा खेल सकेका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए । उनले ३ ओभर ७५ मा खेल टुंग्याए । तेस्रो भएका उनले ७२ हजार पाए । समग्रमा ४ ओभर २ सय ९२ सहित सन्जय लामा र धनबहादुर थापा प्रोतर्फ संयुक्त चौथो स्थानमा रहे । सन्जयले २ ओभर ७४ र धनले १ अन्डर ७१ को स्कोर निकाले । उनीहरूले जनही ५४ हजार ५ सय पुरस्कार प्राप्त गरे ।

रवि खड्काले २ ओभर ७४ को स्कोरसहित समग्रमा ५ ओभर २ सय ९३ सहित छैटौं स्थानमा रहे । उनले ४२ हजार ५ सय प्राप्त गरे । समग्रमा ७ ओभर २ सय ९४ सहित रामे मगर र भुवनकुमार रोक्काले संयुक्त सातौं स्थान बाँडे । दुवैले २ ओभर ७४ मा खेल सके । उनीहरूले जनही ३७ हजार २ सय ५० हात पारे ।

धरानका प्रोद्वय युवराज भुजेल र बलभद्र राईले समग्रमा ११ ओभर २ सय ९९ सहित नवौ स्थानमा रहँदा जनही ३२ हजार जिते । युवराजले ८ ओभर ८० र बलभद्रले ४ ओभर ७६ मा खेल सके ।

बिहीबार खेल सुरु गर्दा सद्भावसँग एक स्ट्रोकको मात्र अग्रता थियो । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याए । तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सद्भावले एक शट बचाए । छैटौं होल समाप्तिमा सद्भावले दुई स्ट्रोकको अग्रता बनाए । टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो । भुवनको दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो । उनले यो होलमा डबल बोगी खेप्दा सद्भावले चार स्ट्रोकको अग्रता बनाए । यसपछि आठौं र नवौं होलमा फेरि एक–एक शट गुमाउँदा भुवनले फ्रन्टनाइन ४ ओभर ४० मा सके । सदभावले १ अन्डर ३५ मा फ्रन्टनाइन पूरा गरे । फ्रन्टनाइन सकिँदा सद्भावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए ।

बोगीरहित खेलेका सद्भावले १२ र १७ औं होलमा बर्डी प्रहार गरे र ब्याकनाइन २ अन्डर ३४ मा सकेका थिए । सहजै सद्भाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरहरूलाई माथ दिन सफल रहे । लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याकनाइन १अन्डर ३५ मा सकाए । १२, १४ र १८ औं होलमा बर्डी प्रहार गरे भने १५ र १६ औं होलमा एक–एक शट बचाए ।

एमेच्योर विजयले टुरमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्टनाइन इभन–पार ३६ मा सकेका थिए । पहिलो र पाँचौं होलको बोगीविरुद्ध तेस्रो र सातौं होलमा एक–एक शट बचाए । यसपछि ११ औं होलको बर्डीले ब्याकनाइन १ अन्डर ३५ मा टुंग्याए । सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपल्ट एमेच्योरतर्फ दोस्रो भए ।

प्रकाशित : चैत्र १५, २०८० २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?