रोजगार»
सीपअनुरूपको कमाइ
शिक्षाको अवसरबाट वञ्चित भएका वा गरिबीले पिल्सिएका युवाहरू रोजगारीको खोजीमा विदेश जाने क्रम अझै घटेको छैन तर अधिकांश युवाले विदेशमा कठोर श्रम गरे पनि सन्तोषजनक आय आर्जन गर्न सकिरहेका छैनन् । 'सीपको अभावमा युवाहरू यसरी सीमित आयमा चित्त बुझाउन बाध्य छन्,' प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम केन्द्र परिषद् -सिटिइभिटी) का प्रवक्ता राजेन्द्र कार्की भन्छन्- 'हातमा सीप भए देशभित्रै वा विदेशमा मनग्य आम्दानी गर्न सकिन्छ ।'
वैदेशिक रोजगारीका लागि सामान्य कामदारदेखि उच्च तहका प्राविधिकहरूको समेत माग हुन्छ । वैदेशिक रोजगारीका लागि प्रकाशित विज्ञापनहरूमा पनि कामको प्रकृति खुलाएर सम्बन्धित काममा दक्ष कामदार माग गरिन्छ । 'तर विदेश जान हतारिएका युवा र पैसा कमाउन हतारिएका दलालले यस्ता कुराको ख्याल गर्दैनन्,' कार्की भन्छन्- 'जसले गर्दा युवाहरू सीपविना नै वैदेशिक रोजगारीमा जाने गरेका छन् ।'
कुन कम्पनीले कति कामदार माग गरेका छन् ? के कामका लागि माग गरेका हुन् ? कस्तो दक्षता चाहिन्छ ? कति पारिश्रमिक पाइन्छ ? सेवा-सुविधाहरू के-के छन् ? जस्ता कुरा उल्लेख गरेर वैदेशिक रोजगारीका लागि कामदारको माग गरिएको हुन्छ । खासगरी प्लम्बर, केयर गिभर, इलेक्टि्रसियन, वेटर, कुक, ड्राइभिङ, गार्डेनर, सेक्युरिटी गार्ड, स्कापफोल्डर, वार वेन्डर, पेन्टर, कार्पेन्टरजस्ता कामका लागि नेपाली कामदारको माग हुने गरेको छ, तर यी काममा आवश्यक दक्षता हासिल नगरी विदेश पुग्ने नेपाली गरिँदै आएको छ । त्यस्तै सिटिइभिटीको सम्बन्धन लिएर विभिन्न म्यानपावर एजेन्सीले समेत कन्ट्रक्सन, बेल्डिङ, केयर गिभरजस्ता तालिम केन्द्र सञ्चालन गरिरहेका छन् ।
वैदेशिक रोजगारीका लागि सामन्यतः कन्ट्रक्सन, सेक्युरिटी गार्ड, केयर गिभर, ड्राइभिङ आदि क्षेत्रमा कामदारको माग हुने गरेको छ । सेक्युरिटी गार्ड र ड्राइभिङका लागि सीप भएका युवाहरू विदेश जाने गरेका छन् भने कन्ट्रक्सन, केयर गिभरजस्ता काममा कुनै सीप नै नसिकी विदेश जाने गरेको पाइन्छ । 'सीप नै नसिकी बिदेसिन हतारिने युवाहरूले विदेशमा सोचेअनुरूपको कमाइ गर्न सकेका छैनन्,' सिनामंगलस्थित काठमाडौं पोलिटेक्निकका कुन्साङ लामा भन्छन्— पो लिटेक्निकले कार्पेन्टर, पेन्टिङ, स्टिल फिक्सर, गार्डेनिङ, ल्यान्ड स्केपिङ, इलेक्टिकल्स आदि तालिम उपलब्ध गराउँदै आएको भए पनि विदेश जाने युवाले यी तालिमप्रति खासै ध्यान दिएका छैनन् ।
विदेशमा रोजगारी गर्नेले आफूमा जुन किसिमको दक्षता छ सोहीअनुरूपको काम पाउँछन् । सामान्य लेवर भिसामा बिदेसिनेहरूले १२ हजारभन्दा माथिको कमाइ गर्न नसक्ने म्यानपावर सञ्चालकहरू बताउँछन् ।
८० हजारलाई रोजगारमुखी तालिम
