यौन जिज्ञासा र समाधान»

यौन जिज्ञासा र समाधान

• डा. राजेन्द्र भद्रा


प्रश्न ः म ४० वर्षीय विवाहित पुरुष हुँ । मेरो विवाह भएको १५ वर्ष भयो । तीन सन्तान छन् । पहिलो सन्तान तीन वर्षको भयो । एक वर्षअघि मैले स्थायी बन्ध्याकरण गरेको थिएँ । त्यसपछिदेखि मेरो यौनचाहनामा निकै कमी आएको  अनुभव गरेको छु । यौनसम्पर्क पनि १० दिनमा एक पटक मात्र गर्छु । सम्पर्क गर्दा लिंग पूर्ण रूपमा उत्तेजित हुन्छ तर जति चले पनि स्खलन हुँदैन र यदि भैहाले पनि थोरै हुन्छ । जसले गर्दा लिंग पोल्ने र दुख्छ । मलाई पूर्ण यौनसन्तुष्टि  प्राप्त भएको छैन जसले गर्दा मानसिक तनाव बढेको छ । श्रीमतीलाई चाहिँ केही फरक परेको छैन । उनलाई पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यौनजन्य चलचित्र तथा पत्रपत्रिका हेर्दा र पढ्दा पनि पहिलेजस्तो यौन उत्तेजना हुँदैन । म हस्तमैथुन  पनि गर्दिनँ । अब मैले के गर्नुपर्ला ?

- जी.एस.

उत्तर ः विवाह गरेको १५ वर्ष र पहिलो सन्तान ३ वर्ष भएको अनि स्थायी बन्ध्याकरण एक वर्षअघि नै गरिसकेको कुरा केही नमिलेजस्तो लागेको छ, स्पष्ट पारेर लेखिदिनुभए सजिलो हुने थियो ।

पुरुष स्थायी बन्ध्याकरण र यौन 

कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्ग हुने वा गरिने कुनै पनि कुराप्रति निकै सजग हुन्छ । त्यसमा पनि यस्तो शल्यक्रियाको कुरा गर्दा चासो, चिन्ता मात्र होइन, एक किसिमको भयले नै सताउँछ । बन्ध्याकरण गर्न लाग्दा कतै  पुरुषत्व वा नारीत्व नै गुमाउँछु कि वा यौनआनन्द नै पाइँदैन कि भन्नेजस्ता प्रश्नले सताउँछ । पुरुष बन्ध्याकरण अर्थात् भ्यासेक्टोमीलाई खसी पारिएको भन्ने मिथ्या धारणाको व्यापकताले पनि असर पारिरहेको हुन्छ । गोरु वा खसी बनाइँदा  अण्डकोषलाई पोषण पुर्‍याउने रक्तनशा वा अन्य स्नायु सबै नष्ट गरिन्छन् । यसो गर्दा अण्डकोषले आफ्नो कार्यसम्पादन गर्न नसक्ने हुन्छ, तर पुरुष बन्ध्याकरण गर्दा अण्डकोषदेखि वीर्यथैलीसम्म शुक्रकीट ओसार्ने नली -शुक्रवाहिनी नली)  लाई मात्र काटिन्छ, त्यसैले वीर्य उत्पादन र स्खलन भए पनि शुक्रकीट नभएकाले गर्भ रहँदैन । अन्य रक्त तथा स्नायु प्रणालीका नशा यथावत नै हुन्छन्, त्यसैले अण्डकोषले हार्मोनको निष्कासनजस्ता कार्य निरन्तर रूपमा गर्न सक्छ ।

के यौनआनन्द पाइन्छ ?

नपाइने कुरै छैन । बन्ध्याकरण गर्दा यी यौन आनन्द प्राप्त गर्ने कार्य प्रणालीमा कुनै किसिम नकारात्मक असर पर्दैन, यौनसम्बन्धी व्यग्रता र भावनाहरू यथावत् नै रहन्छन् । यौनेच्छालाई प्रभावित पार्ने महत्त्वपूर्ण रागरस -हार्मोन) टेस्टेस्टेरोन  हो । बन्ध्याकरण गरे पनि अण्डकोषको यस हार्मोन उत्पादन गर्न सक्ने क्षमतालाई कुनै नकारात्मक असर गर्दैन । त्यसैले पुरुषको यौनेच्छामा कुनै कमी आउँदैन । यस शल्यक्रियाले यौनेच्छामा यसरी नकारात्मक प्रभाव पार्दो हो त लाखौं  व्यक्तिले आफ्ना लागि यो गर्भनिरोधको सबैभन्दा उपयुक्त उपाय हो भनेर छनौट गर्दैनथे होलान् ।

किन गाह्रो भएको होला ?

