१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

क्रिप्टो कारोबारबाट अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय 

एजेन्सी

काठमाडौँ — चर्चित वित्तीय म्यागजिनहरूले आफ्नो कभरमा ‘आगामी वारेन बफेट’ भनी प्रचार गरेका अमेरिकी क्रिप्टो बजारका चर्चित अर्बपति साम ब्यांकम्यान-फ्रिड (एसबीएफ)लाई अमेरिकी अदालतले २५ वर्ष जेल सजायको फैसला सुनाएको छ । क्रिप्टो कारोबार प्लाटफर्म ‘एफटीएक्स’मार्फत अर्बौं अमेरिकी डलरको घोटालामा संलग्न रहेको अभियोगमा ३२ वर्षीय ब्यांकम्यान-फ्रिडलाई बिहिबार अमेरिकी संघीय जिल्ला अदालतले ११ अर्ब डलर जरिवानासमेत तिर्न आदेश दिएको हो ।

क्रिप्टो कारोबारबाट अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय 

न्युयोर्कस्थित अदालतका न्यायाधीश लुइस क्याप्लानकाे इजलासले एसबीएफलाई सो जरिवाना एफटीएक्सका पीडितहरूलाई फिर्ता गर्ने प्रयोजनमा लगाउन भनेका छन् । यसअघि नोभेम्बरमा पनि अदालतले एसबीएफलाई आफ्नो क्रिप्टो लेनदेन प्लाटफर्ममार्फत अर्बौं अमेरिकी डलर धोकाधडी र सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको थियो । त्यो बेला अदालतका न्यायाधीशले सामको सजाय सन् २०२४ को मार्चमा सुनाइने मिति तोकेबमोजिम हाल फैसला आएको हो ।

सन् २०१९ मा आफूले स्थापना गरेको एफटीएक्स प्लाटफर्ममा प्रयोगकर्ताहरूबाट उठाएको रकम दुरुपयोग गरी अन्य क्षेत्रमा लगानी गरेको र राजनीतिक अभियानहरूलाई चन्दा दिनेजस्ता गतिविधिमा खर्चिएको प्रमाणसहित सामका पूर्वसाझेदारहरूले दलिल पेस गरेका थिए । बिहीबारको सुनुवाइमा न्यायाधीश क्याप्लानले साम ‘असाध्यै प्रभावशाली राजनीतिक व्यक्त्ति बन्न चाहेको’ र उनले नियतवश रकम हिनामिना गरेको बताएका थिए । सो क्रममा सामले आफ्नो बाँकी जीवन काम लाग्ने नभएको अभिव्यक्ति दिएको बीबीसीले उल्लेख गरेको छ ।

क्रिप्टो बजारमा बुल मार्केट लक्षित भएर खोलिएको एफटीएक्स कम्पनी स्थापनाको तीन वर्षमै १८ अर्ब डलर कूल मूल्यांकनको कम्पनी बनेको थियो । सन् २०२१ को अक्टोबरमा ४२ करोड डलर लगानी प्राप्त भएसँगै कम्पनीको मूल्यांकन २५ अर्ब डलर पुगेपछि सामलाई त्यो बेला पहिलोपटक फोर्ब्स म्यागजिनले अर्बपतीहरूको सूचीमा राखेको थियो । फोर्ब्सले आफ्नो सबैभन्दा सफल विन्दुमा उनको कूल सम्पत्ती २२.५ अर्ब डलर रहेको अनुमान गरेको थियो भने कम्पनीको मूल्यांकन ३२ अर्ब अमेरिकी डलरसम्म पुगेको थियो ।

सन् २०२१ को अन्त्यतिर अकासिएको क्रिप्टो बजारमा सफलताको पर्याय बनेका एसबीएफले आफ्ना साझेदार र कर्मचारीहरूसँग मिलेर लगानीकर्ताहरूलाई कम्पनी वित्तीय स्वास्थ्यको बारेमा ढाँटेको आरोप लागेपछि कम्पनीको ओरालो यात्रा सुरू भएको थियो । त्यसको एक वर्षपछि क्रिप्टोसम्बन्धी समाचार लेख्ने क्वाइनडेस्कले एफटीएक्सले अर्बौं डलर अपचलन गरेको, फर्जी वित्तीय विवरण बनाएको समेत गम्भीर अनियमितताबारे खुलासा गरेको थियो । केही समय लगानीकर्ता र ग्राहकलाई आश्वस्त पार्ने प्रयास गरेका एसबीएफले सन् २०२२ को नोभेम्बरमा एफटीएक्स टाट पल्टिएको घोषणा गर्दै प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएको जानकारी दिएर भागेका थिए ।

एक महिनापछि उनलाई २०२२ को डिसेम्बरमा प्रहरीले बहमासस्थित उनको निवासबाट गिरफ्तार गरेको थियो । पूर्वअर्बपति क्रिप्टो व्यवसायी सो अभियोगमा आफू दोषी नरहेको जिकिर गरेका गर्दै आएका थिए । कानुनी प्रक्रियाको सुरूवातबाट नै आफू निर्दोष रहेको दाबी गर्दै आए पनि सामकी पूर्वप्रेमिका समेत ३ जना पूर्वसहकर्मीहरूले उनको विपक्षमा बयान दिएपछि सबै मुद्दाको प्रतिरक्षामा उनी कमजोर देखिएका थिए । मुद्दाको सुनुवाइमा संलग्न जुरीहरूले उनलाई ७ वटा अभियोगमा दोषी ठहर गरेका थिए । अमेरिकी न्यायधिवक्ताहरूले माग गरेबमोजिम ४०-५० वर्षको जेल सजाय नदिए पनि न्यायधीशले प्रतिवादी अधिवक्ताले मागे बमोजिम ५-१० वर्षको जेल सजाय दिन मानेनन् । ३२ वर्षका एसबीएफ जेलमुक्त भएर फेरि यस्तै अर्को अपराध गर्ने सम्भावना रहेको उनको राय थियो ।

पछिल्लो समय क्यालिफोर्नियास्थित बाबु-आमाको घरमा बस्दै आएका सामले बिहिबार सुनुवाईका क्रममा आफूले गल्ती गरेको र त्यसले आफूलाई हरेक दिन पिरोल्ने गरेको बताएका थिए । 'मेरा साथीहरूले असाध्यै राम्रो प्लाटफर्म विकास गरेका थिए, कुनै बेला ३२ अर्ब डलरसम्म मूल्यांकन गरिएको एफटीएक्स मैले बर्बाद पारेँ,' कैदीबन्दीले लगाउने फुस्रो रंगको जम्पसुटमा देखिएका सामले अदालतमा भनेका थिए, 'यो सबै भत्किएको देख्दा र ग्राहकहरूले पीडा खेप्नुपरेकोमा कम्पनीको सीईओका रूपमा म जिम्मेवार छु ।'

प्रकाशित : चैत्र १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?