फेसन»

चल्यो चुडिदारको चलन

रोजिन शाक्य

यदि सुन्दर आकर्षक एवं लामो खुट्टाको चाहना राख्नुभएको छ भने चुडिदार तपाईंका लागि उपयुक्त उपाय हुन सक्छ । खुट्टाको सुन्दरतालाई अझ उभार्नुका साथै स्लिम इफेक्ट दिने भएकाले चुडिदारप्रति महिलाहरूको विशेष लगाव देख्न  सकिन्छ । यसको उपयोगिता, सुविधा र स्टाइलका कारण यसप्रतिको अपिल बढ्दै गएको कुरालाई नकार्न सकिँदैन । एथनिक लुक र आधुनिक स्टाइलको आकर्षणका कारण चुडिदारप्रति क्रेज बढ्दै गएको हो ।

मैतीदेवी निवासी २२ वषर्ीया सुनन्दाले डिल्लीबजार हुँदै बागबजारको क्यालिडोन कम्प्लेक्ससम्म आइपुग्दा आफूलाई सुहाउँदो चुडिदार कुर्ता-सलवार छान्न करिव तीन घण्टा बिताइसकेकी थिइन् । चुडिदार नै

किन ? भन्ने प्रश्नमा आफूले छनौट गरेको मरुन रंगको चुडिदार कुर्ता-सलवार देखाउँदै उनले भनिन्- 'क्याजुयल ड्रेस त जहिले पनि लगाइन्छ, विशेष अवसरमा एथनिक लुक दिने र लगाउँदा सहज र एलिगेन्ट पनि देखिने भएकाले  चुडिदार छानेकी हुँ ।'

उता डिजाइनर मञ्जुला नकर्मीको बुटिकमा आफूले सिलाउन दिएको कुर्ता लिन आएकी बौद्ध निवासी अर्चना कायस्थ आफ्नो कुर्ता देखेर मख्ख थिइन् । उनको चाहनाअनुसार डिजाइनर मञ्जुलाले उनलाई फ्लावर मोतिफ भएको स्ट्रेट फिट  चुडिदारका साथमा ब्रस्ट लाइनमा ब्रोकेड प्रयोग गरिएको रानी रंगको कुर्ती र त्यसमाथि फुलस्लिभ भएको नेटको सर्ट, ज्याकेट तथा पर्पल रंगको नेट सल तयार गरिदिएकी थिइन् ।

कुर्ताको डिजाइन र लम्बाइ रोजाइअनुरूप फरक-फरक देखिए पनि सलवारमा भने अधिकांशले चुडिदार शैली रोज्ने गर्ने गरेको सम्बन्धित व्यवसायीहरूको कथन छ । डिजाइनर वेयर रुचाउनेहरूमा पनि चुडिदारप्रति उत्तिकै क्रेज देख्न  पाइन्छ । अधिकांश बुटिकका म्यानिक्विमा सजाइएका चुडिदार सलवार तथा कुर्ताको जोडाले यही कुरालाई पुष्टी गर्छ ।

मूलतः चुडिदार टाइट फिटिङ शैलीको ट्राउजर जस्तै हो जुन घुूडाभन्दा मुनि टाइट हुन्छ भने घुूडाभन्दा माथि लुज र सुविधाजनक शैलीको हुन्छ, हिप, थाई र एङ्कलमा टाइट फिटिङ हुने भएकाले यसले एङ्कल लेन्थ लेगिङको पनि आभास  गराउँछ । चुडिदारलाई ब्यागी शैलीको ड्र-स्टि्रङ ट्राउजरका रूपमा पनि लिइन्छ जुन लोअर काल्फतिर टाइट हुन्छ । ट्रेडिसनल चुडिदारलाई इजार प्रयोग गरी कम्मरमा बाँधिन्थ्यो भने अहिले प्रचलनमा रहेका चुडिदारमा ड्र-स्ट्रङ प्रयोग  गरिएको पाइन्छ । ड्र-स्टि्रङका अतिरिक्त इलास्टिक बेल्ट, हुक वा साइड जिपरको पनि प्रयोग पाइन्छ । खुट्टाको लम्बाइभन्दा लामो हुने भएकाले यो खुट्टाको लोअरमा काल्फ एरियातिर विभिन्न फोल्ड वा क्रिजका रूपमा रहन्छ ।

