व्यक्ति होइन प्रवृत्ति फेर्नुपर्छ

डा. डिला संग्रौला -पन्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको करिब २० महिनापछि आफ्नो सचिवालयका सबैलाई राजीनामा गर्न लगाउनुभएको छन् भने, मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । कामकारबाहीमा ढिलासुस्ती भएको, परिणाममुखी कार्यसम्पादन हुन नसकेको, सरकारको आलोचना बढ्दै गएका कारण यस्तो फेरबदल गर्न लागिएको सुन्नमा आएको छ । तर प्रधानमन्त्रीले व्यक्ति फेर्नुभन्दा पनि आफ्नो प्रवृत्ति सच्याउनु चाहिँ अत्यावश्यक छ । 

व्यक्ति होइन प्रवृत्ति फेर्नुपर्छ

मुलुकमा भ्रष्टाचार, महँगी, असुरक्षा, ढिलासुस्ती, कालोबजारी व्याप्त छ । शान्ति, समृद्धि, विकास र सुशासन कागजमा सीमित भएका छन् । सरकार जनसवाल, जनजीविका र जनसरोकारबाट धेरै टाढा छ । यस्तो हुनुमा व्यक्तिको दोष हो कि प्रवृत्तिको ? पहिचान गर्न जरुरी छ । सरकार र सचिवालय चुस्त–दुरुस्त बनाउने हो भने, पहिला प्रधानमन्त्रीले नै आफ्नो कार्यशैली फेर्नुपर्ने देखिन्छ । व्यक्ति जति हेरफेर गरे पनि सुखद परिणामको प्रत्याभूति हुँदैन । किनभने सत्ता र शक्तिको उन्मादमा अपारदर्शी ढंगले कार्यसम्पादन गर्ने र सम्पत्ति थुपार्ने शैली क्यान्सरजस्तै झाँगिएको छ । त्यसैले व्यक्ति परिवर्तन गौण हो, प्रवृत्ति, सोच र कार्यशैली प्रमुख हो । सुधारप्रति प्रधानमन्त्री साँच्चै प्रतिबद्ध हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिन जरुरी छ—


राजनीतिक पूर्वाग्रह : कहिले को सत्तामा पुग्छ त कहिले को । तर सरकार प्रमुखले सबैलाई समान व्यवहार गर्नुपर्छ । प्रधानमन्त्रीले राजनीतिक चस्मा लगाएर मुलुक चलाउन थाले गतिहीनता झाँगिन्छ । अहिले नेकपा सरकारका जुनसुकै गतिविधि राजनीतिक पूर्वाग्रहयुक्त छन् । नेपाली कांग्रेसले नियुक्त गरेका प्रदेश प्रमुखहरूको बर्खास्तगी यसको गतिलो उदाहरण हो । त्यस्तै, संवैधानिक निकायमा नियुक्ति पनि प्रतिपक्ष दलको नेताको अनुपस्थितिमै गरिएको छ । राष्ट्र बनाउन सत्ता र प्रतिपक्ष दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्रीले बिर्सन हुन्न ।


दलालको घेरा : सत्ता–शक्तिको उपयोग गर्न, त्यसबाट लाभ उठाउन दलालहरूले प्रधानमन्त्रीलाई घेराबन्दीमा राख्ने कोसिस गर्छन् । अहिलेका प्रधानमन्त्री त्यस्तै स्वार्थी व्यक्ति/समूहको घेराभित्र रुमलिरहनुभएको छ ।


दुईतिहाइको दम्भ : प्रधानमन्त्रीमा प्रचण्ड बहुमतको दम्भ देखाउने प्रवृत्ति हावी छ । दम्भले सर्वसत्तावादलाई जन्म दिन्छ, निरंकुश शैलीलाई अभिप्रेरित गर्न सक्छ । त्यसैले दुईतिहाइको जित केही होइन भन्दै राष्ट्र निर्माणको मूल अभियानमा जुट्नु राम्रो हुन्छ ।


कार्यशैली : सरकार कति लोकप्रिय छ र कति अलोकप्रिय भनी जाँच्ने कसी हो— उसको कार्यशैली । तर यो सरकारका मन्त्रीहरूदेखि प्रधानमन्त्रीसम्मको कार्यशैली रुचिकर छैन । अपारदर्शी तौरतरिकाले कसैलाई हित गर्दैन ।


