कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सदैव श्रोताका पक्षमा

पवन आचार्य

काठमाडौँ — नेपालमा रेडियो श्रोताको संख्या घट्दै गइरहेका बेला अमेरिकामा भने त्यस विपरीतको तथ्यांक सार्वजनिक भएको छ । द नेल्सन कम्पनीले गत जुनमा सार्वजनिक गरेको तथ्यांकमा रेडियोमा ९० प्रतिशतभन्दा बढी अमेरिकीको पहुँच रहेको देखिएको छ । टेलिभिजनको पहुँचमा ८६ प्रतिशत अमेरिकी रहेछन् । १८ वर्षमाथिका २४ करोड अमेरिकीले सबैभन्दा बढी रेडियो सुन्ने रहेछन्, जबकि सामाजिक सञ्जालमा धेरै समय बिताउनेको संख्या १७ करोड ७८ लाख रहेको सोही तथ्यांकमा उल्लेख छ । 

सदैव श्रोताका पक्षमा

सेयरकास्ट इनिसिएटिभले ४ हजार १ सय २९ जनामा गरेको ‘नेपाल मिडिया सर्वे, २०१९’ का अनुसार, ९१ प्रतिशत नेपालीले कम्तीमा एउटा मोबाइल सेट बोक्छन् । तीमध्ये आधाभन्दा बढीले स्मार्ट फोन प्रयोग गर्छन् । हाल ८० लाखभन्दा बढी नेपालीको फेसबुक एकाउन्ट छ । ८८ प्रतिशतभन्दा बढी नेपालीले फेसबुक चलाउँछन् भने ४५ प्रतिशतले मेसेन्जर ।


नेपालमा रेडियो श्रोताको संख्यामा कमी आउनुको प्रमुख कारण श्रोता चाहना र रेडियो सामग्रीबीच तालमेल नमिल्नु पनि हो । रेडियो सेट नभएकै कारण सुन्न नपाउनेहरूको संख्या पनि कम छैन । सेयरकास्टकै सर्वेक्षणले पनि ५५ प्रतिशतभन्दा बढीले रेडियो सेट नभएकाले रेडियो नसुन्ने गरेको देखाएको छ । रेडियो सेटबाट रेडियो सामग्री सुन्नेको संख्या ४८ प्रतिशत छ, जबकि मोबाइलबाट रेडियो सुन्नेहरू ५६ प्रतिशत छन् । पहिले रेडियो सुन्ने भए पनि अचेल छाडेका श्रोता ९ प्रतिशत छन् । रेडियो सञ्चालकहरूले अब श्रोता कतातिर छन् भन्ने बुझेर सोहीअनुसार आफ्ना सामग्रीलाई परिष्कृत र प्रविधिमैत्री बनाउन जरुरी भइसकेको छ ।


यति हुँदाहुँदै रेडियोलाई सूचनाको स्रोत मान्नेको संख्यामा कमी आएको छैन । समाचार र सूचना सम्प्रेषणमा टेलिभिजनपछि सबैभन्दा विश्वसनीय रेडियो नै देखिएको छ । ३५ प्रतिशतले टेलिभिजनलाई विश्वास गर्छन् भने ३० प्रतिशतले रेडियोलाई । अनलाइन पोर्टलहरूलाई केवल २ प्रतिशतले विश्वास गर्ने गरेको तथ्य सर्वेक्षणले देखाएको छ । ३८ प्रतिशतले टेलिभिजनलाई सूचनाको स्रोत मान्ने गरेका छन् भने ३६ प्रतिशतले रेडियोलाई । रेडियोको पहुँच विकट क्षेत्रमा समेत रहेकाले पनि यो संख्या बढेको हो । रेडियोको पहुँच नपुगेको नेपाली भूभाग अब सायदै छ ।


