कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सत्तामा साझेदारी, उपनिर्वाचनमा प्रतिस्पर्धा

एमालेबाट इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङ–१ (१) मा दमन भण्डारी उठ्दै
माओवादीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने पदाधिकारी बैठकको निर्णय
रास्वपाबाट इलाम–२ मा मिलन लिम्बूको उम्मेदवारी 
एकीकृत समाजवादी र जनता समाजवादीले पनि उम्मेदवारी दिँदै
गंगा बीसी

काठमाडौँ — सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेपछि अरू दलले पनि आफ्ना उम्मेदवार उठाउने भएका हुन् । माओवादी पदाधिकारी बैठकले बुधबार दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सत्तामा साझेदारी, उपनिर्वाचनमा प्रतिस्पर्धा

राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाम–२ मा मात्र उम्मेदवार उठाउने भएको छ । एकीकृत समाजवादीले दुवै क्षेत्रमा उम्मेदवारको नाम टुगो लगाइसकेको छ । जनता समाजवादीले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

एमाले, रास्वपाबाहेक अरू दल सहमतिका आधारमा साझा उम्मेदवार बनाउने मनस्थितिमा थिए । एमालेले गठबन्धनमा छलफलै नगरी इलाम–२ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङ–१ (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय लिएपछि अरू सत्ता साझेदार दलले पनि उम्मेदवार उठाउने भएका हुन् । गत आम निर्वाचनमा इलाम–२ मा एमालेका नेम्वाङ १ सय १४ मत मात्रले विजयी भएकाले त्यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । यीमध्येबाट एक उम्मेदवार उठाउनेछ । रास्वपाले माओवादी पृष्ठभूमि भएका मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार सिफारिस भएका अन्य उम्मेदवारले लिम्बूलाई समर्थन गरेपछि उनी उम्मेदवार हुने भएका हुन् । उनी पूर्वसञ्चारकर्मीसमेत हुन् ।

एमाले उपमहासचिव विष्णु रिमालले साझा उम्मेदवार उठाउने विषयमा छलफल नै नभएको बताए । उनले सत्तामा साझेदारी भए पनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पक्षमा पार्टी रहेको बताए । ‘गठबन्धन र समीकरणलाई अलि भिन्न ढंगले बुझ्नुपर्छ,’ उनले भने, ‘दलहरूबीच एजेन्डाका आधारमा सहकार्य र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो मत हो ।’

एमालेले आफ्ना उम्मेदवारलाई सहयोगका लागि आह्वान गरेको पनि उनले बताए । ‘हामीलाई सहयोग गर्न आग्रह गर्छौं, सहयोग भए धन्यवाद भन्छौं, भएन भने स्वस्थ प्रतिस्पर्धा गर्छौं’ उनले भने ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पदाधिकारी बैठकले उम्मेदवार उठाउने निर्णय गरे पनि व्यक्तिको टुंगो एक/दुई दिनमा लाग्ने बताए । ‘गठबन्धनमा रहेका दलले आ–आफ्ना उम्मेदवार उठाउने घोषणा गरिसके, हामी पनि दुवै क्षेत्रका उम्मेदवार टुंगो लगाउँछौं’ उनले भने ।

स्रोतका अनुसार इलाम–२ मा सुहाङलाई सघाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्ने तयारी छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले इलाम–२ मा लिम्बूसहित ६ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाए पनि बाँकी ५ जनाले लिम्बूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए । बिहीबार काठमाडौंको चःमतिस्थित केन्द्रीय कार्यालयमा भएको छलफलमा ५ उम्मेदवारले लिम्बूलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । रास्वपाले बझाङ–१(१) मा उम्मेदवारी नदिने जनाएको छ ।

जसपा नेता मनीष सुमनले दुवै क्षेत्रमा पार्टीले उम्मेदवार उठाउने बताए । ‘जसपाले आफ्नो उम्मेदवार उठाउँछ’ उनले भने, ‘गठबन्धनका दलहरूले उम्मेदवार घोषणा गरिसकेकाले हामी पनि प्रतिस्पर्धा गर्छौं ।’

एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१(१) मा वीरबहादुर सिंहलाई उठाउने भएको छ । एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘हामी दुवै क्षेत्रमा प्रतिस्पर्धा गर्छौं ।’ उम्मेदवार घोषणा गर्नुअघि एकीकृत समाजवादीले बझाङमा आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सर्तमा इलाममा एमालेका सुहाङलाई सघाउने संकेत गरेको थियो ।एमालेले दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेपछि समाजवादीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१ (१) दुवैमा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम–२ रिक्त थियो । बझाङमा कांग्रेसबाट निर्वाचित प्रदेश सांसद पृथ्वीबहादुर सिंहको गत असार २५ मा निधन भएकाले रिक्त भएको थियो ।