ब्नष्लन -एजिङ) अर्थात् समयको गतिसँगै उमेर बढ्नु र त्यसका साथै शरीर अनि यसको कार्यसम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य अनि निरन्तर भैरहने प्रक्रिया हो । यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता  दुवैमा देखिन्छ । पक्कै यौनसम्बन्धी कुरामा पनि यस्तो हुने नै भयो । उमेर बढ्दै जाँदा युवा अवस्थाको तुलनामा कतिपय परिवर्तन हुन्छन् । लिङ्ग उत्तेजना पहिलेको जस्तो नहुन सक्छ । लिङ्ग उत्तेजित हुन नै धेरै समय दिनुपर्ने र मेहनत  गर्नुपर्ने हुन्छ । चरमसुखको स्थितिमा पुग्न पनि धेरै समय लाग्न सक्छ र  वीर्य स्खलन थोरै र कहिलेकाहीं नहुन सक्छ । यी परिवर्तन स्वाभाविक हुन् । यसबाहेक कतिपय दीर्घरोग, अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि  यौन जीवनमा नकारात्मक रूपमा देखिन सक्छ ।

के गरे फाइदा पुग्ला ?

यौनसँग सम्बन्धित यस्ता कतिपय कुरामा परिवर्तन भए पनि धेरैजसो व्यक्तिले आफूमा पर्याप्त यौन चाहना भएको र त्यसलाई निरन्तरता दिन चाहने कुरा स्पष्ट रूपमा बुझेका हुन्छन् । तपाईंले आफ्नो यौनजीवनलाई निरन्तरता  दिइरहनुभएको कुराले पनि त्यसैलाई संकेत गर्छ । यौनसम्बन्धी क्रियाकलापमा हुने कमीका कारणले कुरा गर्दा उमेर अनि त्यस सँगसँगै आउने शारीरिक परिवर्तन पक्कै महत्वपूर्ण कारण हो, तर सबै दोष त्यसलाई मात्र दिन मिल्दैन ।  भनिन्छ, शारीरिकभन्दा पनि सामाजिक पक्षसम्बन्धी कारणले पाका व्यक्तिका यौनजीवनमा नकारात्मक प्रभाव पार्छ । गहिरिएर विचार गर्ने हो भने यो कुरामा सत्यता पाइन्छ ।

प्रमुख कुरा त पाका उमेरका व्यक्ति यौनसम्बन्धी कुरामा सक्रिय हुँदैनन् वा हुनु हुुँदैन भन्ने मानसिकतावाट बाहिर निस्कनुपर्छ । त्यसका साथै पाका व्यक्तिहरूले आफ्नो यौन जीवनमा सुधार ल्याउन अनेक उपाय गर्न सक्छन् ।

दम्पती बीच एक-आपसमा खुला र प्रभावकारी कुराकानी पाका व्यक्तिका यौनजीवनको सुधारका लागि आवश्यक कुरा हो । योनि सुख्खा भएर कुनै नकारात्मक प्रभाव परेको भए पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड)  प्रयोग गर्न सकिन्छ अथवा थूक राम्रो विकल्प हुनसक्छ । एकनासेपनबाट मुक्ति पाउनु महत्त्वपूर्ण छ । नयाँ आसनको प्रयोगले यौनजीवनमा नयाँ ऊर्जा दिन्छ । त्यसका साथै यौन क्रियाकलापमा नयाँ कुराका खोज तलास गर्नुको आफ्नै  रमाइलो हुन्छ । कामकाजमा व्यस्त व्यक्ति पनि थकाइ लागेको बेलामा यौनसम्पर्कका लागि प्रयास गर्छन् अनि असफलता भोग्छन् । पर्याप्त आरामपछि कुनै पनि समयलाई यौनसम्पर्कका लागि रोज्न सकिन्छ । रातभरिको आरामपछि  बिहानीपख यौनसम्पर्कमा संलग्न हुनुले फाइदा नै पुर्‍याउन सक्छ ।

प्रकाशित अंकहरू