श्रोताको विविधतासँगै रेडियो कार्यक्रममा पनि विविधीकरण गर्नु अपरिहार्य भइसकेको छ । विषयगत रूपमा रेडियोलाई एउटै स्वादमा केन्द्रित गर्ने परिपाटी हामीकहाँ अलि कम छ । तर, जतिले त्यसलाई अपनाएका छन्, उनीहरू बिस्तारै लोकप्रियताको शिखर चढ्दै छन् । मनोरञ्जन र हास्यव्यंग्य प्रस्तुत गर्ने रेडियो अडियो उपत्यकामा लोकप्रिय छ । त्यस्तै, पछिल्लो समय गीत–संगीत मात्रै बजाउने रुस्लान एफएम रुचाइनेमै पर्छ । बाटाको अवास्थाबारे बुझ्न ट्राफिक प्रहरीले सञ्चालन गर्ने एफएम सुन्नेको संख्या पनि बढ्दै छ । यसले देखाउँछ— श्रोताको चाहना समयसँगै परिवर्तन हुँदै गइरहेको मात्रै छैन, विषयविशेषमा उनीहरूको रुचि पनि उत्तिकै बढ्दो छ । पहिले जस्तो एउटै रेडियोबाट सूचना, मनोरञ्जन, व्यंग्य, शिक्षा, स्वास्थ्य लगायतको जानकारी खोज्ने श्रोता अचेल छैनन् भन्दा हुन्छ ।


श्रोताले पनि आफू वरपरकै समाचार बढी सुन्न चाहने सोही सर्वेक्षणले देखाएको छ । ६९ प्रतिशतभन्दा बढीले स्थानीय गतिविधि र समाचार मन पराउने रहेछन् । राष्ट्रिय महत्त्वका घटनामा २४ प्रतिशतको रुचि हुँदा ४८ प्रतिशतले गीत–संगीतमा चाख रहेको बताएका छन् । कृषिसम्बद्ध कार्यक्रममा ९ प्रतिशत अनि महिलाका मुद्दा र सवालमा ६ प्रतिशतको रुचि छ । तर, रेडियो समाचारमा सबैभन्दा बढी समेटिने र प्राथमिकता पाउने राजनीतिक घटनाक्रम र दलगत समाचारमा केवल ५ प्रतिशतले चासो प्रकट गर्ने रहेछन् ।


चुनाव र दैवी विपत्तिका बेला सबैभन्दा बढी प्रभावकारी रेडियो नै देखिएको छ । छिनछिनमा अपडेट गराइराख्ने र प्रयोगका हिसाबले पनि सजिलो भएकाले त्यस्तो समयमा रेडियोको प्रयोग र लोकप्रियता दुवै बढ्ने गरेको छ । तर, सुख–दु:ख, आपत्–विपत्मा साथीको भूमिका निर्वाह गर्ने रेडियोले आफूलाई सदैव त्यही रूपमा किन उभ्याउन सक्दैन ? विपत्का बेला आफ्ना घरपरिवारभन्दा श्रोतालाई केन्द्रविन्दुमा राख्ने रेडियोकर्मीहरू अरू बेला त्यसै गरी किन खट्दैनन् ? यी र यस्ता अनेक प्रश्नको उत्तर खोज्ने बेला आइसकेको छ साथै हाम्रा रेडियोहरू कसरी र के उद्देश्यले सञ्चालन भइरहेका छन् भनी थाहा पाउने बेला पनि भइसकेको छ ।


गाउँघरतिर बूढापाकाले नयाँ पुस्तालाई कथा सुनाइसकेपछि ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला’ भन्दै बिट मार्थे । उति बेलादेखि नै श्रोतालाई कति महत्त्व दिइन्थ्यो भन्ने बुझ्न हामी सबै विगततर्फ फर्किए मात्रै पुग्छ । अचेल हाम्रा रेडियोहरू श्रोताकेन्द्रित कम र आत्मकेन्द्रित ज्यादा त भइरहेका छैनन् ? रेडियाकर्मीसँगै व्यवस्थापकहरूले समय घर्किनुअघि नै गहिरिएर सोच्ने बेला भएको छ ।


रेडियो कान्तिपुर पहुँचका हिसाबले रेडियो नेपालपछि दोस्रो हो । आफ्ना विविध प्रस्तुतिमार्फत यसले आफूलाई प्रमाणित गर्दै आइरहेकै छ । दूरदराजका र नसुनिएका कथा–व्यथालाई जस्ताको तस्तै सुनाउने, आशा र सम्भावनाका अनेक पाटा उजागर गर्दै लैजाने काममा पनि रेडियो कान्तिपुर सदैव सचेत छ । उपर्युक्त सर्वेक्षणअनुसार कर्णाली प्रदेशमा ७० प्रतिशतभन्दा बढीले रेडियो सुन्ने गरेका छन् तर उल्लेख्य श्रोता भएको त्यो भेगका समाचार र अन्य रेडियो सामग्री कति उत्पादन भए वा बजाइए त ? यसको लेखाजोखा गर्नुपर्ने बेला आइसकेको छ । सातै प्रदेशमा आफ्नो स्टेसन भएको रेडियो कान्तिपुर पनि अब श्रोताको चाहना बुझ्न उनीहरूकै माझ जाने समय भइसकेको छ ।


