कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना महामारीका विश्‍वव्यापी आयाम

तारानाथ सापकोटा

सारा विश्व कोरोनाको महामारीबाट आक्रान्त हुनुभन्दा ठीक अघिसम्म विश्वका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास बहस जुन विषयमा केन्द्रित थिए, ती एजेन्डाको सार्थकता एकाएक नाटकीय रूपमा समाप्त भएको छ ।

कोरोना महामारीका विश्‍वव्यापी आयाम

ज्ञान र चेतनाका आयामहरू आज अभूतपूर्व संकुचनका चरणबाट गुज्रिरहेका छन् । कोरोना महामारीको अन्त्यपछि विश्व पुरानै लयमा सुचारु हुनेछ भनेर सोच्नु अलिक हतारो हुन्छ । संसारभर देखिएको विकासको चरम युग, ज्ञानको विशालतम आयतन, राजनीति र अर्थशास्त्रको व्याख्या र आक्रामकता, समाजविज्ञानका दार्शनिक आधारहरूको जग कोरोनाको प्रहारबाट मूर्च्छित अवस्थामा पुगेका छन् । संसारभरिका व्यक्ति, समुदाय वा राष्ट्रहरूले आफ्ना शक्ति र सीमाहरूबारे स्पष्ट ज्ञान प्राप्त गरेको हुनुपर्छ यति बेला । गरिब र पिछडा भनेर चिनिएका देशहरूको त कुरै छाडौं, आफूलाई अति विकसित र महाशक्ति राष्ट्र भनेर गरेका दाबीहरूसमेत मिथ्या साबित भएका छन् । त्यस कारण आधुनिक मानव सभ्यताको सबैभन्दा ठूलो ‘ब्रेक थ्रु’ हुनेछ— कोरोना महामारी ।

उदार अर्थराजनीति र खुला समाजको बाटामा हिँडिरहेका पश्चिमी देशहरूमा नागरिकहरूले व्यक्तिगत स्वतन्त्रताको कसीमा सरकारका कदमको बर्खिलाफ गरेका घटनाहरू अहिले सामान्य लागे पनि कालान्तरमा यस्ता घटनाहरूले हाल अवलम्बन गरिएका अर्थराजनीतिक व्यवस्थाका कष्टहरूलाई बहसको केन्द्रमा ल्याउने सामर्थ्य राख्छन् । भविष्यमा देशहरूले अवलम्बन गर्ने अर्थराजनीतिक प्रणालीहरू यिनै घटनाका आलोकमा निर्धारित हुनेछन् । जस्तो कि, फ्रान्समा सरकारको आदेशलाई मानिसहरूले खुला चुनौती दिँदै त्यसको पालना नगरिदिँदा सरकार कडा रूपमा प्रस्तुत हुनुपरेको छ, जुन प्रजातान्त्रिक व्यवस्थाका निम्ति पहिलो चुनौती हो । त्यस्तै, इटालीमा सरकारका नियमहरू र अनुरोधलाई उचित संवेदनशीलताका साथ आत्मसात् नगरिँदा संक्रमण रोक्ने सरकारी कदमहरू नै असफल भैदिए । अकल्पनीय रूपमा संक्रमण फैलियो र इटालीले अहिलेसम्मको सबैभन्दा खराब स्थितिको सामना गर्नुपरेको छ ।

यद्यपि लोम्बार्दी — जहाँ कोरोना संक्रमण सबैभन्दा धेरै फैलिएको छ — इटालीकै सम्पन्न र विकसित क्षेत्र हो । त्यहाँको स्वास्थ्य प्रणाली र स्वास्थ्य सेवा विश्वकै अब्बल मानिँदै आएको थियो । अहिले बाध्य भएर सरकारले सेना परिचालन गर्दै अझै कडा नियमहरू अवलम्बन गर्नुपर्ने अवस्था आएको छ । अन्य पश्चिमा विकसित देशहरूको अवस्था पनि योभन्दा भिन्न छैन । व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत महत्त्वाकांक्षालाई बढी महत्त्व दिने यहाँको सामाजिक प्रचलनले संकटका बेला झनै संकट थपेको बोध गर्न मस्तिष्कलाई खासै खियाउनुपर्दैन । ‘द न्यारो करिडोर’ मा लेखकहरू उल्लेख गर्छन्— नियमकानुन नभएको ठाउँमा स्वतन्त्रता पनि हुँदैन । त्यसो भए के यी राष्ट्रले अहिले अंगीकार गरेका उदार प्रजातान्त्रिक र आर्थिक नीतिले भविष्यको स्पष्ट बाटो कोर्न सक्लान् त ? कोरोना महामारीले खडा गरेको महत्त्वपूर्ण प्रश्न हो यो ।

राष्ट्रहरूको क्षमता अर्को महत्त्वपूर्ण प्रश्नका रूपमा खडा भएको छ । अमेरिका लगायत युरोपका विशाल र शक्तिशाली देशहरूमा अहिले देखिएको अलमल, ढिलासुस्ती र कमजोरीले दर्साएको अक्षमता कसै गरी छोपिनेछैन । अर्कातिर, एसियाली देशहरूको पूर्वतयारी र आक्रामक योजनाहरूसहित कोरोना महामारीसँग जुधेका परिदृश्यले आउँदा दिनहरूमा हुन सक्ने विश्वव्यवस्था परिवर्तनलाई संकेत गर्छन् । आधारभूत सुरक्षाका सामग्रीहरूको चरम अभाव, अप्रभावकारी सरकारी नियम र कदमहरू अहिले युरोप र अमेरिका लगायतका विकसित देशहरूका चिन्ता हुन् । यी देशका मानिसहरूको सरकारी नियमहरूप्रतिको बेवास्ता र व्यक्तिकेन्द्रित सोच सम्पन्नताको अनुहारमा देखिएको दाग हो । परनिर्भरता आजको विश्वको सबैभन्दा ठूलो रोग हो र आफ्नै क्षमता विकास गरेर जुनसुकै संकटका लागि तयार नरहने हो भने कुनै बेला अस्तित्वकै संकट आउन सक्छ ।