छुच्चो स्वभाव : जताततैबाट सधैं टिप्पणी आउने गर्छ— प्रधानमन्त्रीको स्वभाव छुच्चो छ, उहाँ आफ्ना विरोधी वा आलोचकलाई सधैं घोचपेच गर्नुहुन्छ । प्रधानमन्त्रीलाई यस्तो स्वभाव सुहाउँदैन । प्रतिपक्ष दलप्रति असहिष्णु व्यवहार देखाउने, हरेकलाई निम्छरो सोच्ने काम उहाँले बन्द गर्नुपर्छ । त्यस्तै, प्रधानमन्त्रीजस्तो व्यक्तिले खुला रूपमा आफ्ना कार्यकर्तालाई अरिंगाल बनेर विपक्षी एवं विरोधीमाथि जाइलाग्न निर्देशन दिनु कुनै पनि कोणबाट उपयुक्त थिएन । मुलुक सद्भाव, समन्वय, सहकार्य र एकताले मात्र बन्छ, अरिंगाले प्रवृत्तिले होइन । बाँकेको खजुरा गाउँपालिकामा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान चलिरहेका बेला नेकपाका कार्यकर्ताले तोडफोड गर्दै हाम्रो पार्टीका जिल्ला सभापति किरण कोइरालाको हात भाँचिदिनु आपराधिक प्रवृत्ति हो ।


अधिनायकवादी सोच : वर्तमान सरकार संघीय लोकतान्त्रिक–गणतान्त्रिक संविधानलाई टेकेर बनेको हो । आवरण भने अधिनायकवादी र निरंकुश छ । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका जस्ता मूल्य–मान्यता एवं संविधानका भावना विपरीत उसले मिडिया काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, गुठी, राष्ट्रिय सुरक्षा परिषद् जस्ता विभिन्न विधेयक अधिनायकवादी शैलीमा ल्याउने काम गर्‍यो ।


झापामा मात्रै ध्यान : सरकारको नीति तथा कार्यक्रम र बजेटमा अधिंकाश बजेट प्रधानमन्त्रीको जिल्ला झापामा खन्याइएको छ । केही राजनीतिक नियुक्ति गर्दा पनि झापालाई केन्द्रमा राख्ने गरिएको छ । मेची नगरप्रमुखमा हारेका व्यक्तिलाई प्रदेश ३ को प्रमुख बनाउने जस्तो शैली प्रधानमन्त्रीले त्याग्नुपर्छ ।


सही ठाउँमा सही व्यक्ति : भनिन्छ, सरकारले सफलता तब मात्र पाउँछ, जब सही व्यक्तिले सही ठाउँमा नियुक्ति वा अवसर पाउँछन् । तर यो पनि हाम्रा प्रधानमन्त्रीमा लागू भएको देखिँदैन । योग्यता, क्षमता र दक्षतालाई विशेष प्राथमिकता दिँदै सही व्यक्तिलाई सही ठाउँमा चयन गरे मात्र सरकार अगाडि बढ्न सक्छ ।


चुनावी वाचाको सम्झना : हाम्रा प्रधानमन्त्रीले चुनावअगाडि ठूलठूला वाचा–बन्धन गरेर जनताको मत हासिल गर्नुभयो । सुशासन, शान्ति र समृद्धि उहाँका प्रमुख वाचा थिए । तर कुनै पनि वाचा पूरा हुन सकेन । जनताको आशा र भरोसामा तुषारापात भयो । प्रधामन्त्रीले चुनावी वाचालाई पूरा गर्नैपर्छ ।


भाषण अनुसारको व्यवहार : प्रधानमन्त्री धेरै मीठो भाषण गर्नुहुन्छ । उखान–टुक्काले भरिपूर्ण हुने गर्छ उहाँको भाषण । तर उहाँले भाषण अनुसारको काम गर्न सक्नुभएको छैन ।


झुटा प्रचार : प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आर्थिक श्वेतपत्र जारी गर्न लगाउनुभयो । त्यसमा उहाँको तर्क थियो— नेपाली कांग्रेसका पालामा अर्थतन्त्र टाट पल्टिएकाले यो गर्नुपरेको हो । तर अहिले पनि शोधनान्तर घाटा, व्यापार घाटाका कारण आर्थिक अवस्था सुध्रिन सकेको छैन । प्रधानमन्त्रीले संसदमा झुटो आर्थिक विवरण पेस गर्नुभयो, सामाजिक सुरक्षा अभियानका नाममा ‘नयाँ युगको सुरुवात’ भन्दै आफ्नो पोस्टर पोलपोलमा टाँस्न लगाएर आफू शक्तिहाली भएको देखाउने कोसिस गर्नुभयो ।


हाम्रा राष्ट्रवादी प्रधानमन्त्रीले यो मुलुकमा लोकतन्त्र ल्याउन ठूलो संघर्ष र बलिदान गर्नुभएको छ । त्यसैले उहाँ देशका लागि कुनै दिगो र राम्रो काम गर्ने अठोटसाथ अगाडि बढ्नुपर्छ ।


लेखक प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?