त्यस्तै इलाममा पहिचानवादी पक्षधरबाटै डकेन्द्रसिंह लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छन् । पहिचान पक्षधरकै तर्फबाट जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । प्रेमदीप किरात–लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् ।

प्रमुख प्रतिपक्ष कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का, भेषराज आचार्य र केशव थापा दाबेदार हुन् । खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।

‘यो सत्ता समीकरण हो, गठबन्धन होइन’

विष्णु रिमाल, एमाले उपमहासचिव

सत्ता गठबन्धनले इलाम–२ मा एमालेलाई समर्थन गर्ने चर्चा थियो, तर एमालेले किन एक्लै उम्मेदवार घोषणा गर्‍यो ?

यो सत्ता समीकरण हो, गठबन्धन होइन । जुन कुरा मिल्छ, त्यो साझा गर्ने भनेका छौं, जुन मिल्दैन आ–आफ्नै गर्ने भनेका छौं । दलहरूको बीचमा एजेन्डाका आधारमा सहकार्य र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो मत हो । यो हिसाबले हामीले उपनिर्वाचनमा सहयोग गर्न सक्ने दलहरूलाई सहयोगका लागि आह्वान गरेका छौं । अर्को कुरा, साझा उम्मेदवार बनाउन सत्ता समीकरणमा रहेका दलहरूबीच केही कुराकानी भएको छैन । उम्मेदवारको अन्तिम सूची आउनुअघि एकले अर्कालाई आग्रह गर्ने हुन सक्छ । हामीले पनि सहयोगका लागि आग्रह गरेका छौं । सहयोग गरे धन्यवाद भन्छौं, नभए प्रतिस्पर्धा गर्छौं ।

माओवादीले इलाम–२ मा एमालेलाई समर्थन गर्ने चर्चा त चलेको थियो नि ?

हामीले दलहरूको सिन्डिकेट बनाउन खोजेको होइन । यताउता मिलायो, गठबन्धन बनायो, सिन्डिकेट खडा गरायो, यो तरिकाले राजनीति स्थिरता हुँदैन । हामी न्यूनतम नीतिगत कुरामा सहमत छौं । साझा संकल्प गरेका छौं ।

योबाहेक हाम्रा आ–आफ्ना एजेन्डा हुने भए । उपनिर्वाचनमा एकले अर्कालाई सहयोग गर्न सक्छन् । गत निर्वाचनमा इलाममा हामीले जितेको हो, बझाङमा निकटतम प्रतिद्वन्द्वी हो । दुवै ठाउँमा कांग्रेस उम्मेदवारसँग प्रतिस्पर्धा गरेको हो, अरूसँग होइन । हामीले चुनाव जित्ने हो । सत्तामा रहेका साथीहरूले उम्मेदवार उठाउनुहुन्छ भने हाम्रो थप टिप्पणी हुँदैन । निर्वाचनमा उम्मेदवार हुन सबै स्वतन्त्र छौं । के कुरा बुझ्नु हुँदैन भने गठजोड गरेपछि सबै कुरा साझा हुनुपर्छ ।

सत्ता साझा हुने, नीति संकल्प हुने तर उम्मेदवार किन साझा नहुने ?

सरकार सञ्चालनका लागि हामीले साझेदारी गरेका हौं । हामी अर्को चुनाव पनि सँगै लड्छौं भनेका छैनौं । सरकार सञ्चालनका लागि न्यूनतम नीति प्राथमिकता र संकल्प गरेका हौं । अधिकतम धेरै कुरा हाम्रा आ–आफन छन् त्यसमा ।

गठबन्धन दलबीच चुनाव विशुद्ध प्रतिस्पर्धा हो, सरकार सहकार्य हो भनेर बुझ्दा हुन्छ ?

हो, त्यही भएर हामीले गठबन्धन भनेका छैनौं । गठबन्धन शब्द रुचाउँदैनौं । अहिले सत्ता साझेदार पाँचवटै दलले नयाँ समीककरण भनेका छौं । यसमा कुनै साझा चुनाव चिह्न लडेको, साझा घोषणापत्र केही छैन । सरकारको प्राथमिकतामा साझा न्यूनतम नीति र संकल्प प्रस्तुत गरेका छौं ।

अन्तिममा साझा उम्मेदवार हुने सम्भावना छ ?

अरूको कुरा भन्न सक्दिनँ । एमालेका उम्मेदवार दुवै क्षेत्रमा उठ्छन् ।

प्रकाशित : चैत्र १६, २०८० ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?