धेरै चुरा पहरिएजस्तै इफेक्ट प्राप्त हुने भएकाले यसले चुडिदारका रूपमा परिचय बनाएको मानिन्छ । चुडिदार प्लेन डिजाइनको भए पनि यसमा आकर्षक मोटिफ, पि्रन्टेड स्टाइल, इम्ब्रोइडरी, जरदोजी, सिक्वेन्स, बिड्स वर्कको प्रयोगसमेत  देख्न पाइन्छ । एङ्कलतिरको हिस्सामा यसप्रकारको प्रयोग बढी देख्न सकिन्छ साथै त्यहाँ हुक वा बटनसमेत प्रयोग गरिएको पाइन्छ ।

चुडिदारलाई चुडिदार पाइजामाका रूपमा मूलतः दक्षिण-एसिया र मध्य-एसियामा महिला र पुरुष दुवैले अँगालेको पाइन्छ । चुडिदारलाई प्रायः महिलाले लङ कुर्ता वा कमिजसित लगाएको पाइन्छ । पुरुष वर्गमा भने यसको जोडा लुज ओभर  सर्ट शैलीको कुर्ता वा शेरवानीसित मिलाइन्छ । पुराना राजा-महाराजा एवं कत्थक नृत्य गर्नेहरूले यसलाई फिटेड बोडाइस र स्कर्ट वा अम्ब्रेला पहिरनसित जोडा मिलाएर लगाउने गरेको देखिन्छ ।

चुडिदार भर्सटाइल र सदावहार शैली हो जसलाई लङ कुर्ता, सर्ट कमिज र कुर्तीसित लगाउन सकिन्छ । दुपट्टा वा सल प्रयोग गरी आफ्नो व्यक्तित्वमा फेमिनेन लुक प्राप्त गर्न सकिन्छ । एक्स्ट्रा आकर्षण थप्न सुहाउँदो ज्वेलरी प्रयोग गरी  आफ्नो लुकलाई अलग अन्दाज प्रदान गर्न सकिन्छ । क्याजुयल एवं स्टाइलिस लुकका लागि भने अलि लुज फिटिङ शैलीका साथमा सर्ट नी-लेन्थ कमिज, ट्युनिक वा सर्ट कुर्तीको जोडा लगाउन सकिन्छ । पार्टी वा चाडपर्वको अवसरमा भने  साडीको विकल्पका रूपमा यसको माग बढ्दै गएको छ ।

महिला फेसन स्टाइलमा एथ्निक भएर पनि ट्रेन्डी, स्टाइलिस र आरामदायक भएकाले चुडिदारको प्रचलन सबै वर्गका महिलामा, यौवनादेखि विवाहित र कामकाजी महिलासम्ममा प्रायः सबै अवसरमा हुन थालेको छ । जसअनुसार मौसम,  अवसर तथा वातावरण सुहाउँदो हुनेगरी सिल्क, कटन, सिफन, जर्जेट, क्रेप र सिल्क आदिका कपडामा चुडिदार शैलीको फेसन अघि बढेको पाइन्छ । विविधतापूर्ण नेकलाइन सु्न्दर डिजाइन, सिंगल सेड, मल्टी सेड वा कन्ट्रास्ट कलर  कम्बिनेसनको कुर्ता, कुर्ती वा ट्युनिकसित चुडिदारको जोडाले महिला फेसनमा एलिगेन्ट स्टाइल सञ्चार गरेको छ ।

चुडिदार शैलीमा ग्यादर्ड क्रिज अर्थात् लखनवी स्टाइल बढी प्रचलनमा रहे पनि आजभोलि स्टेट फिटेड चुडिदार अर्थात् अलिगढी स्टाइलको प्रयोग पनि बढ्दो छ । स्टेे्रेट फिट शैलीमा फोल्डिङ कम हुने वा बिना फोल्डिङ पनि उपलब्ध छ ।  स्ट्रेट फिट शैलीमा चुडिदारको लम्बाइ एङ्कलसम्म मात्र हुन्छ र उक्त हिस्सामा इम्ब्रोइडरी, सिक्वेन्स, बिड्स वर्कको आकर्षण देख्न सकिन्छ । अनारकली सुट स्टाइल भने चुडिदारको पछिल्लो ट्रेन्ड हो । यसको पि|mल, ड्रेपरी स्टाइल बिस्तारै  आकर्षणको केन्द्र बन्दैछ । जहाँ फेसन डिजाइनर तथा स्टाइल गुरुहरू आफ्नो कल्पनाशीलता र सिर्जनाशक्तिको प्रयोगबाट चुडिदार शैलीमा नवीनता थप्न प्रयत्नशील छन् त्यहीँ महिला वार्डरोवमा यसले आफ्नो उपस्थितिलाई अनिवार्य  बनाउँदै लगेको छ ।

प्रकाशित अंकहरू