इटालीमा पहिलो संक्रमण देखिएलगत्तै केही युरोपेली देशले सीमा बन्द गर्नुपर्ने कुरा उठाएको र अत्यावश्यक स्वास्थ्य सामग्रीको निर्यात बन्द गरेको घटनालाई क्षेत्रीय सहकार्यको खस्कँदो अवधारण र मानवीयताको ह्रासका रूपमा बुझ्दा अतिशयोक्ति हुँदैन । चर्चहरूमा सद्गतको पालो कुरिरहेका लासहरूले युरोपको सम्पन्नता र विकासको अर्को पाटोलाई उजागर गरेका छन् । अर्कातर्फ चीन, सिंगापुर, हङकङ, दक्षिण कोरिया लगायतमा देखिएको सरकारको दह्रो उपस्थिति, भौतिक सम्पन्नता, नागरिकहरूको सामूहिक भावना र जिम्मेवारीबोध संसारलाई आफ्नो दृष्टिकोण परिवर्तन गर्न बाध्य पार्ने केही प्रतिनिधि दृष्टान्त हुनेछन् । निकट इतिहासका सार्स, मार्स, स्वाइन फ्लु, इबोलाबाट यी एसियाली देशहरूले सिकेर जुन स्तरको तयारी गर्नुपर्ने थियो, त्यसमा कुनै कसर बाँकी राखेनन् ।

यद्यपि सुरुका दिनमा चीनका केही कमजोरी देखिएका थिए । इतिहासमा युरोप जसरी ज्ञान–विज्ञानको केन्द्र थियो, आज ज्ञान निर्माणको केन्द्र एसियामा सरेको अनुभूति धेरैले गरेका छन् । तर यो घटना ज्ञान निर्माणको तहमा मात्रै सीमित हुनेछैन । आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा बलियो एसियाले अब विश्वव्यवस्थामा निकै ठूलो हस्तक्षेप गर्ने ल्याकत पनि राख्छ भन्ने स्पष्ट भएको छ । कोरोनाको एकै प्रहारबाट आक्रान्त बनेको महाशक्ति अमेरिकाको ट्रम्प प्रशासन भने स्पष्ट बाटो नभेटेर बिलखबन्दमा छ र चुनावी गफमै सीमित छ ।

इपिडिमियोलोजिस्ट माइकल मारमोट तथा जनस्वास्थ्यविज्ञ क्लेर बाम्बरा, भिसेन्टे नाभारो, न्यान्सी क्रेगर जस्ता अनुसन्धाताहरूका ज्यादातर अनुसन्धान स्वास्थ्यलाई राजनीतिजस्तो समाजको उपरी संरचनाले कसरी दिशानिर्देश गर्छ भन्ने विषयमा केन्द्रित हुने गर्छ । उनीहरू स्वास्थ्यलाई राजनीतिक संरचना हो भन्ने तर्कमा विश्वास गर्छन् । स्वास्थ्य पनि एउटा बिक्री गर्न योग्य साधन हो भन्ने मानेपछि स्वास्थ्य व्यक्तिगत जिम्मेवारी हो भन्ने नवउदारवादी व्याख्याले कसरी संकटलाई गहिराउँदो रहेछ भन्ने तथ्यलाई कोरोना महामारीले राम्रैसँग बुझाएको हुनुपर्छ । स्वास्थ्य सेवालाई निजी क्षेत्रको नाफा कमाउने उद्योगका रूपमा विकास गरेका देशहरू (जस्तै— स्पेन, बेलायत) ले अहिले कोरोना महामारीसँग जुध्नलाई गर्नुपरेको कष्ट आफैंमा एउटा गतिलो शिक्षा हो ।

स्वास्थ्यलाई राज्यको जिम्मेवारीभित्र राखेका माथि उल्लिखित एसियाली देशहरूको भूमिका अन्यभन्दा राम्रो देखियो । महामारीसँग लड्न सक्ने क्षमता भएको स्वास्थ्य प्रणालीका लागि आवश्यक प्रविधि, उपकरणहरू, वैज्ञानिक र स्वास्थ्यकर्मीहरूको विकास गर्नु सबै राष्ट्रको अनिवार्य सर्त हुनु जरुरी छ । स्वास्थ्यलाई व्यक्तिगत जिम्मेवारी बढी र राज्यको प्राथमिकता कम मान्ने देशहरूले भविष्यको संकटका लागि कोरोना महामारीको यो घडीमा प्रकाशमा आएका सफल र असफल प्रयास साथै अर्थराजनीतिक सिद्धान्तलाई संकेतका रूपमा बुझ्न सक्छन् । त्यस कारण कोरोना महामारीका असरहरू महामारीमाथिको विजयपश्चात् अझै व्यापक बन्नेछन् ।

-सापकोटा नेदरल्यान्ड्सको मास्त्रिख्त विश्वविद्यालयमा सोसियल इपिडिमियोलोजी विषयमा विद्यावारिधि गर्दै छन् ।

प्रकाशित : चैत्र १३, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?