दु:खजति बिकाउ अर्थोक हुँदैन । साहित्यमा पनि आँसु बढी बिक्छ । पत्रकारितालाई हतारको साहित्य भनिन्छ, जहाँ पनि नकारात्मकताले बढी स्पेस पाइरहे जस्तो भान श्रोता, दर्शक र पाठकलाई पर्न थालेको छ । रेडियो तरङ्गमार्फत सकारात्मक ऊर्जा प्रवाहका लागि प्रेरणादायी प्रसङ्ग, सन्दर्भ र व्यक्तिलाई प्रस्तुत गरेर समाज रूपान्तरणमा भूमिका खेल्ने यत्नमा रेडियो कान्तिपुर आगामी दिनमा अझ सशक्त भएर लाग्नेछ किनभने रेडियो कुनै पनि राजनीतिक दल वा तिनका नेताको प्रभावमा पर्दैनन् भन्नेमा ८५ प्रतिशत श्रोता विश्वस्त छन् ।


श्रोताको यही अविचलित स्नेह र प्रेमलाई जीवन्त राख्ने क्रममा रेडियो कान्तिपुरले आफूलाई सदैव तटस्थ उभ्याएको छ । जुनसुकै घटनाक्रम र परिवेशमा पनि हाम्रो स्थान भनेको श्रोतापट्टि नै हो । कुनै अमुक राजनीतिक पार्टी, व्यक्ति वा संस्थाको पक्ष वा विपक्षमा उभिनेभन्दा पनि सन्तुलित र तटस्थ हुने यत्नलाई नै हामीले सर्वोपरि ठान्यौं, ठानिरहनेछौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सञ्चार माध्यमले प्रस्तुत गरेका समाचार र सूचनालाई आधार मानेर नेपाल प्रेस काउन्सिलले गरेको मिडिया अनुगमनमा पनि रेडियो कान्तिपुर अब्बल साबित भयो । यो सन्तुलित समाचार र तटस्थ विचार दिने रेडियो बन्नुमा पछाडि श्रोताको मार्गदर्शनले पनि भरपुर भरथेग गर्‍यो भन्ने हाम्रो बुझाइ छ ।


श्रोताका यिनै चाहनाको विविधतालाई दुई दशकदेखि सम्बोधन गर्दै आएको रेडियो कान्तिपुरले आगामी दिनमा आफ्ना सामग्रीलाई थप परिष्कृत गर्नुपर्ने देखिएको छ किनभने कुनै पनि सञ्चार माध्यमका लागि २० वर्ष भनेको निकै लामो समय हो । आफूलाई परिपक्व पार्दै सूचना र मनोरञ्जनको दुनियाँमा नयाँ मानक स्थापित गर्नका लागि व्यावसायिक एफएमहरूमाझ अभिभावकीय भूमिका निर्वाह पनि रेडियो कान्तिपुरले नै गर्नुपर्छ । नेपालमा व्यावसायिक रेडियो प्रसारणको इतिहास रेडियो कान्तिपुरसँगै जोडिएकाले यो जिम्मेवारीलाई बोक्ने अभिभारा पनि यसकै काँधमा छ । पछिल्ला दुई दशकमा रेडियो कान्तिपुरले यसका लागि देखाएको अग्रसरता सबैसामु छर्लङ्ग छ ।


कार्यक्रममा विविधता, सूचना सङ्कलनदेखि प्रसारणसम्म गुणस्तरीयता र प्रविधिमा नयाँपन खोज्न जरुरी भइसकेको छ । साथै संघीयता कार्यान्वयनमा स्थानीय तहलाई बलियो पार्दै लैजाने क्रममा स्थानीय समाचार र विषयलाई मूलधारमा स्थापित गराउनु र भाषिक, क्षेत्रीय र जातीय विविधतालाई समेत सम्बोधन गर्नु समयको माग हो ।

प्रकाशित : मंसिर २७, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?