रोजगारीका लागि सीप परियोजनाअन्तर्गत सिटिइभिटीले विश्वबजारमा माग हुने श्रमिकका आधारमा पाठ्यक्रमसमेत तयार गरेको छ । परियोजनाअन्तर्गतका तालिम केन्द्रहरूले सोही पाठ्यक्रमका आधारमा व्यावसायिक तालिम प्रदान गर्दै आएको सिटिइभिटीका वरिष्ठ पाठ्यक्रम अधिकृत एम.के. मैनाली बताउँछन् । 'विभिन्न व्यावसायिक तालिमका लागि पाठ्क्रम तयार गरेका छौं,' मैनाली भन्छन् ।
परियोजनाअन्तर्गत सिटिइभिटीले प्लम्बर, केयर गिभर, इन्डियन कुक, चाइनिज कुक, वेल्डर, कन्टिनेन्टल कुक, फ्लावर डेकोरेटर, ब्युटिसियन, गार्डेन डिजाइनर, वेटर/वेट्रस, लाइट ड्राइभर, अटो पेन्टर, सेक्युरिटी गार्ड, भवन इलेक्ट्रेसियन, सटरिङ कार्पेन्टर, स्काफोल्डर, बार टेन्डर, स्टिल फिक्सर, टायल तथा मार्बल मिस्त्री, फर्निचर मेकरका लागि पाठ्यक्रम तयार गरेको छ । यी तालिम वैदेशिक रोजगारीका लागि लक्षित छन्, साथै यिनै विषयका पाठ्यक्रमका आधारमा परियोजनाअन्तर्गत विभिन्न जिल्लामा निजी क्षेत्रबाट तालिम केन्द्रहरू सञ्चालित छन् । ३ सय ९० घण्टादेखि ७ सय १० घण्टासम्म अवधिका यी तालिमबाट वैदेशिक रोजगारीका लागि आधारभूत सीप हासिल गर्न सकिन्छ । खासगरी गरिब, पिछडिएको वर्ग, दलित, जनजाति वर्गलाई व्यावसायिक तालिम दिने लक्ष्यसाथ सञ्चालित परियोजनाले आफ्नो कार्यअवधिभर ८० हजारलाई रोजगारमुखी तालिम दिने बताएको छ । सन् २००६ मा सुरु भएको यो परियोजना २०११ सम्म जारी रहनेछ ।
कहाँ लिने तालिम ?
परियोजनाअन्तर्गत काठमाडौंलगायत विभिन्न जिल्लामा तालिम केन्द्रहरू सञ्चालित छन् । ट्रेनिङ सेन्टर नेपालले काठमाडौंको सीतापाइलामा इलेक्टि्रसियन तालिम प्रदान गर्दै आएको छ, साथै उक्त सेन्टरले चितवन, बुटवल, नेपालगन्ज र धनगढीमा पनि तालिम केन्द्रहरू सञ्चालन गरिरहेको छ । गण्डकी पोलिटेक्निक इन्स्िटच्युटले गोंगबु, झापा, जनकपुर, पोखरा र बुटवलमा प्लम्बर तालिम दिँदै आएको छ । डकर्मी तालिम सञ्चालन गर्दै आएको मल्टिस्किल प्रा.लि.ले भक्तपुर, झापा, भैरहवा, पाल्पा, महेन्द्रनगरमा तालिम केन्द्र सञ्चालन गरिरहेको छ । साकुरा एसोसिएट्सले कन्टिनेन्टल कुक तालिम उपलब्ध गराउँदै आएको छ । साकुराको काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्ज तथा चितवनमा तालिम केन्द्रहरू छन् । यसैगरी बि्रलियन्ट म्यानपावर ट्रेनिङ सेन्टरले काठमाडौं, नेपालगन्ज, धनगढी, इटहरी र बुटवलमा वेटर वेट्रेस तालिम दिँदै आएको छ । कान्तिपुर जनशक्ति विकास इन्स्िटच्युटले गार्डनर तालिम दिँदै आएको छ । कान्तिपुरको काठमाडौं, धनगढी, भरतपुर, नेपालगन्ज र इटहरीमा तालिम केन्द्र सञ्चालित छन् । दुर्गा कटेज गार्डेनिङ इन्स्िटच्युटले फ्लावर डेकोरेटसम्बन्धी तालिम दिँदै आएको छ । दुर्गा कटेजको काठमाडौं, धनगढी, भरतपुर, नेपालगन्ज र इटहरीमा तालिम केन्द्र छन् । स्काफोल्डिङसम्बन्धी तालिम दिँदै आएको ट्रेट लिंक टेक्निकल ट्रेनिङ इन्स्िटच्युटले काठमाडौं, नेपालगन्ज र भैरहवामा तालिम केन्द्र सञ्चालन गरेका छन् । यसबाहेक विभिन्न म्यानपावर कम्पनीले सिटिइभिटीको सम्बन्धन लिएर तालिम सञ्चालन गरिरहेका छन् ।













