लभगुरु»

लभगुरु

म १८ वर्षीय युवक हुँ । दुई वर्षअघि यात्राका क्रममा एक युवतीसँग मेरो सामान्य परिचय भएको थियो । उनले मेरो मोबाइल नम्बर मागिन् । त्यसपछिका दिनहरूमा लगातार उनको र मेरो कुुराकानी हुन थाल्यो । केही समयपछि हाम्रो भे टघाट भयो, तर सामान्य कुराकानीबाहेक अरू केही नौला कुरा भएनन् । त्यसपछि फोनबाटै हामीले एक-अर्कालाई माया गर्ने कुरा गर्‍यौं । हाम्रो सम्बन्ध मायाकै रूपमा अघि बढ्यौं ।

उनी हाल कक्षा दसमा अध्ययनरत छिन् । अहिले एउटा कुराले हामीलाई अप्ठेरोमा पारेको छ । त्यो कुराले गर्दा हामी एक-अर्काबाट टाढा हुनुपर्ला जस्तो छ । टाढा हुने कुरा पनि हामीले गरिसकेका छौं, तर माया नै हो, फेरि हाम्रो सम्बन्ध  अघि बढिरहेकै छ । विवाहअघि हामी प्रेमी-प्रेमिकाकै रूपमा रहने कुरा गरिरहेका छौं । हामीलाई थाहा छ— हाम्रो विवाह हुँदैन, किनकि हामी एउटै थर-गोत्रका हौं ।

परिवार र समाजले हाम्रो सम्बन्ध स्वीकार गर्दैन । यो अवस्थामा हामी के गर्न सक्छौं ? यदि हामीले विवाह गर्‍यौं भने समाजले के गर्ला ? हामी एक-अर्कालाई गुमाउन चाहन्नौं, न त परिवार र समाजबाट टाढा हुन सक्छौ । हामी के गरांै ?

-पी.एन.

मलाई थाहा भएसम्म हिन्दूमा पनि विशेष गरी ब्राह्मण तथा क्षत्री जातिमा एउटै थर वा गोत्रबीच विवाह-सम्बन्ध कायम हुँदैन । पूर्वजले यस्तो नियम बनाएका हुन् । हिन्दू मान्यताअनुसार मानिसहरू परापूर्वकालका सन्त तथा ऋषिका  सन्तान हुन् । उनीहरूकै वंशजका आधारमा गोत्र ठहर्‍याइएको हो । एउटै थर भनेको एउटै वंशका हांगा हुन् । त्यसैले यसलाई नजिकको सम्बन्ध मानिन्छ । यिनीहरूबीच विवाह-सम्बन्ध राख्न नपाइने नियम छ ।

तपाईंले जब उनलाई भेट्नुभयो, फोनमा त्यति धेरै कुरा गर्नुभयो, थर सोध्नुभएन ? उनले पनि थर सोधिनन् त ? पूरा नाम भन्दा पनि थर थाहा पाइएन ? एक अर्काका बारेमा केही नबुझी तपाईंहरू कसरी प्रेम गर्न थाल्नुभयो ? थर त सो ध्नुभएन भने तपाईंहरूलाई एक-अर्काका बारेमा केही थाहा छैन वा जान्ने प्रयत्न पनि गर्नुभएन ।

तपाईंहरूको उमेरमा केटाकेटीबीच आकर्षण बढ्नु, 'इनफ्याचुएशन' हुनु सामान्य हो । म यसलाई गहिरो प्रेम भनिहाल्नु आवश्यक मान्दिनँ । यद्यपि तपाईंको समस्यालाई लिएर मैले एक कानुनविदसँग सल्लाह गरेकी थिए । उहाँका अनुसार  कानुनमा गोत्र तथा थरबीचको वैवाहिक सम्बन्धका बारेमा उल्लेख छैन । बरु हाडनाता सम्बन्धबीच विवाह गर्न भने कानुनले वर्जित गरेको छ । यो उमेरमा व्यक्तिगत तवरमा पनि तपाईंहरूलाई घर-परिवार र समाजको साथ चाहिन्छ ।  तपाईंहरूका घर-परिवार र समाजले तपाईंहरूको सम्बन्धलाई अवश्य पनि स्वीकार गर्दैन । मेरो राय मान्नुहुन्छ भने पढ्ने र करियर बनाउने यो उमेरमा यस्तो काँचो प्रेम-सम्बन्ध राखेर पछि दुःख पाउनुभन्दा समझदारीमा आ-आफ्नो बाटो  लाग्नु तपाईंहरू दुवैको भविष्यका लागि उपयुक्त हुन्छ ।

प्रकाशित अंकहरू