१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विद्यार्थी टिकाउन १६५ ब्याजमा ऋण

अर्जुन राजवंशी

(बिर्तामोड) — शिवसताक्षी–६ स्थित सरस्वती प्राविमा तीन वर्षयता पर्याप्त विद्यार्थी छन् । तर तिनलाई टिकाउन विद्यालयले ऋण लिनुपरेको छ । शिक्षकहरू आफैं जमानी बसेर सहकारीबाट १६ प्रतिशत ब्याजमा ऋण लिएका छन् । त्यही पैसाबाट विद्यार्थीलाई बस र दिवा खाजा व्यवस्था गरिएको छ । 

विद्यार्थी टिकाउन १६५ ब्याजमा ऋण

विद्यालयमा अहिले झन्डै दुई सय विद्यार्थी छन् । यो वर्ष मात्रै आसपासका बोर्डिङ छाडेर ८२ विद्यार्थी आएका छन् । भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र फर्निचर पनि पुग्दो छ । विद्यार्थी घट्न थालेपछि विद्यालयले ०७४ माघदेखि मासिक १० हजार रुपैयाँमा सिटी सफारी भाडामा लिएर यातायात सुविधा दिएको थियो । ‘यातायात सुविधा भएपछि विद्यार्थी बढ्ने रहेछन् भन्ने निष्कर्षमा पुग्यौं । त्यसपछि ऋण खोजेर ०७५ को नयाँ शैक्षिक सत्रदेखि चल्ने गरी पुरानो २२ सिटे बस खरिद गर्‍यौं,’ प्रधानाध्यापक गणेश घिमिरेले भने ।


विद्यालयले सबै विद्यार्थीलाई दिवा खाजासमेत दिने गरेको छ । बुलुचोक, जनता बजार, हल्दारचोक, शिवगन्ज बजार, धौलेचोक आसपासका १ सय ५० विद्यार्थी स्कुलको बस चढ्छन् । ‘पहिला विद्यार्थी संख्या नभएर विद्यालय चलाउन समस्या थियो । अहिले विद्यार्थी धेरै भएर गाह्रो भइरहेको छ,’ शिक्षक कृष्णप्रसाद गुरागाईंले भने । बस किन्न शिक्षकहरू आफैं सहकारीमा जमानत बसेर ५ लाख ३० हजार रुपैयाँ ऋण लिएका थिए । बालविकासदेखि कक्षा ५ सम्मकै विद्यार्थीलाई खाजा खुवाउँदा मासिक १२ हजार रुपैयाँ खर्च हुने गरेको विद्यालयले जनाएको छ ।


स्थानीय सरकारले सहयोग नगरेपछि विद्यालयले चार शिक्षकलाई निजी स्रोतबाट तलब दिँदै आएको छ । नगरपालिकाका तर्फबाट खटिएका एक बालविकास शिक्षकको तलबमा एक हजार र कर्मचारीलाई थप तीन हजार रुपैयाँ निजी स्रोतबाट व्यवस्था गरिएको प्रअ घिमिरेले बताए । उनका अनुसार बस चालकलाई मासिक ११ हजार, सहचालकलाई ५ हजार, इन्धन खर्च मासिक २६ हजार र मर्मतमा ८ हजार रुपैयाँ खर्च हुने गरेको छ । ‘स्कुल बसको सेवाबापत अभिभावकबाट मासिक ४० हजार रुपैयाँ संकलन हुन्छ । यो पैसाले बसचालक, सहचालक, इन्धन र मर्मत गर्न जेनतेन पुग्छ,’ घिमिरेले भने, ‘अन्य खर्च कुनै सहयोगी भेटे मागेर चलाउँछौं । होइन भने थप ऋण खोजेर चलाउनुपरेको छ ।’ स्थानीय लायन्स क्लब, भूपू विद्यार्थी, बैंक, सहकारी संस्था, स्थानीय शिक्षासेवी, समाजसेवीलगायतसँग सहयोग तथा ऋण माग्ने गरिएको उनले बताए । विद्यार्थी संख्या बढेकाले थप शौचालय, शुद्ध खानेपानी र पर्याप्त खेलमैदान छैन । विद्यालयको जमिन साढे तीन कट्ठा मात्र छ ।


नगरपालिकाले वार्षिक ७५ हजार रुपैयाँ मात्र दिने गरेको शिक्षक गुरागाईंले बताए । ‘उक्त पैसाले भौतिक तथा शैक्षिक खर्च धान्न पुग्दैन,’ उनले भने । गत वर्ष वडा कार्यालयले वार्षिक एक लाख र चालु वर्षका लागि डेढ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष मनोज कार्कीले बताए । ‘विद्यालयको अवस्थामा सुधार आएकाले वडा कार्यालयबाट सकेजति सहयोग गरिरहेको छु,’ उनले भने ।


प्रकाशित : भाद्र ४, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?