कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासोन्मुख देशमा दिगो लगानी र सहुलियतपूर्ण ऋण दिन चीनलाई पौडेलको आग्रह

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले ग्लोबल डेलपमेन्ट इनिसिएटिभ (जीडीआई) बाट फाइदा हुने विश्वास व्यक्त गरेका छन् । चीनको बोआओ फोरम फर एसियाको ‘विश्वव्यापी विकासको पहल : विश्व शान्ति प्रवर्द्धन’ मञ्चमा बिहीबार बोल्दै उनले चीन नेपालको नजिकको छिमेकी भएकाले जीटीआईबाट लाभ हुने बताए ।

विकासोन्मुख देशमा दिगो लगानी र सहुलियतपूर्ण ऋण दिन चीनलाई पौडेलको आग्रह

‘व्यक्तिगत दृष्टिकोणले भन्नुपर्दा चीनको नजिकको छिमेकी नेपालले जीडीआईको सफलताबाट ठूलो फाइदा उठाउने छ,’ उनले भने, ‘पूर्वाधार विकास, प्रविधिजस्ता क्षेत्रमा सहकार्य हस्तान्तरण र क्षमता अभिवृद्धिले नेपालको राष्ट्रिय गतिलाई गति दिनेछ । विकासका प्रयासहरू अघि बढेकोमा हामी विश्वस्त छौं ।’

पूर्वअर्थमन्त्री पौडेलले जीडीआई परियोजनामा सहजीकरण गर्न तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन् । ‘हाम्रा विकास विशेष आवश्यकता, हाम्रो अर्थतन्त्रमा परिवर्तन ल्याउने र सम्बोधन गर्ने परियोजनाहरूमा सहजीकरण गर्न तयार छौं,’ उनले भने, ‘म बहुपक्षीय दृष्टिकोणप्रति चीनको प्रतिबद्धतालाई हृदयदेखि समर्थन गर्दछु । हामी दिगो र जीडीआईको लक्ष्यहरू सुनिश्चितता, समतामूलक विकास हासिल गर्न यो स्वीकार गर्छौं ।’

उनले पारदर्शिता र सहुलियतपूर्ण ऋणजस्ता सरोकारहरूलाई सम्बोधन गर्न’ चीनलाई आग्रहसमेत गरे । ‘विकासोन्मुख देशहरूको विशेष आवश्यकता, दिगो लगानी, ज्ञान बाँडफाँड र अनुकूल परियोजनाहरू अगाडि बढाउने मात्र होइन, जीडीआईको उद्देश्यलाई दह्रो बनाई यस भित्रको विश्वास र समावेशीतालाई पनि बलियो बनाउनुहोस् ।’

उनले जीडीआई सुरु गरेको चीनको प्रशंसा गर्दै ‘जनकेन्द्रित दृष्टिकोणअनुसार कुनै पनि देशलाई पछाडि नछोड्ने, गरिबीलगायत प्राथमिकताका क्षेत्रहरूलाई सम्बोधन गर्ने, खाद्य सुरक्षा, जलवायु परिवर्तन र डिजिटल विकास गर्ने नेपालको प्राथमिकता भएको’ बताए ।

उनले नेपाल सरकार हालै जीडीआईमा सहभागी हुने निर्णय गरेको जानकारी दिँदै चीनका राष्ट्रपति सी चिनफिङको मानवजातिको लागि साझा भविष्य, शान्ति र जोड दिने दर्शन अन्तरसम्बन्धसँग यो दृष्टिकोणसँग मिल्दोजुल्दो भएको बताए । ‘साँच्चिकै साझा भविष्य तबमात्र महसुस गर्न सकिन्छ, प्रगति र समृद्धिमा विकसित र विकासशील राष्ट्रहरूसँग समान अवसर हुन्छन्,’ उनको भनाइ थियो ।

‘नेपालले जीडीआईको ढाँचाको बहुपक्षीयतालाई महत्व दिन्छ र सक्रिय योगदान गर्न प्रतिबद्ध रहन्छ,’ उनले भने, ‘हामी सार्वभौमिक र लाभदायक दुवै विकास एजेन्डा प्रवर्द्धनमा चीन र समान विचारधाराका साझेदारहरूसँग काम गर्नेछौं,’ उनले भने, ‘खुला र रचनात्मक संवादको माध्यमबाट, सबै आवाजलाई सम्बोधन गर्दै विश्वको दिगो भविष्य, शान्तिपूर्ण र निर्माणको लागि जीडीआई शक्तिशाली शक्ति बन्नुपर्छ ।’

चीनले एमाले उपाध्यक्ष पौडेललाई फोरममा सहभागी हुन निम्ता दिएको थियो । नयाँ समीकरण बनेपछि पौडले चीनको उच्च फोरममा सहभागी भएका हुन् । यस पटकको बोआओ फोरम फर एसियामा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा सहभागी भएका छन् । सापकोटा उक्त फोरममा सहभागी हुन मंगलबार चीनतर्फ लागेका थिए ।

फोरममा नेपालको तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहभागिता जनाउने भनिएको थियो । तर उनी चीन भ्रमणमै व्यस्त हुने भएपछि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई पठाउने गृहकार्य भएको थियो । तर प्रधानमन्त्री दाहालले परराष्ट्र मामिला सल्लाहकार सापकोटालाई नै उक्त फोरममा नेपालको तर्फबाट नेतृत्व गर्दै सहभागी हुन निर्देशन दिएका थिए । बोआओ फोरम चैत १३ देखि १६ सम्म हुँदैछ ।

गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त फोरममा नगएर भारतको पहिलो पटक भ्रमण गरेका थिए । दाहालले उक्त भ्रमण रद्द गरेपछि चिनियाँ पक्षले असन्तुष्टि व्यक्त गरेको थियो । चीनको हैनान प्रान्तको बोआओ सहरमा उक्त फोरम हुँदै आइरहेको छ ।

प्रकाशित : चैत्र १५, २०८० २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?