बाल दिवसले यस्तो सिकायो
बिहानीको सूर्यको किरणसँगै मीठो निद्राबाट बुँझिएँ म । मन त्यसैत्यसै रोमाञ्चित भइरहेको थियो, कारण हाम्रो विद्यालय इडन ब्रिज एकेडेमीले बाल दिवस मनाउने भनेर प्रिन्सिपल प्रेम राई सरले भन्नुभएको थियो ।
हरेक वर्ष हाम्रो विद्यालयले बाल दिवस र गुरुपूर्णिमा विशेष कार्यक्रम गरेर मनाउँछ । यसपालिको बाल दिवस भव्य रूपमा मनाउने भनेर गुरु गुरुआमाले भनेको सुन्दा सबै खुसी थियौं । विद्यालय पुग्दा सबै तयारी भइसकेको थियो । अतिथिहरू आउने क्रम थियो । सजिसजाउ स्टेज देखेर मन फुरुङ भयो । पहिलेपहिले बाल दिवस भदौ ४ गते मनाइन्थ्यो । तर लोकतन्त्र आएपछि भदौ २९ गते मनाउन थालिएको हो । प्रिन्सिपल सरले एक महिनाअघिदेखि नै यसपालिको बाल दिवसमा सबैले आ–आफ्नो संस्कृति झल्कने भेषभूषा लगाएर आउन भन्नुभएको थियो । सबै गुरु, गुरुआमा र विद्यार्थी आ–आफ्नो पहिचान झल्कने भेषभूषामा चिटिक्क थिए । यसले एउटा बेग्लै शिक्षा दिएको थियो, कुन समुदायको सांस्कृतिक पोसाक कस्तो हुन्छ भनेर । विभिन्न रंगीविरंगी भेषभूषा लगाएर विद्यार्थी यताउता गर्दा विद्यालय सुन्दर फूलबारीझैं देखिएको थियो ।
बाल दिवसको उद्घाटन ठूलो केक काटेर टोखा नपा ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो र हाम्रो स्कुलको बाल क्लब हेड बिना राईलाई केक खुवाएर कार्यक्रम सुरु भयो । त्यसपछि सबैलाई केक वितरण गरियो । बाल साहित्यमा कमल चलाउनु हुने साहित्यकारहरू तारा केसी र श्रीराम राईलाई विद्यालयले नगदसहिद सम्मान गर्यो । साहित्य लेख्दा पनि ठूलो इज्जत, मान प्रतिष्ठा हुँदो रहेछ भनेर जान्ने मौका पाएँ । विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार दिइयो । सबै विद्यार्थीलाई बाल दिवसका अवसरमा विद्यालयले उपहार दिएको थियो । उपहार पाएर मनै फुरुङ भयो । धेरै बालबालिका हामी जसरी स्कुल जान पाएका छैनन् । अब तिनका लागि केही गर्नुपर्छ भन्ने भावना जागेको छ । हाम्रा प्रिन्सिपल भन्नुहुन्छ केही नगरी केही हुँदैन । त्यसैले स्कुल जान नपाएका बालबालिकाहरूका लागि दिनको एक रुपैयाँ उठाएर एउटा कोष बनाउने मन छ । हाम्रो स्कुलमा सबैले दिनको एक रुपैयाँ उठाउँदा पनि वर्षमा करिब डेढ लाख हुने रैछ । त्यो पैसा आर्थिक रूपमा विपन्न बालबालिको शिक्षामा खर्च गर्न सकिन्छ । सच्चा बाल दिवस पनि यही हो भन्ने लाग्छ । कोही बालबालिका पनि निरक्षर नहोस्, शिक्षाको अभावमा अवसरबाट वञ्चित नहोस् ।
ईशा सिथुङ मगर
ईडन ब्रिज एकेडेमी